आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिवद्धता

पोखरा । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले स्थायित्व,खुलापन तथा महिला एवं सीमान्तकृत वर्गलाई मुलधारमा ल्याउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

राजदूत थम्पसनले व्यवसायीहरुको दक्षता अभिवृद्धि,उद्यमशीलता र जलवायू परिवर्तनलगायतका क्षेत्रमा निजी क्षेत्रसँगको सहकार्य जारी रहने पनि उनको प्रतिवद्धता रहेको छ । राजदूत थम्पसनले शुक्रबार पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलसँगको भेटमा सो कुरा बताएका हुन् ।

पोखरा उद्योग वाणिज्य संघमा भएको भेटका क्रममा राजदूत थम्पसनले अमेरिकी सरकार हाल जारी सहयोगका परियोजनाहरुको निरन्तरताका साथै केही नयाँ कार्यक्रम सुरु गर्ने तयारीमा रहेको बताए । ती परियोजनाहरु नेपालको अर्थतन्त्र सुदृढीकरणको लागि भएको उनको भनाइ थियो । उनले भौगोलिक अवस्थितिका कारण पोखरा सूचना प्रविधि उद्योगको लागि उपयुक्त भएको पनि बताए ।‘पोखरा युवाहरुको रोजाइको सहर हो, सूचना प्रविधिका कामहरु जहाँ बसेर पनि गर्न सकिन्छ,मात्र सही सीप चाहिन्छ,’उनले भने ।

उनले अमेरिकी सरकारबाट संचालित एमसीसी तथा अमेरिकी सहयोग नियोग (युएसएएड) मार्फत् भएका सहयोगले यहाँको विद्युत र यातायात एवं आर्थिक वृद्धिको लागि सहयोगी हुने विश्वास व्यक्त गरे । अमेरिकाले सन् १९६१ देखि संचालनमा ल्याएको पिस कर्प कार्यक्रम जारी रहने बताउँदै उनले आउँदो महिला पिस कर्पका स्वयंसेवक नेपाल आउने जानकारी दिए । ‘उनीहरुले शिक्षा र खाद्य सुरक्षाको क्षेत्रमा काम गर्नेछन्,’उनले भने ।
भेटका क्रममा राजदूत थम्पसनले पोखराको औद्योगिक एवं व्यावसायिक वातावरण,महिला र युवा उद्यमशीलताबारे चासो राखेका थिए ।

राजदूत थम्पसनसहितको प्रतिनिधिमण्डलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष एवं वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले अमेरिकी सहयोगले यो क्षेत्रको विकासमा पु¥याएको योगदानको मुक्तकष्ठले प्रशंसा गरे । नेपाल–अमेरिका दौत्य सम्बन्धको ७५ वर्षे यात्राक्रमको चर्चा गर्दै उनले भने,‘सन् १९६१ देखि नेपाल आउन सुरु गरेका पिस कर्पका भोलेण्टियरबाट प्रदान गरिएको शिक्षा र व्यावसायिक तालिम एवं यो क्षेत्रको पर्यटन विकासको लागि प्रदान गरिएको सहयोगलाई हामीले महत्वपूर्ण ठानेका छौँ ।’

कार्यवाहक अध्यक्ष कार्कीले पोखरा उद्योग वाणिज्य संघले उद्योगी÷व्यवसायीहरुको हकहित रक्षाका अलावा सामाजिक कार्य गर्दै आइरहेको पनि जानकारी गराए । पोखरा हिमालपार व्यापारको केन्द्र भएको बताउँदै उनले पोखरा उद्योग वाणिज्य संघ पोखरा र समग्र गण्डकी प्रदेशलाई हस्तकला,बास्तुकलाको केन्द्र बनाउने अभियानमा लागेको जानकारी गराए । नविनतम् प्रविधिको उपयोग,उत्पादित बस्तुको ब्राण्डिङ र बजारीकरण गर्न नसक्दा नेपाली व्यवसायीहरु पछि परेको उल्लेख गर्दै उनले प्रविधि हस्तान्तरणको लागि अमेरिकासँग सहकार्य गर्न संघ तयार रहेको पनि बताए ।

संघकी उपमहासचिव शोभा गौतमले पछिल्लो समय पोखरामा महिला उद्यमशीलता फस्टाउँदै गए पनि महिलाकै नाममा सम्पत्ति नहुँदा, आवश्यक सीपको अभावले सोचेजस्तो अझै नभएको बताइन् । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यको पनि उपस्थिति रहेको थियो ।

You might also like

Comments are closed.