प्राकृतिक चिकित्सामा फर्कने हो भने दीर्घ रोगबाट छुटकारा पाइन्छः डा. दीपा पाण्डे

डा. दीपा पाण्डे, मेडिकल डाइरेक्टर, स्केभिन नेचर केयर हस्पिटल प्रा.लि.

स्केभिन नेचर केयर हस्पिटल प्रा.लि.का मेडिकल डाइरेक्टर डा. दीपा पाण्डे प्राकृतिक उपचार पद्धतिमा एम डी गर्ने नेपालमा नै पहिलो र एकमात्र महिला डाक्टर हुन् । ललितपुरको बागडोलमा उनको नेतृत्वमा यो हस्पिटल सञ्चालन भइरहेको छ । यो हस्पिटलमा उपचार गर्न देशभरबाट बिरामीहरु आउने गरेका छन् । यसैक्रममा प्राकृतिक उपचार पद्धतिको महत्व र आकर्षण, हस्पिटलबाट प्रदान हुने सेवा सुविधा लगायत विषयमा केन्द्रित रहेर पाण्डेसँग आर्थिक आवाजले गरेको कुराकानीः

स्केभिन नेचर केयर हस्पिटल प्रा.लि.मा बिरामीको उपचार कसरी हुन्छ ?

ललितपुरको बागडोलमा रहेको स्केभिन नेचर केयर हस्पिटल प्रा.लि. २०५९ सालमा स्थापना भएको हो । शुरुमा क्लिनिकको रुपमा यसलाई स्थापना गरेका थियौं । २०६९ सालमा हस्पिटलमा स्तरवृद्धि गरी सञ्चालन गरिरहेका छौं । काठमाडौंमा नै पहिलो पटक हामीले इन्टिग्रेटेड एप्रोचमा यसलाई सञ्चालन गरेका हौं । बिरामीबाट सकारात्मक प्रतिक्रिया पाउन थाल्यौं र उहाँहरुकै आग्रहमा हस्पिटलको रुपमा यसलाई विकास गरेका हौं । हामीले कम्प्लिट ड्रगलेस थेरापी मार्फत सेवा प्रदान गरिरहेका छौं । प्राकृतिक चिकित्सा भन्ने वित्तिकै कुनैपनि औषधिको प्रयोग तथा चिरफार नगरिकन गरिने उपचार पद्धति भन्ने बुझिन्छ । हाइड्रो थेरापी, फास्टिङ थेरापी, योगा थेरापी, म्यानेटो थेरापी, अकुपंचर थेरापी, फिजियो थेरापी लगायतका विभिन्न किसिमका उपचार पद्धतिमार्फत यहाँ उपचार हुन्छ ।

एलोपेथिक र प्राकृतिक उपचार पद्धतिमा कस्तो फरक छ ?

एलोपेथिक र प्राकृतिक उपचार पद्धतिमा धेरै फरक छ । एलोपेथिकमा औषधिको प्रयोग हुन्छ, प्राकृतिक चिकित्सामा औषधिको प्रयोग हुँदैन । बिरामीहरु विभिन्न अस्पताल गएर विभिन्न औषधीहरु प्रयोग गरिसकेपछि निको नभएमा बल्ल हाम्रोमा आउने गरेको पाइन्छ । यो ज्ञान नभएर पनि हो भन्ने मलाई लाग्छ । केले गर्दा ठिक हुन्छ भन्ने कुराको ज्ञान पनि हुनुपर्छ । हामीले पहल नगरेर सर्वसाधारणाई बुझाउन नसकेर पो होकि भन्ने पनि लाग्छ । मानिसलाई रोग लाग्ने वित्तिकै प्राकृतिक चिकित्सातर्फ लाग्नुपर्छ र भएन भने मात्र एलोपेथिक उपचारमा जानुपर्छ भनेर बुझाउन अझै समय लाग्छ होला । हामी एलोपेथिकको विरोधमा जान खोजेको भने होइन । इमर्जेन्सी कन्डिसन, इन्फेक्टियस कन्डिसनमा हामीले एलोपेथिक उपचारको साथ लिनैपर्छ । हाम्रो जीवनशैलीलसँग सम्वन्धित केसहरुका लागि प्राकृतिक उपचार पद्धति नै उपयुक्त हुन्छ । एलोपेथिक डाक्टरहरुले पनि लाइफस्टाइल, योगाहरुलाई अनुशरण गरेको देख्न सकिन्छ ।

प्राकृतिक उपचार पद्धति लाइफस्टाइलसँग कत्तिको सम्बन्धित छ ?

