शून्य लागतमा अन्तराष्ट्रियस्तरका अस्पतालमा रोजगारीका लागि पठाउँदै आएका छौं : श्रेष्ठ

मध्यपूर्वी एसिया नर्सिङमा आकर्षक गन्तब्य

हामीले चाहेर नचाहेरै वैदेशिक रोजगारी हाम्रो आवश्यकता बन्यो । प्रविधि र विश्वव्यापीकरणले साँघुरो बनेको विश्वका एक देशको नागरिक अर्को देशमा गएर काम गर्ने कुरा असामान्य ठान्ने कुरा पनि होइन । त्यस माथि नेपाली जनशक्ति विश्व श्रम बजारमा धेरै माग हुने जनशक्तिको रूपमा पहिचान बनाएका छन् । पछिल्लो समय नेपाली श्रम बजारबाट शैक्षिक र प्राविधिक जनशक्तिको माग समेत बढ्दो छ । मध्यपूर्वी एसियामा विशेष गरी नर्सिङ जनशक्ति रोजगारीको लागि पठाउँदै आएको ‘मनास्लु इन्टरनेशनल सर्भिसेस’का अध्यक्ष बालकृष्ण श्रेष्ठ नेपाली नर्सका लागि मध्यपूर्व उपयुक्त गन्तब्य भएको बताउँछन् । मनास्लुकै पहलमा मध्यपूर्वी एसियामा स्वास्थ्य क्षेत्रमा जनशक्ति पठाएको बताउने श्रेष्ठसँग यसै सन्दर्भभित्र आर्थिक आवाजकर्मी दीपा रेग्मीले गरेको कुराकानी :

मध्यपूर्वी एसियामा मनास्लुले कस्ता कस्ता जनशक्ति पठाउँदै आएको छ ?

सन् १९९९ मा वैदेशिक रोजगारीमा पठाउने उद्देश्यले स्थापना गरिएको हो । मध्यपूर्वी एसियाका मुलुकमा हामीले धेरै कामदार पठायौं । विशेष गरि निर्माण क्षेत्रका सामान्य मजदुर देखि इन्जिनियरसम्म पठाउँदै आएका थियौं तर मेडिकल सेक्टरमा पठाएका थिएनौं । दुवईमा केहीले आफै गएर काम गरेका थिए, कतारमा केही गएका थिए तर अरु देशमा गएका थिएनन् । सन् २०१७ मा स्वास्थ्य क्षेत्रमा पनि जनशक्ति पठाउनुपर्छ भन्ने लागेर हामीले त्यसको लागि पहल गरेका हौं ।

नेपाली नर्स रोजगारीका लागि पठाउने सोंच कहाँबाट आयो ?

नर्सहरूलाई रोजगारीको लागि पठाउनुमा एउटा संयोग छ । त्यो समयमा विर अस्पताल अगाडि नर्सहरूले आफूहरूलाई स्वयमसेवकको रूपमा मात्र काम लगाइएको भन्दै आन्दोलन गरिरहेका थिए । त्यो बेला हामीलाई लाग्यो नर्सहरूलाई पनि सहयोग गर्नुपर्छ र उनीहरूलाई पनि वैदेशिक रोजगारीमा पठाउनुपर्छ भन्ने लाग्यो र सन् २०१८ मा यसको सम्भावनालाई खोज्दै राष्ट्रिय, अन्तराष्ट्रिय रूपमा धेरै कार्यक्रम गर्यौं । यसरी अध्ययनपश्चात् हामीले सन् २०१९ बाट नर्सहरू पठाउन शुरू गरेका थियौं, अहिले करीब ६५० नर्स रोजगारीको लागि मध्यपूर्वका देशमा पठाएका छौं ।

रोजगारीको लागि पहिले देखि अन्य कामदार गइरहेका थिए, नर्सिङ जनशक्तितर्फ नगएको सन्दर्भमा तपाईहरूबाट के के पहल भए ?

