पर्वत । विश्वभर देखिएको वित्तीय संकटबाट सहकारी क्षेत्रलाई जोगाउनका लागि सदस्यहरुका बीचमा जागरण अभियान सञ्चालन गर्नु पर्नेमा पर्वतको कुश्मामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
राष्ट्रिय सहकारी बैंक लिमिटेड र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)द्वारा बिहीबार कुश्मामा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सो कुरा बताएका हुन् ।
जिल्ला सहकारी संघ लिमिटेड पर्वतको फागुन ९ गते सम्पन्न विशेष साधारणसभाबाट निर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरुलाई वधाई ज्ञापनसंगै समसामयिक विषयमा भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सहकारी जोगाउन सदस्य नै सक्रिय हुनु पर्नेमा जोड दिएका हुन् ।
सहकारी सदस्यको सक्रिय सहभागितामा सञ्चालन हुने व्यवसाय हो, सदस्यहरुको सहभागिता बढाउन, संकटमा साथ दिन र समस्याको समाधानमा सहजीकरणका लागि सहकारीहरुले सदस्य जागरण कार्यक्रम सञ्चालन गर्नु पर्नेमा सबैको जोड थियो ।मुलुकभर देखिएको वित्तीय संकटको असर सहकारीमा परेको हो, वर्तमानमा देखिएको समस्या सहकारीेले ल्याएको होइन, समस्या जसले ल्याए पनि यसको समाधानका लागि सरोकारवालाहरुबीच समन्वय र सहकार्य आवश्यक छ, नेफ्स्कुनका अध्यक्ष परितोष पौड्यालले भने, ‘समस्या आयो भनेर एकले अर्कोलाई दोष देखाएर उम्कने होइन, समस्याको पहिचान गर्ने र समस्या समाधानका लागि सबै एकताबद्ध हुनुको विकल्प छैन ।’
सहकारी संघ संस्थाहरुले सदस्य केन्द्रीत व्यवसाय गर्ने, नियम कानुनको पालना गर्ने तथा प्रविधिको प्रयोग गरेर काम गर्न सुझाव दिदै पौड्यालले राज्यका निकायहरुले कानुन कार्यान्वयन लगायत समस्या समाधानमा सहजीकरण गर्नु पर्ने बताए ।
राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु)ले सहकारीलाई सदस्यको आवश्यकता र चाहनामा आधारित भएर सञ्चालन गर्न आवश्यक रहेको बताइन् ।
नेफ्स्कुनका उपाध्यक्ष शान्ति अधिकारीले कार्यक्रमको उद्देश्य सहित समसामयिक विषयमा जानकारी गराएकी थिइन् । कार्यक्रममा नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्मा, जिल्ला सहकारी संघ पर्वतका नवनिर्वाचित अध्यक्ष शेषराज रेग्मी, कुश्मा नगरपालिका सहकारी शाखाका प्रमुख ऋषिराम शर्मा लगायतले सहकारी क्षेत्रका समस्या र समाधानका उपायका बारेमा आ-आफ्नो धारणा राखेका थिए ।
जिल्ला सहकारी संघका पदाधिकारी तथा सदस्यहरुलाई नेफ्स्कुनका तर्फबाट अध्यक्ष परितोष पौड्याल र राष्ट्रिय सहकारी बैंकका तर्फबाट सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले वधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
नेफ्स्कुनका अध्यक्ष पौड्यालको अध्यक्षता, बैंकका सञ्चालक जिसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य नेफ्स्कुनका सञ्चालक कमलादेवी गिरीले गरेकी थिइन् ।
Comments are closed.