काठमाडौं – मुलुकभर साना, मझौला र ठूला गरेर हालसम्म ८ हजार ९४७ उद्योग दर्ता भएका छन् । स्वदेशी र विदेशी लगानीकर्ताले यी उद्योग दर्ता गर्दा उद्योग क्षेत्रमा प्रस्तावित लगानी कूल २७ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ ।
उद्योग विभागमा चालू आर्थिक वर्ष २०७९/०८० को फागुन मसान्तसम्ममा मुलकमा प्रस्तावित सो लगानीका उद्योग दर्ता भएका हुन् । यद्यपि यो तथ्यांक भने मुलुकमा उद्योग दर्ता शुरू गरेपछि यताको हो । उद्योग विभागले वि.सं. २०४५ सालदेखि मुलुकमा विदेशी र स्वदेशी लगानीका उद्योग दर्ता भएको र लगानी प्रस्तावका साथै त्यसबाट सिर्जना हुने रोजगारीको अवस्थाको अभिलेख राख्दै आएको छ । चालू आर्थिक वर्ष ८ महीना अर्थात् फागुन मसान्तसम्ममा मात्रै १८३ उद्योग दर्ता हुँदा प्रस्तावित लगानी १ खर्ब ५५ अर्ब रूपैयाँ थपिएको छ ।
चालू आर्थिक वर्षको फागुनसम्ममा साना उद्योग ८३, मझौला उद्योग ५३ र ठूला उद्योग ४७ ओटा दर्ता भएका छन् । विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको यो अवधिमा दर्ता भएका उद्योगबाट १२ हजार ७४८ जनाले रोजगारी पाउनेछन् । यो रोजगारी भने प्रस्तावित लगानीका दर्ता उद्योग सञ्चालनमा आउँदा प्राप्त हुनेछ ।
चालू आर्थिक वर्षसहित यो अवधिसम्म दर्ता भएका र प्रस्तावित लगानी वास्तविक लगानीमा परिणत हुँदा भने रोजगारी पाउनेको संख्या भने ६ लाख ७० हजार २५५ हुनेछ । यद्यपि दर्ता भएका कति उद्योग सञ्चालनमा आएका छन् र कतिले रोजगारी पाएका छन् भन्ने विषयमा भने विभागसँग भने एकिन तथ्यांक छैन ।
नेपालले विभिन्न क्षेत्रलाई वर्गीकरण गरेर उद्योग दर्ता र लगानी स्वीकृत गर्दै आएको छ । उद्योग विभागले उत्पादनमूलक, कृषि तथा वन पैदवार, सूचना तथा प्रविधि, ऊर्जा, खनिज, पर्यटन, सेवा र निर्माणका विधामा लगानी तथा उद्योग दर्ता गर्दै आएको छ । विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा सबैभन्दा धेरै उत्पादनमूलक क्षेत्रमा उद्योग दर्ता भएका छन् । त्यसपछि पर्यटन र सेवा क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ । पर्यटन क्षेत्रमा होटेल तथा रेस्टुरेन्ट स्थापनाका लागि उद्योग दर्ता गराउने ३७ दशमलव २० प्रतिशत र सेवाक्षेत्रमा ३० दशमलव १६ प्रतिशत रहेको देखिएको छ ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ अनुसार विभागले ६ अर्ब रुपैयाँसम्मको विदेशी लगानी स्वीकृति गर्न सक्छ भने त्योभन्दा माथिको विदेशी लगानी स्वीकृतिका लागि भने लगानी बोर्ड नेपालले निर्णय गर्नुपर्छ । त्यसअनुसार यो सिमाभित्र रहेर हालसम्म उद्योग विभागमा ४ खर्ब ३९ अर्ब ८२ करोड रुपैयाँ विदेशी लगानी प्रस्ताव भएको छ । यो रकमको लगानी प्रस्ताव हुँदा उद्योग दर्ताको संख्या ५ हजार ६९२ पुगेको छ ।
विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा भने प्रस्तावित विदेशी लगानी भने २० अर्ब ५६ करोड रुपैयाँ रहेको छ । उद्योग दर्ताको संख्या १५९ रहेको छ । नेपालमा विदेशी लगानी भने पछिल्लो समयमा पर्यटन, सेवामा अधिक देखिएको छ, भने त्यसपछि भने उत्पादनमुलक उद्योगमा बढी रहेको छ ।
सरकारले लगानीमैत्री वातावरण बनेको, नेपालमा लगानीका लागि प्रशस्त सम्भावना रहेको भन्दै पटक पटक लगानी सम्मेलन समेत गर्दै आएको छ । नेपालको ऊर्जा, पर्यटन र उत्पादनमूलक क्षेत्रमा लगानी भित्र्याउनका लागि सरकारले ऐन, कार्यविधिहरूमा समेत सुधार गर्दै आएको छ । तथापि पर्याप्त मात्रामा भने लगानी भित्रन नसकेको देखिन्छ ।
