म सन् २०१३ देखि २०१५ सम्म थाइल्याण्ड बसेको थिएँ । एक दिन घुम्न जाँदा गाइडले घुमाउँछौं भनेर लग्यो । उसले लगेको झरना हाम्रो पाखापखेरोको खोल्सा जति उचाइका पनि थिएन । उनीहरुले यसरी ब्राण्डिङ गरेको छ कि पर्यटक त्यति हेर्न भए पनि पुग्छन् । त्यो भनेको हामीले कस्तो मार्केटिङ गर्ने, के देखाउने, कहाँ लैजाने भनेर योजना बनाउनुपर्छ । नयाँ पञ्चवर्षीय योजनामा हामी विज्ञसँग छलफल गरेर पर्यटनको विषय अवश्य समेट्ने छौँ ।
लेकसाइड अहिले ‘एकसाइड’मात्र छ । एउटा भागमा पर्यटकको आकर्षण छ अर्को भागमा घना जंगलमात्रै छ । पारिपट्टि सडक बनाउने भनेको होइन, फुट ट्रयाक बनाउने योजना छ । त्यसैले अहिले प्रदेश सरकारले ‘राउण्ड फेवा, भिउ फेवा’ अवधारणा ल्याएका छौं । यसको सम्भाव्यता अध्ययन गर्ने भनेका छौं ।
विदेशतिर दिनभर घुमेपछि बेलुका एक ठाउँमा ल्याएर छोडिन्छ । जहाँ त्यहाँको स्थानीय उत्पादन हेर्ने र स्वदेश फर्कंदा किनेर फर्किइन्छ । यसले स्थानीय उत्पादनको प्रवद्र्धन गर्छ । हामी पनि पोखरामा कोसेली घर बनाउने योजना नीति तथा कार्यक्रममा छ ।
गण्डकी प्रदेशमा धार्मिक तीर्थस्थल पनि छन् । मुक्तिनाथ, मनकामनाजस्ता ठाउँको विकास होस् भनेर विभिन्न देशका धार्मिक गुरुलाई बोलाएर पर्यटन प्रवद्र्धन गर्ने कुरा नीति तथा कार्यक्रममा राखेका छौं ।
हामीले एउटा निर्वाचन क्षेत्रमा एउटा होमस्टे बनाउने भनेका छौं । होमस्टेमा विकृति भयो भन्ने प्रश्न पनि उठेको छ । दुई वटा टहरा बनाएर, पोखराबाट सामान लगेर बेच्ने गरिन्छ । स्थानीय उत्पादनको प्रयोग नै नहुने ठाउँलाई नियन्त्रण गर्न जरुरी छ ।
स्थानीय उत्पादनको प्रयोग गरेर चलेका छन् भने त्यस्ता ठाउँलाई संरक्षण गर्न पनि पर्छ । गाउँकै चामलको भात, लोकल कुखुरालाई जोड दिने होमस्टे चलाउन आवश्यक छ । कास्कीमा धेरै होमस्टे छन्, तर ती सबै होमस्टेमा स्थानीय उत्पादन छन् त ? छ जस्तो मलाई लाग्दैन । अन्तर्राष्ट्रिय स्तरका पेय पदार्थलगेर बेचिन्छ । घरबास हो भने गाउँकै उत्पादन हुनुपर्छ ।
लाओस, कम्बोडिया, भियतनाम जाँदा मैले त्यहाँको स्थानीय स्वाद आउने ठाउँ जान चाहन्थेँ । त्यसै त्यहाँ ६० लाख पर्यटक गएका छैनन् । भियतनाममा त झन् त्योभन्दा धेरै जान्छन् । हाम्रो हिमशृंखला बिर्सिने हो भने ती देश हाम्रोजस्तै हो । हामीकहाँ त सबैभन्दा ठूलो कुरा हिमाल छ । स्थानीय उत्पादन खोज्ने पर्यटकलाई ल्याउन, स्थानीय उत्पादनको बजारीकरण होस् भनेर होमस्टे प्रवद्र्धन गर्न खोजेका छौं । पहिलाजस्तो जथाभावी अनुदान दिने भन्ने होइन ।
हामीकहाँ पर्यटकीय स्थल प्रशस्त छन् । दुई हप्ता लगाएर घुम्न चाहनेहरु बाटो सुविधा पुग्दा अरु देशका गन्तव्य खोज्न थालेका छन् । १०–१५ दिन हिँड्छौं भन्नेलाई पनि नयाँ पदमार्ग खोजेर त्यसको पूर्वाधार विकास गर्ने हाम्रो अर्को प्राथमिकता रहन्छ ।
पर्यटक हिँडेरमात्रै हुँदैन, सुविधा पनि हुनुपर्छ । लिगलिगकोट, राइनासकोटजस्ता कोट, पदमार्ग हिँड्दै गर्दा स्थानीय मुहानको प्रयोग होस् भनेर बजेटमा तर्जुमा गरेका छौं । अब हामीले बनाउने पञ्चवर्षीय योजनामा पर्यटन क्षेत्रको स्पष्ट गुरुयोजना आउने किसिमले काम गर्ने छौं र पर्यटनसँग सम्बन्धित नीतिमा पर्यटन व्यवसायी जोडिने, देखिने किसिमले बनाउने छौं ।
(प्रदेश नीति तथा योजना आयोग, गण्डकीका उपाध्यक्ष डा. देवकोटाले आर्थिक आवाजले असार १७ गते पोखरामा आयोजना गरेको दीगो पर्यटन र विकास विषयक अन्तक्र्रियामा व्यक्त गरेको विचार ।)
Comments are closed.