शैक्षिक जनशक्तिको पलायन रोक्न सबै जिम्मेवार बनौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन देशका लागि चुनौतीको विषय भएको भन्दै यसलाई रोक्न सबै जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

कास्कीको लेखनाथमा आज सोमबार आयोजित पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले जनशक्तिको विदेश पलायन रोक्न सम्बद्ध सबै पक्षले ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘विश्व बजारमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न तपाईँहरूबीच चुनौतीका चाङ भए पनि धैर्य, संयमित र दुरदर्शी भएर पोखरा विश्वविद्यालयलगायत देशकै प्रतिष्ठा उँचो राख्नुहुनेछ भन्ने आशा र विश्वास मैले राखेको छु । विभिन्न कारणले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्न सक्ने वातावरण निर्माण गर्ने महत्त्वपूर्ण अभिभारा तपाईँहरूको काँधमा पनि छ ।’

प्रधानमन्त्री प्रचण्डले संघीय शिक्षा ऐनमार्फत् शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवम् समस्या सम्बोधन हुने अपेक्षा गरिएको बताए ।  ‘सरकारको यस प्रयासमा यहाँहरूलगायत सम्पूर्ण शैक्षिक जगतको महत्त्वपूर्ण सहयोग रहनेछ भन्ने मैले विश्वास लिएको छु’, उनले भने ।

प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिप्रतिको नेपाल सरकारको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको भूमिका सबैभन्दा अग्रणी रहने बताए ।  शिक्षा क्षेत्रका सम्पूर्ण बौद्धिक मानुुभाव उच्च बौद्धिक सक्रियता, सकारात्मक तथा रचनात्मक सहयोग, सहकार्यबाट नै सरकारले उल्लेखित लक्ष्य हासिल गर्न सकिनेछ भन्ने आफूले विश्वास लिएको उनको भनाइ थियो । रासस

 

You might also like

Comments are closed.