तनहुँ, ३० फागुन
कास्कीको रुपा गाउँपालिकामा रहेका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरुले तनहुँको दमौली स्थित सत्यवती माध्यामिक विद्यालयको अवलोकन भ्रमण गरेका छन् । गाउँपालिकाभित्र सञ्चालित ३२ ओटै आधारभूत तथा माध्यमिक सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँगै विद्यालय व्यवस्थापन समितिकिा अध्यक्ष र वडाअध्यक्षहरु सम्मेलित टोलीले नमुना विद्यालयको रुपमा सत्यवतीको भ्रमण गरेका हुन् ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख भोजराज न्यौपानेले गाउँको विकास गर्ने हो भने सर्वप्रथम शिक्षा र स्वास्थ्यको विकास गर्नुपर्ने निष्कर्ष सहित गाउँपालिकाले अभियान अघि बढाएको जानकारी दिए । गाउँपालिकाभित्रका विद्यालयको चौतर्फी विकासका लागि अन्य नमुना विद्यालयबाट केही सिक्ने अवसर प्रदान गर्ने उद्देश्यले अवलोकन भ्रमण आयोजना गरिएको न्यौपानेले बताए । उनले सिकेका सकारात्मक कुरालाई आफ्ना विद्यालयमा लगेर कार्यान्वयन गर्नसमेत प्रधानाध्यापक र अध्यक्षहरुलाई आग्रह गरे ।
भ्रमणमा सहभागीहरुको जिज्ञासाको जवाफ दिँदै सत्यवती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य अधिकारीले सामुदायिक विद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने हो भने धेरै समस्याको समाधान हुने जिकिर गरे । विद्यालयको कुनै पनि पदमा बस्नुको उद्देश्य आफ्ना मान्छेलाई जागिर खुवाउने मात्रै भयो भने त्यो हानिकारक हुने भन्दै उनले हाम्रालाई होइन, राम्रालाई विद्यालयमा प्रवेश गराउनुपर्नेमा जोड दिए ।
अधिकारीले सामुदायिक विद्यालयको विकासका लागि समुदायको सहयोग, प्रधानाध्यापकको कार्यकुशलता, स्टाफको सकारात्मक समन्वय र व्यवस्थापन समितिको उचित निगरानी आवश्यक पर्ने अनुभव सुनाए ।सत्यवतीको उन्नति हुनुमा अभिभावकको सकारात्मक साथ नै प्रमुख कडीका रुपमा रहेको उनको भनाइ थियो । विद्यालयको शैक्षिक तथा भौतिक वातावरण अवलोकनसहित आयोजना गरिएको अन्तरक्रिया कार्यव्रmममा विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले २७ सयभन्दा बढी विद्यार्थी रहेको विद्यालयमा सरकारी दरबन्दीबाहेक ४९ जना निजी शिक्षक रहेको जानकारी दिए । अभिभावकको सहयोगबाट विद्यालयले चौतर्फी विकासमा सहजता महसुस गरेको भनाइ पौडेलले राखे ।कार्यक्रममा रुपा गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष रामजी अधिकारी, रामकोट स्रोत केन्द्रका पूर्व स्रोत व्यक्ति हेमराज आचार्य, शिवालय माविका प्रअ रुपिन्द्र प्रभावी, रामकोट माविका विव्यस अध्यक्ष निर्मला सुवेदी, नवीनबाबु पौडेल, राजेन्द्र भट्टराई लगायतले बोलेका थिए ।
Comments are closed.