काठमाडौं । नेपाल चेम्बर अफ कमर्शको पदाधिकारी टोलीले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग सोमबार भेटवार्ता गरेको छ । काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको निवासमा चेम्बरले नवनियुक्त उपराष्ट्रपति यादवलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिएको हो ।
चेम्बर पदाधिकारीसँगको भेटमा उपराष्ट्रपति यादवले अर्थतन्त्रको वर्तमान अवस्था जोखिममा रहेको बताए । तरलता अभाव, उच्च ब्याजदर, पु“जिगत खर्च समयमै हुन नसक्ने, बेरोजगारी जस्ता समस्याको दिगो समाधान खोज्न सकिए मात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने उपराष्ट्रपति यादवको भनाइ छ ।
उपराष्ट्रपति यादवले भन,‘अर्थतन्त्रमा हाल देखिएका समस्याको दिर्घकालिन समाधान खोज्न जरूरी छ ।’ सरकार र निजी क्षेत्रबीच निरन्तर सहकार्य गर्न आवश्यक रहेकोमा समेत उनले जोड दिए ।
चेम्बर अफ कमर्शले दिएको सुझावलाई आफुले सरकारी निकायहरुमा ध्यानाकर्षण गराउने उपराष्ट्रपति यादवले प्रतिबद्धता जनाए । मुलुकमा बास्तविक तथ्याङकको अभावमा सरकारी लगानीको प्रतिफल आउन नसकेको उपराष्ट्रपति यादवले गुनासो गरे । निजी क्षेत्रले पनि सरकारको सारथीको रुपमा अध्ययन अनुसन्धानमा सहयोग गर्नुपर्ने उनले बताए ।
सरकारले आर्थिक, औद्योगिक, सामाजिक एवं अन्य क्षेत्रमा लगानी गर्नुअघि वास्तविक तथ्यांक खोज्नुपर्ने उनको भनाइ छ । उपराष्ट्रपति यादवसँगको भेटका क्रममा चेम्बर अध्यक्ष मल्लले आर्थिक विकास र समृद्धिका लागि समन्वयकारी भूमिका निर्वाह गरीदिन आग्रह गरे । अध्यक्ष मल्लले भने,‘बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गती लिन सकेको छैन । पछिल्लो समय उच्च ब्याजदरका कारण उद्यमी व्यवसायी एवं सर्वसाधरण ऋणीमा गम्भिर असर गरेको छ ।’
पूँजीगत खर्च हुन नसक्ने समस्या लगायतले आर्थिक गतिविधी सामान्य अवस्थामा फर्किन नसकेको अध्यक्ष मल्लले बताए । सरकारी सेवालाई चुस्त र प्रभावकारी बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । राजश्व विभाग, राहदानी विभाग, यातायात कार्यलय जस्ता क्षेत्रमा टाइमबाउण्ड लागु हुनुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।
आर्थिक समृद्धि र अर्थतन्त्रलाई चालायमान बनाउन एकल अंकको ब्याजदर कायम गर्नुपर्ने भन्दै अध्यक्ष मल्लले बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिए । नयाँ कर्जा प्रवाह गरिँदा ब्याजदरमा लकअप प्रणाली लागू गरिनुपर्ने आफूहरूको माग रहेको मल्लले बताए । लकअप प्रणाली कायम गरिए वित्तीय सन्तुलन कायम हुने र ऋणी मर्कामा नपर्ने चेम्बरको ठहर छ ।
Comments are closed.