घरेलु तथा साना उद्योग महासंघ र विकास अनुसन्धान प्रतिष्ठानबीच सम्झौता

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल विकास अनुसन्धान प्रतिष्ठानबीच उद्योग विकासका लागि इकोसिष्टमको विकास गरी उद्योगको उत्पादकत्व बढाउने सम्बन्धी सम्झौता भएको छ ।राजधानीको माइतीघरस्थित महासंघ सचिवालयमा आइतबार आयोजित एक समारोहका बीच दुबै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

उत्पादनमूलक, कृषि र सेवा क्षेत्रका उद्यमीको इकोसिस्टम विकास गरी उत्पादकत्व बृद्धि गर्ने क्रममा इन्टरभेन्सनको रुपमा हाललाई कुनै निश्चित भौगोलिक क्षेत्रमा रहेका उद्योगहरु बीचको इकोसिस्टम विकास गर्न पहल गर्ने सम्झौता भएको हो ।

प्रत्येक प्रदेशबाट उत्पादनमूलक, कृषि र सेवा तीन क्षेत्रका २–२ वटा कम्पनीको छनौट गरी ७ वटा प्रदेशका ४२ वटा कम्पनीको इकोसिस्टम विकास गर्न कार्य गरिने सो अवसरमा बताइएको छ ।

उत्पादनमूलक, कृषिजन्य र सेवा उद्योगमा संलग्न कम्पनीहरुको इकोसिस्टम विकास गरी सफल उद्यम बनाउने पाइलट परियोजना सञ्चालन गर्ने सम्झौताको उद्देश्य रहेको महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले बताए ।

महासंघ र प्रतिष्ठान मिलेर देशमा औद्योगिक सम्बन्ध र उद्यमशीलता प्रवद्र्धन गर्न पहल गरी औद्योगिक वातावरण प्रवद्र्धन गर्न नीति अनुसन्धानमा कार्य गर्ने सम्झौता पत्रमा उल्लेख छ । त्यस्तै औद्योगिक सम्बन्ध विकासका लागि व्यवसायिहरुको इकोसिस्टम विकास गर्ने क्षेत्रमा सहकार्य गर्ने प्रतिष्ठानका अध्यक्ष डा. नवराज खतिवडाले बताए ।

सम्झौता अनुसार उत्पादनमूलक, कृषिजन्य र सेवा उद्योगमा संलग्न कम्पनीहरुको इकोसिस्टम विकास गरी उत्पादकत्व बढाउने क्रममा नेपाल सरकारका निकायहरु तथा राष्ट्रिय÷अन्तर्राष्ट्रिय निकाय संघ संस्था तथा मञ्चहरुमा प्रतिष्ठान र महासंघले एक अर्काको उपस्थितिलाई सफल बनाउन प्रयत्न गर्ने महासंघले जनाएको छ ।

महासंघ र प्रतिष्ठानले उत्पादनमूलक, कृषि र सेवा क्षेत्रका उद्यमीको व्यवसाय प्रवद्र्धन र सम्वद्र्धनका लागि थप कार्य योजना निर्माण गरी योजनावद्ध रुपमा कार्य गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

उत्पादनमूलक, कृषि, डिजिटल सेवा र अन्य सेवा क्षेत्रका उद्यमीको व्यवसाय विकास र प्रवद्र्धन गर्ने क्रममा दुबै पक्षले आफूसँग भएको विज्ञता, श्रोत, साधन र जनशक्ति परिचालन गर्ने सम्झौता पत्रमा उल्लेख छ ।

अनुसन्धान गर्ने तथा आवश्यक रणनीति बनाउने कार्यको नेतृत्व प्रतिष्ठानले गर्ने बताइएको छ भने आवश्यकता अनुसार केन्द्र, प्रदेश र स्थानीय तहका तीन वटै सरकार र विकास साझेदार तथा दातृ निकायहरु सँगको छलफल, लविङ र नयाँ परियोजना प्राप्त गर्न वा भैरहेका परियोजनालाई सहयोग जुटाउन दुबै पक्षले संयुक्त पहल गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

सम्झौता कार्यक्रममा प्रतिष्ठानका बहु–विषयक अनुसन्धान विशेषज्ञ प्रा. डा. राजकुमार भट्टराई तथा कार्यकारी निर्देशक डा. शंकर श्रेष्ठ, महासंघका उपाध्यक्ष मोहन कटुवाल, महासचिव डम्बर प्रसाद रेग्मी, कोषध्यक्ष अच्युत पाण्डेलगायतको सहभागिता रहेको थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ लघु, घरेलु तथा साना उद्योगहरुको हक र हितको संरक्षण र सम्बद्र्धन गर्दै यस क्षेत्रको विकास र प्रवद्र्धन मार्फत मुलुकलाई औद्योकिरण तर्फ उन्मूख गराउन सहयोग पुर्याउने उद्देश्यका साथ २०४७ सालमा स्थापना भएको छाता संस्था हो । प्रदेश, जिल्ला तथा पालिकास्तर गरी मुलुकभर संजाल रहेको महासंघ अन्तरगत ६० जिल्लामा जिल्ला महिला उद्यमी समितिको विस्तार भई ११ हजारभन्दा बढी महिला उद्यमीहरु सदस्य रहेको केन्द्रीय महिला उद्यमी समिति पनि महासंघमा कृयाशिल छ । झण्डै ३५ हजार उद्यमी साधारण सदस्य रहेको यस महासंघ अन्तर्गत २७ वटा वस्तुगत संघहरु संस्थागत सदस्यको रुपमा आबद्ध छन् । विधानतः निश्चित पँुजी भएका विभिन्न उद्योग प्रतिष्ठानहरु यस महासंघका एसोसिएट सदस्य रहेका छन भने सहकारीहरु समेत महासंघका सदस्य रहेका छन् । महासंघमा कृषिसँग सम्बद्ध उद्यमीहरु तथा युवा उद्यमीहरुको समेत बाहुल्यता रहेको छ ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठान एक गैर–राजनीतिक तथा गैर–नाफामूलक स्वतन्त्र संस्थाको रुपमा सन् २००४ मा स्थापना भएको सोच केन्द्र हो । यस प्रतिष्ठानले मुलुकको आर्थिक तथा सामाजिक विकास लगायत भौतिक पूर्वाधार, वातावरण तथा सार्वजनिक नीतिको अध्ययन अनुसन्धान गर्दै नीति निर्माणको क्षेत्रमा योगदान दिदै आएको प्रतिष्ठान हो । यस प्रतिष्ठानमा विभिन्न विषय सम्बन्धि बिज्ञ अनुसन्धानकर्मीहरुको संलग्नता रहेको छ ।

You might also like

Comments are closed.