पोखरा । क्यान महासंघ कास्कीको १६औं वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ । क्यान कास्कीका अध्यक्ष दुधमान गुरुङ (आशिष)को अध्यक्षतामा तथा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय गण्डकीका प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रमुख अतिथि बस्नेतले सरकारले सूचना तथा प्रविधिको क्षेत्रलाई सधैं प्राथमिकतामा राख्दै आएको बताइन् । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापती, क्यान महासंघ नेपालका केन्द्रीय सदस्य चिन्तामणि बास्तोला, पूर्व अध्यक्ष ईविन्द्रराज तिवारी, उपाध्यक्ष पुरुशोत्तम कुँवर, सचिव महेन्द्र भुर्तेल, सहसचिव सुरेश सापकोटा लगायतले बोलेका थिए । साधारणसभा अन्तर्गत बन्द सत्रमा सचिव, कोषाध्यक्ष, लेखासमिति र शिक्षा समितिको प्रतिवेदन सर्वसम्मत पास भएको छ ।
त्यसैगरी वार्षिकोत्सवको पूर्व सन्ध्यामा क्यान महासंघ कास्की र आइसिटी सहकारीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा ३२ युनिट रगत संकलन भएको सहकारी अध्यक्ष शबी शेरचनले जानकारी दिइन् ।
क्यान महासंघ कास्कीले सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान लगायतका कार्यक्रम गर्दै आइरहेको अध्यक्ष गुरुङले जानकारी दिए । ‘सूचना तथा प्रविधिको विकासका क्षेत्रमा क्यानको चासो र सक्रियता सधैं छ र हामी सामाजिक काममा पनि सक्रिय छौं,’ उनले भने ।
Comments are closed.