लाइफस्टाइलसँग सम्वन्धित सुगर, प्रेशर लगायतका रोगलाई योग तथा प्राकृतिक उपचार पद्धतिले धेरै राम्रो गरेको देख्न सकिन्छ । खानपिन, लाइफस्टाइल मोडिफिकेसनमा हामी जान्छौं । कस्तो खाना खाने, बिहान उठेदेखि बेलुका सुत्नेबेलासम्म लाइफस्टाइल कस्तो हुनुपर्छ भन्ने कुराको जानकारी दिन्छौं । हामी शरिरको सर्भिसिङमा जान्छौं । प्राकृतिक चिकित्सा भनेकै होल वडी सर्भिसिङ हो । टाउकोदेखि खुट्टासम्मको सर्भिसिङमा जान्छौं । हाम्रोमा सुगर, प्रेशर, बाथ रोग, माइग्रेन, पिनास, दम, नशा च्यापिएको, हड्डी खिइएको लगायतका बिरामी आउनुहुन्छ । उहाँहरुलाई हामीले प्राकृतिक उपचारबाट निको बनाएका छौं ।

दीर्घ रोगीका लागि प्राकृतिक उपचार पद्धति बढी प्रभावकारी हो ?

अवश्य पनि हो । होलवडी चेकअप भनेर विभिन्न प्याकेजमा सम्पूर्ण शरिरको जाँच गर्छौं । तर, आफ्नो शरिरको होल बडी सर्भिसिङ गर्नुपर्छ भन्ने ज्ञान नै आम मानिसमा छैन । हाम्रो शरिर २४सै घन्टा चलिराखेको हुन्छ । हामीले गाडी, बाइकहरुको त सर्भिसिङ गर्छौं तर आफ्नै शरिरको बेवास्ता गरिराखेका छौं । हाम्रो शरिरलाई पनि निरन्तर राम्रोसँग काम गर्ने तन्दुरुस्त बनाउन, निरोगी हुन, रोगप्रतिरोधात्मक क्षमता बढाउन होल बडी सर्भिसिङ गर्न अत्यन्त जरुरी छ । उपचार गर्ने तर होल बडी सर्भिसिङ गर्नुपर्छ भन्ने सोचको विकास अहिलेसम्म भएको छैन । अब यस विषयमा आम मानिस गम्भिर बन्न जरुरी छ ।

त्यसैगरी हाम्रो शरिरलाई निरोगी बनाउनको लागि होलबडी सर्भिसिङको आवश्यकता छ र प्राकृतिक चिकित्सा भनेकै होलबडी सर्भिसिङ हो जहाँ कुनै किसिमको औषधि प्रयोग हुँदैछ । खाना, फास्टिङ, केइयासहरुले इन्टरनल (भित्री) सर्भिसिङ गर्छ भने अरु प्राकृतिक उपचारहरुले एक्टर्नल (बाहिरी) सर्भिसिङ गर्छ । त्यसैले यदि हामी निरोगी बन्न चाहन्छौं भने हामी प्रकृतिको नजिक जानैपर्छ । जति हामी प्रकृतिको नजिक जान्छौं त्यति नै रोगबाट टाढा हुन्छौं र जति हामी प्रकृतिबाट टाढा जान्छौं उति नै रोगबाट नजिक जान्छौं । यति यथार्थतालाई मध्यनजर गर्दै हामीले ‘रिटर्न टु नेचर’ भन्ने कुरालाई अंगाल्न जरुरी छ ।