त्यसभन्दा अगाडि नेपाली नर्सलाई लिन सकिन्छ भनेर त्याहाँका संस्थाले महसुस गरेका थिएनन् । नेपाली भनेको इमान्दार हुन्छन्, निर्माणको कामका जनशक्ति मात्र काम लाग्छन् भन्ने थियो । नर्सिङ जनशक्ति पठाउन सकिन्छ भनेर हामीले पनि ध्यान दिएका थिएनौं र सन् २०१७ पछि म आफैपनि २०–२५ पटक पुगेर मध्यपूर्वका देशको अध्ययन गरें । कतार, दवई, बहराइन, साउदी, ओमान, युएई सबैतिर घुम्दा सम्भावना देखें तर सबैभन्दा ठूलो कुरा उनीहरूलाई नेपालमा स्वास्थ्य जनशक्ति छ भनेर विश्वास दिलाउनुपर्ने थियो । त्यसको लागि मैले सन् २०२० फेब्रुअरीमा मैले काठमाडौंमा ‘एमसीएमई २०२०’ भनेर अन्तराष्ट्रिय सम्मेलनको आयोजना गरें । यसको थिम ‘मेडिकल करिअर इन मिडल इस्ट’ भन्ने थियो, जहाँ ४० जना डेलिेट्स र ६५० जना जति नेपाली डक्टर, नर्स कार्यक्रममा सहभागी थिए । कार्यक्रममा डा. आरपी बराल, डा. सुमनकुमार श्रेष्ठ र डा. मृगेन्द्र श्रेष्ठले डक्टरको तर्फबाट कार्यपत्र प्रस्तुत गर्नुभएको थियो, नर्सिङको तर्फबाट जमुना सायमी लगायतले नर्सिङको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यो सफल कार्यक्रमले मध्यपूर्वी मुलुकका स्वाथ्य क्षेत्रमा कामदार पठाउन एउटा सेतुको रूपमा काम गर्यो । तर त्यस लगत्तै कोरोना महामारीका कारण तत्कालै जनशक्ति पठाउन सकिएन ।
कोरोना महामारीका बीचमा पनि हामीले विभिन्न अनलाइन कन्फेरेन्सहरू गर्यौं, लकडाउन हटेपछि करीब १०० जना नर्स पठाउन हामी सफल भयौं । ठूलो संख्या कोरोना महामारी सुस्त भएपछि पठाएका छौं, त्यस अगाडि सामान्य दुई–चार जना पठाएका थियौं ।

अहिले त्यहाँ नेपाली नर्सिङहरूलाई हेर्ने दृष्टिकोण कस्तो छ ?

अहिले नेपाली स्वास्थ्य जनशक्तिको विषयमा राम्रो प्रभाव परेको छ । स्वास्थ्य जनशक्तिको लागि नेपाल पनि राम्रो देश हो भन्ने राम्रो सन्देश प्रवाह भएको छ । नेपाली नर्सलाई उनीहरूले राम्रो मान्नुको केही कारण छन्, पहिलो नेपाली विभिन्न सांस्कृतिक विवधतामा हुर्किएका भए, हामी नेपालीले छिटो सिक्ने हुँदा त्याहाँको प्रविधिलाई छिट्टै सिक्ने र भाषाको ज्ञानमा पनि विविधता धेरै भाषाको ज्ञान छ । नेपालीको मंगोलियन र आर्यन अनुसार र क्लिन फेसका कारण आकर्षक देखिन्छन् । त्यहाँका ठूला ठूला स्वास्थ्य संस्थाले नेपाली नर्सको माग गरिरहेका छन् तर माग अनुसार पठाउन सकिएको अवस्था छैन ।

यहाँहरूले कुन कुन देशलाई प्राथमिकतामा राख्नुभएको छ ?

दुवई (युएई), बहराइन, कुवेत, कतार, साउदी र ओमान मध्ये साउदीमा धेरै गएको अवस्था छ । अन्य देशको तुलनामा साउदी ठूलो देश पनि हो । मनास्लुले कुवेत र साउदीलाई जोड दिएका छौं । मनास्लुका केही सिद्धान्त छन् ः पहिलो हामीले पठाएका जनशक्तिले गन्तव्य मुलुकमा गएर आफ्नो शीप तथा क्षमतामा विकास गर्नुपर्छ । दोस्रो हामीले निशुल्क जनशक्ति पठाउनुपर्छ । यसरी हेर्दा साउदी र कुवेतमा मात्र निशुल्क पठाउन संभव देखियो । यसको लागि हामीले फिलिपिन्सको मोडललाई फलो गरेका छौं । हामीले डिमाण्ड सृजना गरेकै कारण निशुल्क कामदार पठाउन सक्षम भएको हो ।

साउदीका ३ वल्र्ड स्ट्याण्डर्ड अस्पतालमा नेपालका स्वास्थ्य जनशक्तिको माग छ । सुलेमान हविव अस्पताल, साउदी जर्मन, नेशनल हायात लगायतका अस्पतालसँग हामीले काम गरिरहेका छौं । सुलेमान हविवमा हामीले बिएस्सी, बिएन पढेका विद्यार्थीलाई इन्टर्नसिप गराउने र एक वर्ष पछि जागिरमा राख्ने सम्झौता गरेका छौं । उक्त अस्पतालमा अथरिटीलाई हामीले नेपालका कलेज र अस्पतालको भ्रमण पनि गराएका छौं । उनीहरूले नेपाली जनशक्तिको सम्भावनालाई हेरेर अध्ययन पनि गर्दैछन् ।

रोजगारीको लागि मध्यपूर्वी एसियमा जाने कुरामा कत्तिको आकर्षण देखिन्छ ?

