‘वुमन इन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ ५ चिकित्सकलाई प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चिकित्सक संघले घोषणा गरेको यस वर्षको ‘वुमन इन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ पाँच जना चिकित्सकलाई प्रदान गरेका छन। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा सम्मानित हुनेहरुमा डा. अर्चना अमात्य, डा. गीता शाक्य, डा. मीता सिंह, डा. कोकिला वैद्य र डा. प्रमिला प्रधान छन् ।

यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलले संघले प्रदान गर्ने ‘लाइफ टाइम अचिभमेण्ट अवार्ड’ डा. दिव्यश्वरी श्रेष्ठ, डा. लता बज्राचार्य, डा. शोभा अर्याल, डा. कस्तुरी मल्ल र डा. गीता कार्की रानालाई प्रदान गरे । उनिहरुले नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा पुरयाएको योगदानको कदर गर्दै संघले सो सम्मान गरेको हो । उनिहरुलाई ट्रफी, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य र शिक्षा जस्ता संविधानले नै नागरिकको मौलिक हकका रुपमा व्यवस्था गरेको विषयका आधारभूत सेवालाई प्रभावकारी रुपमा कार्यान्वन गर्न सरकार सदैव प्रयत्नशील रहेको बताए ।

उनले स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रमा पर्याप्त दरवन्दी आवश्यक रहेको र मुलुकमा आवश्यक स्वास्थ्य सम्बन्धी जनशक्ति तयार गर्न बेलैमा ध्यान दिन सक्नुपर्ने बताए । कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्की र सम्मान छनौट समितिका संयोजक किरण रेग्मीले पनि संघले गर्दै आएका कार्यबारे प्रकाश पारेका थिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.