रैथाने स्वादलाई शहर भित्र्याउन जन्मिएको ‘सरुमा चुल्हो’

दीपा रेग्मी । मुलुकको प्रतिष्ठित मिडियामा काम गरेर पत्रकारितामार्फत आफ्नो पहिचान बनाएकी बसन्ती बाँस्तोलाको परिचय अब पत्रकारमा मात्र सीमित रहेन, उनले अहिले पोखरामा ‘सरुमा चुल्हो एण्ड बार’ नामको रेष्टुरेन्ट सञ्चालनमा ल्याएकी छिन् । आफ्नो अनुभवभन्दा बेग्लै पेशा अंगाल्न कम चुनौती थिएन । तथापि तिनै चुनौतीलाई स्वीकारेर उनी यो व्यवसायमा होमिएकी हुन् ।

‘पत्रकारितामा रमाएको मान्छे कताबाट रेष्टुरेन्ट खोल्ने मुड चल्यो ?’ हामीसँगको अनौपचारिक गफमा बसन्तीले भनिन्, ‘खोलेको अहिले भएपनि मेरो बाह्र वर्षदेखिको सपना हो, त्यही हुटहुटीले पेल्दै पेल्दै यहाँसम्म ल्यायो र आँट पलायो ।’ त्यसो त उनी आफै पनि खानाको स्वादमा धेरै रमाउनेमा पर्छिन् । आफूलाई मनपर्ने स्थानीय परिकारलाई अरुलाई पनि मनपर्नेमा उनी ढुक्क थिइन्, त्यही विश्वासले जन्माएको हो ‘सरुमा चुल्हो’ ।

‘मेरो आफ्नो रुची त थियो नै स्थानीय खानालाई रेष्टुरेन्टमार्फत प्रवद्र्धन गर्नुपर्छ भन्ने लागेर नै यो व्यवसाय शुरू गरिएको हो ।’ बसन्तीको पुरानो सपनालाई साथ दिन उनकी साथी बिनु गिरी जोडिइन् । बिनुसँग देश तथा विदेशमा सेवा क्षेत्रमा काम गरेको अनुभव छ । दुबैले यसको संभावनाको विषयमा खोजी गरे र मङ्सिरको अन्तिम तिर रेष्टुरेन्टको शुरुआत गरे । बसन्तीले यसभन्दा अगाडि लेकसाइडमा रेष्टुरेन्ट हेरेकी पनि थिइन् । ‘पैसा जुटाउन समस्या भएर शुरु गर्न सकिएन्,’ उनले भनिन्, ‘ऋण लिनका लागि जग्गा तथा अन्य सम्पत्ति पनि थिएन ।’

jutta mela

वाइन, वियर लगायत पेय पदार्थ उत्पादन गर्ने, गाई फार्म खोल्ने सोच पनि उनीहरूलाई नआएको होइन । तर धेरै कुरा नमिलेर गर्न नसकिएको बसन्ती बताउँछिन् । ‘योगा रिसोर्ट खोल्ने तयारीका साथ कम्पनी पनि दर्ता गरेका थियौं, जग्गा पनि लिएका थियौं, विभिन्न पार्टनरसँग कुरा गर्यौं, कुरा मिलेन आफैले मात्र लगानी गर्न सकेनौं,’ उनी भन्छिन् ।

धेरै विकल्पमा रोजिएको यो व्यवसाय पनि पक्कै चुनौती भन्दा बाहिर त छैन होला भन्ने हाम्रो प्रश्नमा वसन्ती भन्छिन्, ‘जुनसुकै व्यवसाय शुरु गर्दा चुनौती रहन्छन् नै । युद्ध मैदानमा गइसकेपछि अरु विकल्प हुँदैन गर्नैपर्ने हुन्छ भने जस्तै हो । आत्मविश्वास, धैर्यता र लगाव अनिवार्य छ ।’ त्यसो त उनीहरूले व्यवसाय शुरू गर्दाको अवस्था आफैमा सहज होइन् । महामारीबाट थलिएको अर्थतन्त्रको झड्का उनीहरूलाई पनि लाग्यो । बसन्ती भन्छिन्, ‘हामीले व्यवसाय शुरू गर्दा बैंकले ऋण पनि नदिने अवस्था थियो, घर भाडामा लिएको १५ महिनासम्म व्यवसाय शुरू गर्न सकेनौं, १ वर्ष त बैंक मात्र धायौं । त्यहीपनि हामीले ऋण पाएनौं, जसरी भएपनि व्यवसाय शुरू गर्नुपर्छ भन्ने लाग्यो, हामीले विकल्प खोज्यौं ।’

जागिर खाइरहेको व्यक्तिमा तत्काल नतिजा खोज्ने बानी हुन्छ । तर, व्यवसायमा त्यही अवसर खोज्दा नपाइने उनीहरुले सिकेको कुरा हो । ‘विजनेश पनि शुरू गरेपछि नाफा भइहाल्छ जस्तो लाग्थ्यो तर त्यस्तो होइन रहेछ, सबै कुराको लागि समय चाहिने रहेछ,’ उनी भन्छिन् ।

कुनै कुनै अवस्थामा ‘व्यवसाय नै छोडेर हिडौं’ भन्ने पनि लाग्छ तर चुनौती त जहाँपनि छ भन्ने कुराले सामना गर्न सिकाएको उनको अनुभव छ ।

