सहकारी संस्था दिगो हुने सात आधारहरु

भीम गुरुङ प्रमुख कार्यकारी अधिकृत, पोखरा रोयल साकोस

(सन्दर्भ १०१औं अन्र्तराष्ट्रिय सहकारी दिवस २०२३)

हरेक वर्षको जुलाई महिनाको पहिलो शनिबार विश्वभर अन्र्तराष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ । सहकारी अभियान विश्वको सबैभन्दा पुरानो र ठूलो सञ्जाल भएको सामुहिक व्यवसाय समेत हो । आजभन्दा १०१ वर्ष अगाडि अर्थात सन् १९२२ बाट संयुक्त राष्ट्रसंघको अगुवाईमा संसारभर सहकारी दिवस धुमधामका साथ मनाउदै आईरहेको हो । दिवसका दिन खासगरि सहकारी अभियानको तर्फबाट भए गरेका असल अभ्यासहरुको चर्चा परिचर्चा, सहकारीले विश्व मानचित्रमा खेलेको भूमिका, दिगो विकास र मानव विकासको क्षेत्रमा यसको महत्व, सहकारी ब्राण्डका उत्पानहरुको प्रर्दशनी, बजारीकरण र विक्रीवितरण, सहकारी क्षेत्रको समसामयिक समस्या, कारण र समाधानका उपायहरु साथै भावी दिनमा यसले खेल्नुपर्ने भूमिका लगायतका विषयहरुमा वहस पैरवी र अन्तरकृया हुने गरेको छ ।

यस वर्ष दिगो विकासको लागि सहकारी भन्ने मूल थिमका साथ विश्वभर यो दिवस मनाईदैछ । सन् १८४४ मा बेलायतको रोचडेल शहरबाट २८ जना औद्योगिक मजदुरहरुबाट शुरु भएको सामुहिक अभियान यतिखेर विभिन्न मुलुकको आर्थिक विकासको उपयुक्त मोडलको रुपमा विकास भईरहेको छ । बेलायतको कोअपरेटिभ युके,जापानको जेए, नोरिनचुकिन बैक, भारतको अमूल र इफ्को, फ«ान्सको क्रेडिट एग्रिकोल, क्यानाडाको डेष्डार्जिन र इजरायलको कृषि सहकारी अभियान जस्ता केहि नमूना सहकारी उधोगहरु बहुराष्ट्रिय कम्पनी भन्दा उपल्लो दर्जाको रुपमा स्थापित छन् । विश्वभरका ठूला ३०० सहकारीको तथ्याँक मात्र केलाउने हो भने पनि सहकारी मार्फत २८ करोड बढीलाई प्रत्यक्ष रोजगारी दिईरहेको छ । नेपालमा पनि सहकारी अभियानलाई तीन खम्बे अर्थतन्त्रको एउटा सवल खम्बाको रुपमा संविधानले अंगीकार गरेको छ । ७३ लाख भन्दा बढी मानिसहरु सदस्यको रुपमा आवद्ध भएको सहकारी अभियानमा ९३ हजार बढीले प्रत्यक्ष रोजगारी पाईरहेको छ । तर पछिल्लो समयमा सहकारीमा देखिएको छिटफुट समस्याले सहकारीको दिगोपनामा प्रश्नचिन्ह खडा भएको छ । आखिर सहकारी कसरी दिगो रुपमा सञ्चालन गर्न सकिन्छ ? यसको खास आधारहरु के रहेछन् भनेर अध्ययन गर्ने क्रममा सफल देखिएका सहकारीका गतिविधी, असल अभ्यास र उनीहरुको रणनीतिबाट सहकारी संस्था दिगो हुने केहि आधारहरुलाई बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।

१) सैद्धान्तिक रुपमा स्पष्टता
सहकारी क्षेत्रमा सबैभन्दा ठूलो समस्यको रुपमा देखिएको पाटो भनेको सैद्धान्तिक विचलन हो । सहकारी संस्था कस्को लागि खोल्ने हो, किन खोल्ने हो, कुन विषयको खोल्ने हो भन्ने विषयमा यसका परिकल्पनाकारहरु स्पष्ट हुन जरुरी छ । खोल्ने सहकारी, चलाउने कम्पनी, हुन पर्ने सहकारीकर्मी भयो साहुकारी । सहकारी भनेको सदस्यहरुको संस्था हो, यसलाई सदस्यबाटै नियन्त्रण गर्छ, सिद्धान्तत यो अरु कम्पनी र सामाजिक संस्था भन्दा फरक हो भन्ने कुरा बुझ्न जरुरी छ । यो नाफाको लागि मात्रै होईन, सेवाको लागि पनि हो भन्ने बुझेर मात्रै सहकारी अभियानमा आउनु पर्ने हुन्छ । बास्तवमा सहकारी अन्र्तराष्ट्रिय रुपमा मान्यता प्राप्त सिद्धान्त, मूल्य मान्यता र आदर्शमा संचालन हुन्छ भन्ने जानकारी हुने सहकारीहरु दिगो रुपमा अगाडि बढिरहेका छन् । तसर्थ सैद्धान्तिक स्ष्ष्टता यसको एउटा मूख्य आधारस्तम्भ हो ।