हामीले मध्यपूर्वी एसियामा नर्स पठाउने भनेर कन्भिन्स गर्न गाह्रो भयो । किनकी यो क्षेत्र प्रतिको नेपालीको बुझाइ पहिले देखि नै सकारात्मक छैन । साउदीको बारेमा नेपालमा भएको नराम्रो हल्ला कारण बन्यो तर नेपाललाई वैदेशिक रोजगारबाट लाभ लिनको लागि सहयोग गरेको छ, भने त्यो साउदी नै हो । शुरूमा नर्स पठाउँदा अरुलाई विश्वास दिलाउनको लागि मैले मेरा आफन्तहरूलाई नै पठाएको हुँ । उनीहरूलाई साउदी पठाए पछि आफै भिजिट गरेर उनीहरुको अन्तरवार्ता दिने, काम गरेको भिडियो खिँच्ने लगाएतका काम गर्यौं । उनीहरूले त्यहाँ पाउने सुविधको हिसाब गर्दा उनीहरूले अध्ययन गर्दा गरेको खर्च (१५ देखि २० लाख रुपैयाँ आधार मान्दा) दुई वर्षमै कमाउन सक्छन् र अनुभवका हिसावले अन्तराष्ट्रिय नर्स बन्न सक्षम हुन्छन् । यो आफैमा राम्रो अवसर हो । यसले आर्थिकसँगै शीप र क्षमतासहितको जनशक्ति जन्माउन सक्छ । नेपाल फर्किएर राम्रो अवसर पाउँछन् । मध्यपूर्वमा काम गर्दा त्यहाँको अनुभवले युरोप लगायतका मुलुकमा एप्लाई गर्नका लागि राम्रो बाटो हो ।

कसैले नर्सिङका लागि जान चाहेमा मनास्लुले कसरी सहजीकरण गर्नसक्छ ?

नर्सहरूले एप्लाइ गर्न चाहानुहुन्छ भने सजिलो बाटो छ । उहाँहरू मनास्लु इन्टरनेशनल सर्भिसको सम्पर्कमा आउनुपर्यो । जसको लागि उहाँहरू भौतिक रुपमा भेटेर, फेसबुक, फोन, कइन्स्ट्रा, टिकटक जुनबाटोबाट जोडिएर भएपनि जिज्ञासा राख्न सक्नुहुन्छ । हामीले जुनसुकै माध्यमबाट भएपनि सहजिकरण गछौं । हामीले पिसिएल, बिएन र बिएस्सी नर्सिङ पठाइरहेका छौं । तलबको लागि नेपाल सरकारले ८ घण्टाको १ लाख १५ हजार रुपैया तोकेको छ , यो तलब २ लाख रुपैयाँसम्म दिलाएका छौं । तलब डिग्रीभन्दा पनि अनुभवमा भर पर्छ । नेपाली नर्सको अध्ययन र अनुभव ठ्याक्कै यो क्षेत्रमा छ भन्ने नभएर पनि तलब बढाउने कुरामा गाह्रो परेको छ । नर्सिङ अध्ययनको क्षेत्र विशिष्टिकृत (स्पेशलाइज्ड) भएको अवस्थामा सहज हुने हाम्रो बुझाइ छ ।

यहाँहरूले निःशुल्क पठाउने बताउनुहुन्छ, कसरी सुनिश्चित हुने ?

हामी इथिकल प्राक्टिस गर्छौं । हामी निशुल्क पठाउँछौ भनेर सुनिश्चितताको लागि पठाउन लागेका क्यान्डिडेट, मिडिया र अन्य क्षेत्रका व्यक्तिहरूलाई राखेर अन्तरक्रिया गरेका थियौं । हामीले पठाउने सम्पूर्ण खर्च निःशुल्क गर्छौं तर उनीहरूले आफू जाने देशको लाइसेन्स लिनुपर्छ त्यसो खर्च क्यान्डिडेटले नै बेहोर्नुपर्छ । यसको आधारमा मात्र उनीहरू जागिर पाउने हुनाले उनीहरूले बेहोर्नुपर्छ । यो उनीहरूको योग्यताको प्रमाणपत्र भएकोले खर्चनु परेको हो, बाँकी जुनसुकै कर, भाडा लगायतका खर्च कम्पनीले नै बेहोर्छ ।

अन्त्यमा केही भन्नुहुन्छ ?

नेपाली नर्स आफ्नो जागिर छैन भनेर आत्तिनुपर्ने अवस्था छैन । नेपाली नर्स दुर्गम, सुगम जुनसुकै ठाउँमा भएका, आर्थिक रुपमा कमजोर छु भन्ने लागेका जोकोहीले सामान्य सम्पर्ककै आधारमा हामीले निशुल्क रूपमा मानस्लुले पठाउँछ । त्यतिमात्र होइन गएको दुई वर्षको कानूनी ग्यारेण्टी हामीले लिन्छौं । आवश्यकताको आधारमा उहाँहरूको रुचीको आधारमा समय थप गर्न पनि सक्नुुहुन्छ ।

 

 

You might also like

Comments are closed.