‘शुरु गरिसकेपछि पनि कहिले ठप्प जस्तै हुने र कहिले राम्रो हुने भयो, ठप्प हुँदा चल्दैन कि भन्ने पीर, राम्रो हुँदा अब पिकअप लिन्छ भन्ने आशा लाग्छ,’ उनले भनिन् । हरेक व्यवसायमा कुनै न कुनै खालको प्रतिस्पर्धा विद्यमान हुन्छ तर उनीहरू अहिले त्यतातिर सोचेका छैनन् । अरुभन्दा फरकपन दिन सके त्यसतर्फ कहिल्यै सोच्नु नपर्ने उनको बुझाई छ ।

‘हामीले कसैसँग पनि प्रतिस्पर्धा गर्ने सोचेका छैनौं, फरक स्वाद दिएर ग्राहकलाई सन्तुष्ट पार्ने नै हाम्रो लक्ष्य हो, हामीले आफ्नो क्वालिटी मेन्टेन गर्न सकेको अवस्थामा चल्छ भन्ने लाग्छ,’ अर्की सञ्चालक बिनु गिरीले भनिन् । सरुमा चुल्होमा स्थानीय उत्पादनका परिकार बढी पाक्छ । दाल, भात, तरकारी, मकै, भटमास जस्ता रैथाने बालीका खानालाई रेष्टुरेन्टको पहिचानसँग जोड्ने उनीहरुको अभियान छ । पोखरा कै माछापुच्छ«े गाउँपालिकाको चामल, तरकारी, ऋषिङको दाल, लोकल खसी सरुमा चुल्होमा आउँछ । ‘स्थानीय उत्पादनको टिपिकल स्वाद दिनेगरी खुवाउँदा धेरै जनाले स्वाद मन पराएर दोहोरिएर आउने गरेका छन् ।

ग्राहकबाट सकारात्मक प्रतिक्रिया पाउँदा थप ऊर्जा मिलेको गिरीको भनाइ छ । काम गर्दै जाँदा ग्राहकको रोजाई के हो भन्ने बुझिने उनीहरुको अनुभव छ । ‘कोदोको सुप बनाऔं, मकै भटमास राखौं भनेर टिममा कुरा गर्दा ग्राहकले यस्तो खाँदैनन् भन्ने कुरा आउथ्यो तर अहिले मकै खाने ग्राहक पनि आउनुहुन्छ,’ उनले भनिन् । रैथाने खानेकुरालाई व्यावसायिकतामा ढाल्न सकियो भने बिक्री हुनेरहेछ भन्ने सिकाइ भएको छ । स्थानीय परिकारमा स्थानीयशैली दिने कुरामा आफूहरूले लागि परेको उनी बताउँछिन् । ‘हामी पुरानो अचार राख्दैनौं । मसला पनि पेष्ट बनाएर रिजर्भ गरेर राख्दैनौं, जिरा, धनियाँ, लसुन, अदुवा जस्ता मसला जतिवेला चाहिन्छ त्यति नै बेला सिलौटोमा नै पिस्छौं,’ उनले भनिन् ।

स्थानीय रैथाने उत्पादन प्रयोग गर्ने योजना बनाए पनि बजारमा खोजेको सामान नपाइने समस्या छ । त्यसको लागि उनीहरूले किसानसम्मै पहुँच विस्तार गर्दै आएका छन् । ‘हामीले दाल, तरकारी तथा चामलको लागि पहिला नै एडभान्स दिन्छौं, आवश्यक परेपछि हामीलाई ल्याइदिनुहुन्छ,’ उनी भन्छिन् ।

उनी रेष्टुरेन्टमा सरसफाईमा विशेष ध्यान दिएको बताउँछिन् वसन्ती । खाद्य प्रविधि ऐनमा व्यवस्था भएका प्रावधान पालना गर्दै आएको उनको दाबी छ । ‘किचनदेखि बाथरुमसम्मलाई हाइजेनिक राख्छौं, हामीले घरमा गर्नेभन्दा धेरै ध्यान दिएर रेष्टुरेन्टमा सरसफाई गर्छौ,’ बसन्ती भन्छिन्, ‘अलिकति ढिला भएपनि खानेकुरा तत्काल बनाएर दिन्छौं, हामीले अत्याधुनिक किचन बनाएका छौं, थोरै नाफा राखेर भएपनि धेरै कुरामा ध्यान दिएका छौं ।’

शान्त तथा सफा वातावरण मन पराउने र स्थानीय परिकार मन पराउनेका लागि सरुमा चुल्हो उत्कृष्ट गन्तव्य भएको उनको भनाइ छ ।

करिब २ करोड ५० लाख लगानी गरेको व्यवसायमा आवश्यकता अनुसार लगानी थप गर्दै जाने उनीहरूको सोच छ । ‘त्यति मात्र होइन भविष्यमा शाखा विस्तार गर्ने योजना पनि बनाएका छौं, हाम्रो सपना त देशमा मात्र होइन सरुमाको शाखा विदेशमा पनि खुलोस् भन्ने हो,’ बसन्तीले थपिन् ।

साझेदारी व्यवसायमा किन लगानी गर्नुभयो भन्ने प्रश्नमा उनी भन्छिन्, ‘तपाईं एक्लै आट्न सक्नुहुन्न भने पार्टनरसिपमा काम गर्न सकिन्छ । सबैको कुरा मिल्छ भने सामूहिक रूपमा काम गर्दा सफल भइन्छ भन्ने लाग्छ । मैले समस्या आउने भन्दा पनि साझेदारी व्यवसायमा फाइदा नै देख्छु ।’ साझेदारीले निरास भएको समयमा अर्कोले हौसला दिने र एक अर्काको आड र भरोसा मिल्ने उनको बुझाई छ । उनी भन्छिन्, ‘पार्टनरसीप त फरक फरक क्षमताको संयोजन पनि हो नि ।’

You might also like

Comments are closed.