२) भिजनरी लिडरसिप
सहकारी संस्थालाई दिगो बनाउने अर्को महत्वपूर्ण आधार भनेको यसका संचालकहरु हुन् । सहकारी संस्थाका सदस्यहरुबाट आफ्नो प्रतिनिधीका रुपमा आवधिक निर्वाचन मार्फत सञ्चालकहरु निर्वाचित हुन्छन् । सञ्चालकहरुले सदस्यहरुको हित र दिगो सहकारी निर्माणका लागि भिजन मिसन तयार गर्ने, योजना तथा नीतिहरु निर्माण गर्ने र यसको कार्यान्वयनका लागि कर्मचारी परिचालन गर्न सक्नुपर्छ । सञ्चालकहरु नीति निर्माता हुन सदस्यहरुको पहरेदार हो, दैनिक व्यवस्थापनमा हस्तक्षेप गर्न हुदैन भन्ने कुराको समेत ख्याल राख्न सक्नुपर्दछ । आफ्नो कार्यकालमा संस्थालाई कुन उचाईमा स्थापित गर्ने, कति सदस्य बनाउने, वित्तीय रुपमा कति सुरक्षित र बलियो बनाउने भन्ने कुराको संचालकहरुमा हेक्का हुन जरुरी छ । वर्तमान सञ्चालकहरुले भावी नेतृत्व समेत तयार गर्दै सहकारीलाई पूस्तौ पुस्ता सम्म सहज रुपमा सञ्चालन हुने रोड म्याप तयार गरेर छोड्न सक्नुपर्दछ । सञ्चालकहरुले आफ्नो कार्यकाल पश्चात पनि निरन्तर योगदान गर्दै भावी पुस्ताप्रतिको चिन्ता र सरोकार राख्न सक्नुपर्छ अनि मात्र दिगो सहकारी निर्माणमा टेवा पुग्दछ ।

३) क्रियाशील सदस्य
सदस्यहरु सहकारीका मेरुदण्ड हुन् । यो विषय सहकारीका सदस्य र यसका नेतृत्व कर्ताले बुझ्न र बुझाउन जरुरी छ । ऋण लिन सदस्य बन्ने, नाफाको लागि सदस्य लिने वा बढी ब्याज पाउने लोभमा सदस्य बन्ने प्रवृत्तिले सहकारीहरुमा समस्या देखिएको छ । सदस्यलाई ग्राहकको रुपमा व्यवहार गर्ने, वार्षिक साधारण सभामा सहभागी नगराउने जस्ता रोग कतिपय संस्थामा देखिन्छ । तसर्थ सदस्यहरुलाई विभिन्न तालिम मार्फत क्रियाशिल गराउने, नियमित बचतमा सहभागी गराउने, सदस्य सहभागितामा नीति निर्माण गर्ने, ऋण सदुपयोगिता र यसको जोखमको बारेमा परामर्श सेवा दिने र सदस्यको हरेक सुख दुःखमा सहकारीले साथ दिने, सदस्य ग्राहक होईन मालिक हो भन्ने वातावरण सिर्जन गर्ने र सदस्यले पनि आफ्नो भूमिका र कर्तव्य पालना गर्ने हो सहकारी कहिल्यै पनि समस्यामा पर्दैन । सक्रिय सदस्य नै दिगो सहकारीको आधारस्तभ्म हो ।

४) कर्मचारी व्यवस्थापन र परिचालन
सहकारीलाई दैनिक रुपमा सञ्चालन गर्ने भनेको यसको व्यवस्थापनमा खटिने कर्मचारीहरु हुन् । कर्मचारीहरु दक्ष, कुशल, इमान्दार, सदस्यमैत्री र परिश्रमी हुन पर्दछ । सहकारी संस्थाको उद्धेश्य हासिल गर्न आवश्यक कर्मचारीहरुको व्यवस्थापन र परिचालन यसको अर्को महत्वपूर्ण पक्ष हो । आवश्यकता भन्दा बढी कर्मचारी, आम्दानी भन्दा बढी खर्च गर्ने, क्षमता भन्दा बढी अधिकार प्रत्यायोजन र कर्मचारीको बोझ मिलाउन सकिएन भने संस्था अधोगति तर्फ जाने खतरा हुन्छ । तसर्थ कर्मचारी र कामको तादम्यता मिलाउदै कर्मचारीहरुलाई दिगो रुपमा संस्थामा स्थापित गर्न सक्ने वातावरण कायम गर्ने र श्रम ऐनको पालनामा ध्यान दिन सकियो भने कर्मचारी र संस्थाको दिगोपनाको कल्पना गर्न सकिन्छ । तसर्थ सहि कर्मचारी, सहि समयमा सहि पदमा नियुक्ती गरि परिचालन गर्नु दिगो सहकारी निर्माणको अर्को आधारशिला हो ।