त्यस्तै रिटर्न टु नेचर भनेजस्तै गरी प्राकृतिक चिकित्सामा फर्कने हो भने दीर्घ रोगबाट छुटकारा पाइन्छ । सुगर प्रेसरका बिरामीलाई केही समयसम्म उपचार गर्ने तर पछि आफ्नो जीवनशैलीमा फर्कन वा उपचारपछि घरमा गएर पुरानै लाइफस्टाइलमा जाने हो भने निको हुँदैन । खानपानको शैलीमा पनि परिर्वतन जरुरी छ । यहाँ सिकेको कुरालाई प्रयोगमा ल्याउनुपर्छ । हामी यहाँ बिरामीलाई जीवनउपयोगी ज्ञान दिन्छौं ।

औषधी सेवन गरिरहेका बिरामीले प्राकृतिक उपचार सुरु गरेपछि त्यो औषधी छोड्न पनि सक्छन् ?

औषधि एकैचोटी छोड्न भने मिल्दैन । स्टेप वाई स्टेप कम गर्दै लैजाने हो । छोड्न मिल्ने अवस्था छ भने छोड्न सकिन्छ तर कतिपय अवस्थामा पुरै छोड्न नमिल्ने पनि हुन्छ । औषधि छोडनु अगाडि पनि धेरै ध्यान दिनुपर्ने हुन्छ ।

स्केभिन नेचर केयर हस्पिटलमा उपचार गरेका बिरामीहरुको रिजल्ट कस्तो छ ?

हड्डी खिइएको, नशा च्यापिएको, बिरामीहरुमा धेरै राम्रो रिजल्ट आएको छ । एलोपेथिक हस्पिटलमा जाँदा यस्ता समस्यालाई अपरेसनका लागि सिफारिश गरिन्छ । २० वर्षको अवधिमा हामीले हड्डी खिइएका र नशा च्यापिएका धेरै बिरामीलाई उपचार गरेर सञ्चो पनि बनाएका छौं । उहाँहरु मार्फत धेरै भन्दा धेरै बिरामीहरु आउनुभएको छ । एकजना बिरामीले नै करिव १ सय जना अन्य बिरामी पठाइसक्नुभएको छ । हामीले प्रतिक्रिया पनि धेरै राम्रो पाएका छौं । अन्य दीर्घ रोगीहरुको पनि ओपिडी चेकअपमा आउने र यहाँ उपचार गर्ने क्रम बढ्दो छ । यहाँ हामीले पूर्ण पारिवारिक वातावरणमा स्तरीय सेवा प्रदान गर्न सफल छौं । नेपालमा ठीक नभएर उपचारका लागि विदेश जानलाग्नुभएको बिरामी समेत यहाँ आएर सञ्चो भएको धेरै उदाहरणहरु छन् ।

यो उपचार पद्धति कत्तिको महंगो छ ?

अन्य हस्पिटलको तुलनामा हाम्रो हस्पिटल सस्तो छ । अपरेसन गर्ने हो भने त्यहाँ लाग्ने खर्च भन्दा यहाँ धेरै कम लाग्न सक्छ । बिरामीको केस हेरेर उपचारका लागि कति समय र खर्च लाग्छ भन्ने कुरा निर्धारण हुन्छ । शुरुको अवस्थामा छ भने २/३ दिनमा नै ठिक हुन्छ । लामो समयको पुरानो धेरैथरी रोग छ भने निको हुनलाई समय बढी लाग्न पछि सक्छ ।

यो उपचारमा जनशक्तिको अवस्था कस्तो छ ?

