राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि बुधबारदेखि आचारसंहिता लागू हुने

काठमाडौं ।  निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि फागुन १७ गते बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने जानकारी छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको हो ।

संवैधानिक व्यवस्थामा राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि संघीय संसदमा अहिले कायम रहेका ३३२ र प्रदेश सभाका ५५० गरी कुल ८८२ मतदाता रहेको निर्वाचक मण्डल रहनेछ । स्वीकृत कार्यक्रम अनुसार राष्ट्रपतिका लागि फागुन १३ गते उम्मेदवारीको मनोनयन दर्ता भइसकेको छ ।

आज दिउँसो ४ बजेसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् । आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपति चयनका लागि चुनाव हुँदैछ । यो आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र पालिकाका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, त्यसका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई हुनेछ ।

कानूनी आधार र प्रावधानसहितको नैतिक बन्धनको रूपमा रहेको आचारसंहिताको पालना गरी संघीय संसद र प्रदेश सभाका सदस्य रहेको निर्वाचक मण्डलका सबै मतदाताहरूको स्वतन्त्रतापूर्वक मतदान गर्न पाउने अधिकारको सम्मान गर्न तथा निर्वाचनको निष्पक्षतामा कहीँ कतैबाट प्रश्न उठाउन नपाउने गरी निर्वाचन सम्पन्न गर्न आयोगले अपिल गरेको छ ।

 

You might also like

Comments are closed.