नेपाल भेटेरिनरी एशोसिएसन बि.स २०२५ सालमा स्थापना भएकोे भेटेरिनरी क्षेत्रमा काम गर्दै आएको संस्था हो । हाल संस्थाले संघीय संरचना अनुसारका सात प्रदेश र केन्द्रीय समितिका माध्यमबाट काम गरिरहेको छ ।
भेटेरिनरी प्राक्टिस्नर्स एशोसियसन नेपाल र नेपाल भेटेरिनरी स्टुडेन्टस् एशोसियसन–रामपुरले सिस्टर अर्गनाइजेशनको रूपमा काम गर्दै आएका छन् । नेपाल भेटेरिनरी एशोसियसन वल्र्ड भेटेरिनरी एशोसियसन, फेडेरेशन अफ एशियन भेटेरिनरी एशोसियसन र कमन वेल्थ भेटेरिनरी एशोसियसनसँग आबद्ध छ । देशभरि करीब १ हजार ६ सय जना सदस्य आबद्ध रहेको एशोसिएसनले आबद्ध सदस्य र पशुपालक किसानको हितमा काम गर्दै आइरहेको छ ।
एशोसिएसनले आगामी जेठ १२ र १३ गते ५०औं राष्ट्रिय अधिवेशन तथा साधारणसभा गर्दैछ । संस्थाका हालका महासचिव अशेष भट्टराई अधिवेशनमार्फत उपाध्यक्ष बन्ने तयारीमा छन् । चितवनको रामपुर क्याम्पसमा सन् २००८ मा अध्ययन पूरा गरेका भट्टराई यस क्षेत्रमा १५ वर्षदेखि क्रियाशील छन् । सचिव, महासचिव, उपाध्यक्ष हुँदै अध्यक्ष हुने घोषण पहिले नै गरेका थिए उनले । अधिवेशनले सक्षम नेतृत्व चयन हुने अपेक्षा गरिएको छ । हामीले महासचिव भट्टराईसँग उनको कार्यकालमा के के काम भए ? भेटेरिनरी क्षेत्रमा केके समस्या छन् ? एशोसिएसनले के के काम गर्दै आएको छ भन्ने लगायत विषयमा कुराकानी गरेका छौं :
नेपाल भेटेरिनरी एशोसिएसनको महासचिवको रूपमा रहनुभयो, कार्यकाल कस्तो रह्यो ?
यो कार्यकाल धेरै सफल भएको महसुस मलाई भएको छ । हामीले हाम्रो कार्यकालमा धेरै कार्यक्रम गरेका छौं । यसबीचमा हामीले म्यारथुन रेस गरायौं जसमा करीब ५ हजार जनाको सहभागिता थियो । वल्र्ड भेटेरिनरी डे, वल्र्ड रेविज डे, वल्र्ड एनिमल डे लगायतका विभिन्न दिवसमा कार्यक्रम गर्दै आएका छौं ।
वार्षिक भेटेरिनरी कन्फरेन्स पोखरामा गर्यौ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका साइन्टिस्टलाई आमन्त्रण गरी करीब १०० वटा कार्यपत्र प्रस्तुत गरेका थियौं । सार्क भेटेरिनरी एशोसिएसन पनि दर्ता गर्न सफल भएका छौं । जसको महासचिव हाम्रो समितिका अध्यक्ष शितलकाजी श्रेष्ठ हुनुहुन्छ ।
भेटेरिनरी पेशा/व्यवसायीले समाजमा के योगदान दिएका छन् ?
हाम्रो पेशा अलि अफ्ठ्यारो नै छ । रोग पत्ता लगाउन परीक्षण गर्ने ल्याब पनि हामीसँग छैन । तर विभिन्न अभावका बीच पनि हाम्रो दक्ष जनशक्ति समुदायमा सक्रिय छन् । समाजमा भेटेरिनरी डाक्टरहरूको योगदान अतुलनीय छ । पशुमा समस्या देखिएमा दूर दराजमा रहेका किसानसम्म उहाँहरू पुग्नुहुन्छ । कतिपय किसानसँग पैसा पनि नहुनसक्छ त्यस्तो परेमा निःशुल्क सेवा प्रदान गर्नुहुन्छ । कतिपयले पैसाको साटो आफ्नोमा भएका तरकारी, घ्यु लगायतका सामान दिएर पनि पठाउनुहुन्छ । यसले के देखाउँछ भने हामी पेशा, व्यवसायसँगै सेवाभावमा पनि उत्तिकै इमान्दार छौं ।
भेटेरिनरी क्षेत्र सरकारको प्राथमिकतामा छ ?
पशुपालन क्षेत्रमा सरकारको बजेट खासै उल्लासमय छैन । दूध, अण्डा, मासुमा आत्मनिर्भर छौं तर सरकारले यस क्षेत्रमा छुट्याउने बजेट चित्त बुझ्दो नभएको अवस्था छ । छुट्याइएको बजेट मध्य पनि करीब ८० प्रतिशत कृषि क्षेत्रमा गएर बाँकी भेटेरिनरीतर्फ आउँछ । यसले पनि असर पर्ने गरेको छ । नीति तथा कार्यक्रममा पनि भेटेरिनरी क्षेत्र प्राथमिकताका साथ समेटिएको छैन । यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने हाम्रो माग हो ।
सरकारले प्राथमिकतामा नपार्दा देखिएका समस्या के के छन् ?
वल्र्ड फ्लु, लम्पी स्किन डिजिज, अफ्रिकन स्वाइन फ्लु जस्ता रोगले पनि पशुपालन क्षेत्रमा ठूलो समस्या निम्तिएको छ । कुखुरा, गाईभैंसी र बंगुरमा देखिने यस्ता समस्या समाधानका लागि सरकार पनि उदासिन छ । उपचार तथा रोग नियन्त्रणका लागि निःशुल्क भ्याक्सिनको व्यवस्था गर्न सकेको छैन ।
सरकारले चौपाय, बंगुर, बाख्रा लगायतलाई प्राथमिकता दिने गरेको छ भने निजी क्षेत्रमा पोल्ट्री अगाडि छ । पोल्ट्री व्यावसायिक रूपमा अगाडि बढेको छ । किसानका समस्या पहिचान गरि समाधानका लागि राज्यपक्षलाई हामीले घच्घच्याउने काम गरिरहेका छौं ।
किसानका समस्यामा एशोसियसनले कसरी सहजीकरण गर्दै आएको छ ?
यस्ता सवालमा हामीले योजना बनाएरै काम गरिरहेका छौं । गोष्ठी, अन्तरक्रिया तथा सेमिनार जस्ता क्रियाकलाप हुँदै आएका छन् । अन्तर्राष्ट्रियस्तरका व्यक्तित्व, नेपाल सरकारका प्रतिनिधि र किसानका बीचमा अन्तक्रिया तथा छलफल चलाउछौं । किसानको सहयोगका लागि हामीसँग निःशुल्क हेल्पलाइन नम्वर पनि छ ।
Comments are closed.