सानिमा मिडिल तमोरले आइपीओ बिक्री खुल्ला गर्दै

काठमाडौं ।  सर्वसाधारणका लागि सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड आइपीओ खुला गर्ने भएको छ । कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँबराबरको फागुन २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख ९८ हजार ७५० कित्ता सेयर बिक्री गर्ने छ ।कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ४ लाख ९९ हजार ८७५ कित्ता सेयर यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री खुला गरिसकिएको छ।

अब ५ प्रतिशतले हुन आउने २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी ४२ लाख ४८ हजार ९३८ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।  यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

यस आइपीओमा फागुन ३० गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत १० गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यो आइपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

यस आइपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

You might also like

Comments are closed.