सुदूरपश्चिममा कोरोना सङ्क्रमि एक जनाको मृत्यु, उकालो लाग्दै सङ्क्रमणदर

सुदूरपश्चिम । सेती प्रादेशिक अस्पताल धनगढीमा आइसीयू (सघन उपचारकक्ष)मा उपचाररत कञ्चनपुरकी कोरोना भाइरस सङ्क्रमित ७३ वर्षीय एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

झन्डै एक वर्षयता कोरोनाका कारण हुने मृत्युदर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले मुटुरोगले समस्या महिलाको पिसिआर पद्धतिबाट गरिएको नमूना परीक्षणमा नतिजा ‘पोजेटिभ’ आएपछि छ दिनअघि अस्पतालको कोभिड वार्डको आइसीयूमा भर्ना गरिएको थियो ।

सुदूरपश्चिम प्रदेशमा केही हप्तादेखि कोरोनाभाइरसको संक्रमणदर उकालो लाग्न थालेको छ ।

स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकानुसार पछिल्लो ११ दिनमा प्रदेशमा २२३ व्यक्तिमा संक्रमण पुष्टि भएको छ । यो अवधिमा पीसीआर र एन्टिजेन पद्धतिबाट सात हजार ८४ जनाको नमुना परीक्षण गरिएको छ । संक्रमणदर बढेसँगै रोगले हुने मृत्युदर पनि बढ्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

सीमानाका हुँदै भारतबाट भित्रिने बढी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिने गरेको छ । कोरोना बढ्दै गए पनि तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरवाहीले यो रोगको सङ्क्रमण बढ्न सक्ने जोखिम देखिएको स्वास्थ्यकर्मीको भनाइ छ ।

सर्वसाधारणबाट तोकिएको मास्क प्रयोग नगरी जथाभावीरूपमा हिँड्ने, एकापसमा सामाजिक दूरी कायम नगर्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कमी–कमजोरी देखिएको जनाईएको छ ।

सेती प्रादेशिक अस्पतालका प्रयोगशाला प्रमुख रमेश शाहीले कोरोना सङ्क्रमणदर अझै बढ्न सक्ने बताए । उनले नमूना परीक्षण गराउनेहरू बढ्दा कोरोना ‘पोजेटिभ’ बिरामी पनि बढ्न सक्ने बताए । सङ्क्रमण पुष्टि हुने व्यक्तिलाई चिकित्सकसँग सल्लाह लिन र होमआइसोलेसनमा बस्न सल्लाह दिने गरेका सेती प्रादेशिक अस्पतालका प्रयोगशाला प्रमुख शाहीले बताए।  रासस

You might also like

Comments are closed.