काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले निजी क्षेत्रको सहकार्यमा मात्र आर्थिक समृद्धि सम्भव भएकाले सरकार निजी क्षेत्रका समस्या समाधान गर्न प्रयत्नशील रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित खिचापोखरी न्यूरोड व्यापार संघको १५औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकार निजी क्षेत्रका समस्या समाधान हल गर्न प्रयत्नशील रहेको जानकारी दिएका हुन् ।
निजी क्षेत्रको सहकार्यमा मात्र आर्थिक समृद्धि सम्भव रहेको पनि उनको भनाइ छ । “अहिलेको राष्ट्रिय साझा कार्यभार देशलाई समृद्ध बनाउनु हो । यो कार्यभार कुनै एक पक्षले मात्र पूरा गर्न सक्दैन भन्ने स्पष्ट छ । निजी क्षेत्र समस्यामा रहेको बारे सरकार जानकार छ”, उनले भने ।
आर्थिक क्षेत्रलाई गतिशील बनाउनु राज्यको दायित्व रहेको बताउँदै उनले निजी क्षेत्रका समस्या समाधानका लागि सरकारले पहल गरिरहेको जानकारी दिएका छन् ।
सोही कार्यक्रममा खिचापोखरी न्यूरोड व्यापार संघका अध्यक्ष गणेशकुमार न्यौपानेले कोभिड–१९ महामारीपछि निजी क्षेत्रले निरन्तर संकट भोगिरहेको बताए ।
Comments are closed.