५) सुशासन र सहकार्य
सुशासन सहकारी सञ्चालनको एउटा अपरिहार्य शर्त हो । सञ्चालक समितिले प्रचलित ऐन कानूनको अधिनमा रहेर संस्थाको दैनिक प्रशासन सञ्चालनको लागि न्यूनतम नीति तथा कार्यविधी निर्माण गर्नुपर्दछ । यिनै नीति विधीका आधारमा संस्था संचालन गरिनुपर्दछ । हाल समस्यामा परेका सहकारीको अवस्था हेर्दा सुशासनको न्यूनतम शर्तहरु समेत पालना गरेको पाईदैन । जिम्मेवारीपन, पारदर्शिता, जवाफदेहिता, कर्तव्यपालनको विषयमा चुकेकै कारण धेरै संस्थाहरु धरापमा परेका छन् । नीति भन्दा नेता प्रधान गतिविधीले वित्तीय अपराध मौलाउनुका साथै वित्तीय अनुशासन उल्लंघन भएको थुप्रै घटनाहरु नेपाली सहकारी अभियानमा व्याप्त छन् । यस्ता गतिविधीले सहकारीलाई दिगोपन होईन, क्षणभरमै समाप्तिको बाटोतिर पुर्याउँदछ । अर्को कुरा सहकारीका संघहरु र नियामक निकायसंगको नियमित र अर्थपूर्ण सहकार्यले सहकारीलाई मार्गदर्शन र निर्देशन गर्ने हुँदा यस्ता सहकार्यले सहकारीको दिगोपना र स्तरीयतामा समेत सहयोग गर्दछ ।

६) नविन प्रविधि र परियोजना
समय परिवर्तनशील छ । परिवर्तित समयसंगै द्रुत गतिमा नविन प्रविधीको विकास भईरहेको छ । यो नविन प्रविधिलाई प्रतिस्पर्धी रुपमा अंगीकार गर्दै संस्थामा भित्रयाउन सक्ने संस्थाहरु नै अब्बल देखिदै आएको छ । संस्थामा नविन वस्तु तथा सेवाको विकास गरि प्रविधिमैत्री सेवाको विकास गर्दा नयाँ सदस्य र युवा वर्गलाई आकर्षण गर्न सकिन्छ । नयाँ र युवा सदस्यहरुको आगमनले संस्थालाई दिगो रुपमा सञ्चालन गर्न मद्धत गर्नेछ । त्यसरी नै सदस्यहरुको माग र चाहना बमोजिम नयाँ नयाँ परियोजनाहरु निर्माण र सञ्चालनले सहकारीलाई अग्रगतितिर डोहोर्याउछ । संस्थाले दीर्घकालिन योजना, रणनैतिक योजना र वार्षिक योजनाहरुलाई समय सापेक्ष विकास र विस्तार गर्दै जानु पर्दछ ।

७) समुदाय केन्द्रित गतिविधी
सहकारी संस्थाहरु समुदायमा आधारित हुन्छन् । समुदायको हरेक क्षेत्रमा सहकारीको उपस्थिति रहनु पर्दछ । जुन सहकारीले समुदाय केन्द्रित गतिविधीलाई प्राथमिकता राखेको हुन्छ, त्यहि सहकारीले समुदायको साथ प्राप्त गरेको हुन्छ । समुदायले साथ दिएको संस्था नै दिगो रुपमा सञ्चालन हुने गर्छ । खास गरि सहकारीका सात सिद्धान्त मध्ये सातौ नम्बरमा रहेको समुदायप्रति चासोमा रहेर समाजमा रहेका हरेक क्षेत्र र वर्गसंग समन्वयात्मक ढंगबाट संस्थाले आर्जन गरेको नाफा मध्ये केहि प्रतिशत सदस्य र समुदायको हित तथा संरक्षणका लागि विविध गतिविधी सञ्चालन गरिनु पर्दछ । यस्ताखाले गतिविधीले संस्थालाई समुदायमा परिचित गराउने र समुदायको हरेक नागरिकलाई सहकारीको सदस्य बनाउन मद्धत गर्दछ । व्यक्ति, परिवार, समूह, समाज र समुदायमा केन्द्रित हुदै सबैलाई समेट्न सकेको अवस्थामा मात्रै सहकारीको दिगो भविश्यको कल्पना गर्न सकिन्छ ।

lcci
You might also like

Comments are closed.