लगानी प्रस्तावलाई हेर्दा सकारात्मक मान्न सकिए पनि वास्तविक लगानी कति आयो भन्ने अभिलेख अद्यावधिक नहुँदा भने एकिन गरेर विदेशी लगानी भित्रिएको तथ्यांकमा भने फरक छ । सरकारले २ पटक लगानी सम्मेलन गरिसकेको छ । त्यसबाट पनि बढी प्रचारप्रसार र लगानीमैत्री नीति तथा कानूनमा सुधार गर्दा स्वदेशी तथा विदेशी लगानीमा सुधार देखिएको विभागका अधिकारीहरू बताउँछन् । यद्यपि पछिल्ला वर्षमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण, विश्वमा देखिएको आर्थिक मन्दीका कारण लगानी प्रस्तावमा केही कमी आएको भए पनि सुधार भने देखिएको छ ।
जस्तै, आर्थिक वर्ष २०७७/७८ मा स्वदेशी र विदेशी गरी कुल १ खर्ब ५६ अर्ब रुपैयाँ लगानी प्रस्ताव भएको थियो । तर, यो अवस्थामा भने गत आर्थिक वर्ष २०७८/७९ मा भने सुधार देखियो । विभागको तथ्यांकअनुसार उक्त वर्ष स्वदेशी र विदेशी लगानीका कूल ३०९ ओटा उद्योग दर्ता हुँदा कुल प्रस्तावित लगानी ३ खर्ब ४३ अर्ब रुपैयाँ रहेको थियो । यस्तै विदेशी लगानीमा पनि सुधार देखिएको छ । २०७७/७८ मा ३२ अर्ब ७ करोड रहेको प्रस्तावित विदेशी लगानी गत आर्थिक वर्षमा भने ५४ अर्ब १५ करोडमा पुगेको थियो ।
चालू आर्थिक वर्षमा वैदेशिक लगानीको प्रस्ताव गर्त आर्थिक वर्षको भन्दा कम हुने आकलन विभागको छ । चालू आर्थिक वर्षको ८ महीनासम्ममा २० अर्ब रुपैयाँ विदेशी लगानीको प्रस्ताव भएको छ । यो वर्ष सकिन केही महीना बाँकी हुँदा यसमा केही अंश बढे पनि गत आर्थिक वर्षको जति हुन नसक्ने देखिन्छ ।
नेपालले ठूलो परिमाणमा वैदेशिक लगानी भित्र्याउने भने पनि वास्तविक लगानी भने निकै कम हुने गरेको छ । विभिन्न समयमा गरिएका लगानी सम्मेलनहरूमा विदेशी लगानीकर्ताहरूले खर्बाैं लगानी भित्र्याउन आशय तथा प्रतिबद्धता व्यक्त गरेका थिए । नेपाल राष्ट्र बैंकले केही समय अघि सार्वजनिक गरेको ‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानी’ सर्वेक्षण प्रतिवेदनले विदेशी लगानीकर्ताहरूले स्वीकृत गराएअनुसार लगानी भित्र्याउन नसकेको देखाएको थियो ।
फाइल तस्वीर- उपल्लो खिम्ती र अपर खिम्ती जलविद्युत आयोजना
उक्त तथ्यांकअनुसार आर्थिक वर्ष २०५२/५३ देखि २०७६/७७ सम्म नेपालले ३ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत गरेको देखिएको छ । तर, यसमा भित्रिएको वास्तविक लगानीको अंश निकै कम छ । स्वीकृत वैदेशिक लगानीमध्ये हालसम्म जम्मा ३४ प्रतिशत लगानीमात्र दर्ता भएका परियोजनामा आएको केन्द्रिय बैंकको उक्त प्रतिवेदनले देखाएको थियो । वैदेशिक लगानीका लागि नेपाल उपयुक्त गन्तव्य रहेको भन्ने सन्देश लगानीकर्ताहरूलाई दिन सरकारले २०७३ चैत र २०७५ चैतमा लगानी सम्मेलन गरेको थियो ।
लगानीकर्ताले सहज वातावरण नहुँदासम्म लगानी गर्ने अवस्था हुँदैन ।
सरकारले निजीक्षेत्रलाई साझेदार नमान्ने, निजीक्षेत्र पनि उद्योग व्यवसायभन्दा पनि ट्रेडिङतर्फ बढी आकर्षित हुनेजस्ता प्रवृत्ति मुलुकमा देखिएको छ । लगानीकर्तालाई सहजीकरण गरिदिने र लगानी गर्न आऊ भन्ने तर एउटा प्रोजेक्ट दर्तादेखि कार्यक्षेत्रमा जाँदासम्म दर्जनौं निकायमा जानुपर्ने बाध्यता यथावत रहेको देखिन्छ । तर, विभागले भने अहिले एकल बिन्दु सेवा केन्द्रबाट नै लगानीकर्तालाई सहजिकरण गरिदैं आएकोले अहिले धेरैतिर धाउने बाध्यता हटेको दाबी गरेको छ ।
२०७६ जेठ देखि सरकारले उद्योग विभागको केन्द्रीय कार्यालयमा रहने गरी एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति, अर्थ मन्त्रालयअन्तर्गतका भन्सार, राजस्व, कर कार्यालयहरू, भूमि व्यवस्था मन्त्रालय, पूर्वाधार, उर्जा, नेपाल विद्युत प्राधिकरण जस्ता निकायका विभिन्न १२ ओटा निकायहरू उद्योग विभाग परिसरमा रहने गरी केन्द्रले काम गर्दै आएको छ । यो केन्द्रबाट बढीमा १० दिनमा विदेशी लगानी स्वीकृत हुँदै आएको दाबी गरिएको छ । उद्योगका प्रशासनिक कार्यदेखि उद्योग दर्ता, खारेजीसम्मका कामहरू यही केन्द्रबाट हुँदै आएका छन् । यद्यपि केन्द्र प्रभावकारी रूपमा सञ्चालनमा भने आउन सकेको छैन ।
Comments are closed.