हामीले पहल गरिराखेका छौं । यस अघि संस्कृत युनिभर्सिटी दाङको पहलमा पाठ्यक्रम तयार त भयो तर पढाई सुरु हुनै सकेन । अहिले फेरि मनमोहन टेक्निकल युनिभर्सिटीको प्रयासमा पाठ्यक्रम तयार हुँदैछ । जसमा म लगायत अन्य विज्ञहरु पनि हुनुहुन्छ र हामीलाई आशा छ अब चाडै नै बिएनवाईएस नेपालमा नै पढ्ने अवसर मिल्नेछ । सरकारस्तरबाट पनि यसको लागि पहल गर्नु पर्ने छ । छिमेकी राष्ट्रमा आयुस मन्त्रालयनै छुट्टै बनाएको छ जसमा आयुर्वेद, योगा  र न्याचुरोपेथी, युनानी, सिद्ध होमियोप्याथी सबैलाई एउटै छातामुनी राखिएको छ । अब नेपालमा पनि त्यही कन्सेप्टमा अगाडि बढ्नुपर्छ अनिमात्रै यो फिल्डको विकास हुन्छ । हालै काठमाडौं महानगरपालिकाले पहिलो पटक थुप्रै फिल्डको विज्ञको लागि नोटिस निकालेको छ । जहाँ यो क्षेत्रलाई पनि समेटिएको छ । आशा छ यो एउटा राम्रो प्रयास हुनेछ ।

तपाईं यो उपचार पद्धतिमा लाग्न कसरी आकर्षित हुनुभयो ?

यस उपचार पद्धतिमा एम डी गर्ने नेपालमा नै पहिलो र एकमात्र महिला म हुँ । विवाह भएर बच्चाहरु जन्मिसकेपछि मैले यस विषयको बारेमा थाहा पाएको हुँ । मेरो पढाईको ब्याकग्राउण्ड ह्युम्यानिटिज थियो । मैले ल्याब एसिस्टेन्ट नेशनल मल्टीपल कलेजबाट पढेँ । मेरो माक्स राम्रो आएको देखेपछि कलेजका प्रिन्सिपल डा. जगदिश वैद्य सरसहित अन्य साथीहरुले पनि डाक्टर बन्ने सल्लाह दिनुभयो । पछि मैले सोही कलेजबाट साइन्स लिएर प्लस टु पास गरेँ र भारतको बैंंङलोरस्थित राजीबगान्धी युनिभर्सिटीबाट बिएवाइएस (ब्याचलर इन न्याचुरोपेथी एण्ड योगिक साइन्स) र सोही युनिभर्सिटीबाट एमडी (क्लिनिकल न्याचुरोपेथी) गरेँ । त्यसपछि नेपाल फर्किएँ । भारतमा पनि मलाई कामका लागि धेरै अफर आएको थियो । तर, आफ्नै देशमा गएर यही क्षेत्रमा काम गर्ने सोच आयो ।

अन्त्यमा के भन्नुहुन्छ ?

धेरै बिरामी भएपछि मात्र अस्पताल जाने तर छिटो रिजल्ट खोज्ने बानी नेपालीमा छ । ओच्छ्यनमा नै पर्छु कि भन्ने अवस्था आएपछि मात्र अस्पताल जाने गरेको पाइन्छ । क्रोनिक रोग छ भने रिजल्ट फास्ट खोज्ने बानी छ । अब हामीले हाम्रो जीवनशैली र उपचार शैलीमा पनि परिवर्तन ल्याउन जरुरी छ । प्राकृतिक चिकित्सामा महत्वपूर्ण सिद्धान्तमा खाना नै औषधि र औषधि नै खाना हो भनिन्छ । यदि मिलाएर खाएको खानाले औषधिको काम गर्छ भने मिलाएर खाना खान जानेन भने त्यहि खानाले बिषको काम गर्छ । त्यसैले कुन समयमा कस्तो खाना खाने, कुन समयमा कस्तो खाना नखाने भन्ने कुराको जानकारी लिनु अतिनै आवश्यक छ । त्यसैले यसतर्फ चासो बढाएर प्राकृतिक उपचार पद्धतिलाई प्राथमिकतामा राख्न जरुरी छ । यो उपचार पद्धतिको महत्व आम मानिसलाई बुझाउनुपर्ने दायित्व पनि छ । हामी पनि त्यही अभियानमा अग्रसर भएर लागिरहेका छौं ।

lcci
You might also like

Comments are closed.