व्यवसायीप्रति राज्य जिम्मेवार बन्नुपर्यो

नारायण पौडेल

लामो समय देखि अर्थतन्त्रमा देखिएको तरल अवस्थाको मारमा हरेक व्यवसायी परेका छन् । विश्वव्यापी रूपमा देखिएका समस्या त कारक छन् नै राज्यका नीति र व्यवहारले पनि व्यवसायी मारमा पर्दै आएको उनीहरूको गुनासो छ । अटोमोबाइल व्यवसाय अहिले सबैभन्दा बढी मारमा परेको यसका व्यवसायीले बताउँदै आएका छन् । तुलनात्मक रूपमा राज्यलाई सबैभन्दा बढी राजस्व तिर्दै आएको व्यवसाय कसरी समस्या मुक्त हुन सक्लान ? व्यवसायीका समस्या के के छन् ? आर्थिक आवाजले अटोवेज प्रालिका प्रवन्ध निर्देशक नारायण पौडेलसँगै यी नै विषयमा कुराकानी गरेको छ :

अटोमोबाइल क्षेत्रको व्यावसायिक अवस्था कस्तो छ ?
कोभिड संक्रमण पछि खुलेको बजारमा कोभिडको असर अहिले आएर देखिएको छ । यतिबेला सबैलाई एकै पटक धेरै कुराको दवाव छ । आर्थिक मन्दीको अवस्था छ । कोभिड पछि राज्यले प्याकेज बनाएर व्यवसायीलाई अझै १÷२ वर्ष किस्ता नतिरेर ब्याज मात्रै तिरे हुने सुविधा दिनुपर्ने थियो, नयाँ नयाँ नीति बनाउनुपर्ने अवस्थामा सरकारले उल्टै बैंकले ब्याज बढाउँदा पनि नियन्त्रण गर्न सकेको छैन । विस्तारै ल्याउँदा पनि हुने नीतिहरू एकै पटक ल्याउने काम भएको छ । अहिले एउटा बैंकले आफ्नो डिपोजिट बढाउन अर्काको डिपोजिट तान्ने काम मात्रै भएको छ । डिपोजिटमा उच्च ब्याज खान पाएपछि कसले व्यवसाय गर्छ ? किन लगानी गर्छ उद्योगीले ? राज्यले व्यवसायीलाई संरक्षण गरेर अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने हो तर अहिले व्यवसायीले सुरक्षित महसुस गर्न सकेका छैनन् ।
यी समस्याको समाधान कसरी गर्न सकिन्छ ?
संसारमा हरेक समस्याको समाधान छ । किन यो अवस्था आएको हो भन्नेमा पनि हामी जानकार नै छौं । तर जिम्मेवार निकाय कसरी समस्या समाधान गर्न सकिन्छ भन्ने कुरामा सचेत छैन । राज्यले चाहेको भए समस्या समाधान गर्न गाह्रो थिएन । तर व्यवसायी प्राथमिकतामा परेनन् ।
यो राष्ट्रिय समस्या हो । कमाएर नाफा आएको पैसाले हामीले बैंकलाई ब्याज तिर्दै आएका छौं । रोजगारी दिएका छौं । राज्यलाई कर तिरिरहेका छौं । हाम्रा समस्यामा राज्य जिम्मेवार बन्नु पर्दैन ?

यी सबै समस्या सरकारको दीर्घकालीन नीतिको अभावले सिर्जना भएको हो ?
दीर्घकालीन नीति बन्ने कुरा देशलाई समृृद्ध बनाउने कुरासँग जोडिएको कुरा हुन् । उद्योगी, व्यवसायीले उत्पादन गर्नका लागि भएका संरचना जोगाउनका लागि दीर्घकालीन समाधान सहितको नीति बनाउन आवश्यक रहेको हो । उद्योग व्यवसाय जोगिनु भनेको यहाँको रोजगारी जोगिनु हो । यहाँको राजस्व बढ्नु हो । समृद्धिको पक्षमा अघि बढ्नु हो । राज्यका जिम्मेवार व्यक्ति संवेदनशील भए देशलाई अगाडि बढाउन कुनै समस्या नै छैन ।

सरकार नयाँ बनेको छ, व्यवसायीका समस्या सचेत भएको पाउनुभएको छ ?
जुनसुकै सरकार बने पनि हामीले त सकारात्मक रुपमा नै लिने हो । हामी हरेक सरकारको सहयोगीको भूमिकामा काम गरिरहेका हुन्छौं । हामीले त आशावादी हुनैपर्छ । होइन भने कि हामीले लगानी बन्द गर्नुपर्यो । अझै पनि यो सबैलाई हामीले सही ट्रयाकमा ल्याउन सकेनौ भने अझै धेरै चिज हामीले गुमाउन पर्नेछ ।

 

lcci
You might also like

Comments are closed.