भृकुटी मण्डप मेलामा जुत्ता चप्पल किन्नेहरुको भिड, छुट बन्यो आकर्षण

काठमाडौं । पोखराबाट काठमाडौं काम विशेषले आएका शरण नेपाली बुधबार काठमाडौंको भृकुटीमण्डपस्थित जुत्ता चप्पल मेलामा देखिए । काम सकेर बाँकी रहेको फुर्सदको समयमा जुत्ता मेलाको अवलोकन गर्न आएको उनले बताए । ‘भकुटीमण्डप मेलामा एकै थलोमा धेरै ब्राण्डका जुत्ता चप्पल बिक्री तथा प्रदर्शनीमा राखेको सुनेको थिएँ,’ उनले भने । मेलामा उनले आफ्नो लाग २ जोर जुत्ता र श्रीमतीका लागि जुत्ता र चप्प्ल खरिद गरेको सुनाए ।

काठमाडौं भक्तपुरकी सबिता केसी पनि मेलामा सहभागी भएर परिवारका लागि जुत्ता चप्पल खरिदमा व्यस्त थिइन् । ‘बजारको तुलनामा यहाँ जुत्ता चप्पल सस्तोमा पाइने रहेछ,’ उनले भनिन् । कलंकीकी सुनिता रावलले अघिल्लो वर्ष पनि भृकुटीमण्डप मेलामा आएर जुत्ता चप्पल खरिद गरेकी रहेछिन् । ‘गत वर्ष लगेको जुत्ता अहिलेसम्म पनि लगाएकी छु,’ उनले भनिन्, ‘अहिले फेरी आफ्नो र परिवारको लागि जुत्ता चप्पल खरिद गर्न आएकी छु ।’ एक वर्षसम्मका लािग पुग्ने जुत्ता चप्पल खरिद गर्ने तयारी गरेको उनले सुनाइन् ।

बबिता, शरण र सुनिता मात्रै होइन मेलामा जुत्ता चप्पल खरिद गर्नेहरुको भिड लाग्ने गरेको छ । एकै थलोभित्र ११ वटा ब्राण्डका जुत्ता चप्पल ग्राहकले आवश्यकता अनुसार खरिद गर्न सक्ने भएकाले मेलामा आकर्षण बढेको बताउँछन् आयोजक सबिन कार्की ।

‘ग्राहकले आफ्नो आवश्यकता र बजेट अनुसारका जुत्ता चप्पल यहाँ उपलब्ध छ,’ उनले भने, ‘जुत्ता चप्पल आवश्यक छ भने भृकुटी मण्डप मेलामा जानुपर्छ भन्ने मान्यता नै स्थापित गर्न हामी सफल भएका छौं ।’

मेलामा सिटिजन फुटवयर, एसबिआर सुज, शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, रन सुज, हिमानी सुज र बाम्बो सुजका जुत्ता चप्पल राखिएका छन् ।

ग्राहकको सुविधालाई ध्यानमा राख्दै मेलामा ५० प्रतिशतसम्म छुट उपलब्ध रहेको आयोजक राजेश विशुंखेले जानकारी दिए ।

lcci
You might also like

Comments are closed.