पर्वत । निर्धारित मितिभन्दा झण्डै तीन महिनासम्म पनि नगरसभा नहुँदा पर्वतको कुश्मा नगरपालिकाभित्र रहेका १८ स्वास्थ्य संस्था औषधिविहीन बनेका छन् । जिल्लाको सदरमुकामसमेत रहेको कुश्मा नगरपालिकाको नगरसभा नहुँदा सबैभन्दा बढी स्वास्थ्य क्षेत्र प्रभावित बनेका हुन् ।
असार १० गतेभित्र गर्नुपर्ने नगरपालिकाको सभा असोज पहिलो सातासम्म पनि हुनसकेको छैन । सभाबाट बजेट पारित नहुँदा नगरभित्र रहेका १४ वटै वडाका स्वास्थ्य संस्थामा औषधि खरिद गर्न नसकिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यमप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार नगरभित्र रहेका स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र गरी १८ स्वास्थ्य संस्था औषधिविहीन बनेका छन् ।
ती स्वास्थ्य संस्थामा उपचारका लागि जाने बिरामीले औषधि नपाएर रित्तै हात फर्कनुपरेको छ । सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क पाइने औषधि पनि सेवाग्राहीले निजी क्लिनिकमा पुगेर महँगो मूल्यमा खरिद गर्ने गरेको कुश्मा नगरपालिका–१२ ठूली पोखरीका अहेब पठी धामीले बताए ।
स्वास्थ्य संस्थाबाट २८ किसिमका औषधि निःशुल्क पाउने व्यवस्था सरकारले गरेको शाखा प्रमुख शर्माले बताए । उनका अनुसार गत आर्थिक वर्षमा खरिद गरेको औषधि सकिएको छ । उनले सबै स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्य औजार नभएको गुनासो आएपनि पठाउन नसकिएको बताए ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शर्माका अनुसार नगरसभा अवरुद्ध हुँदा सुरक्षित मातृत्व तथा सुत्केरी, स्वास्थ्य शिक्षा, महामारीविरुद्धको कार्यक्रम, महिला स्वास्थ्य स्वयमंसेविकालगायत २० प्रकारका महत्वपूर्ण स्वास्थ्य कार्यक्रम ठप्प बनेका छन् ।
स्वास्थ्य क्षेत्रमा केन्द्रबाट आउनुपर्ने अनुदान रकम तलबभत्ता बापतको रू चार करोड ५० लाख र स्वास्थ्य कार्यक्रमबापतको रू तीन करोड रकम आइसकेको उहाँले जानकारी दिनुभयो । रकम आइसके पनि नगरसभा हुन नसक्दा कुनै काम गर्न नसकिएको उहाँको भनँइ थियो ।
नगर स्वास्थ्य शाखाका अनुसार जिल्ला अस्पतालबाहेक चार स्वास्थ्य संस्थाबाट प्रसूति सेवा दिइन्छ । ठूली पोखरी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख भीमकुमारी शर्माले सुत्केरीले पाउनुपर्ने रकम आफूले खल्लीबाट दिने गरेको बताइन् ।
आर्थर स्वास्थ्य चौकीका इन्चार्ज चन्द्रकान्त गौतमले ज्वरो, रुघाखोकीका कारण बिरामीको चाप बढ्दै गएको बताउँदै औषधि अभाव हुनाले बिरामीलाई निःशुल्क दिइने औषधि पनि दिन नसकिएको जानकारी दिइन् । उनका अनुसार स्वास्थ्य चौकीमा सामान्य रोगको औषधिसमेत छैन ।
स्वास्थ्य क्षेत्र मात्र नभइ कृषि, शिक्षा, महिला तथा बालबालिकालगायत अन्य विकास निर्माणका कामसमेत प्रभावित बनेको वडाध्यक्ष तेजप्रसाद शर्माले बताए । सुत्केरीले यातायात खर्चबापत पाउनुपर्ने रू दुई हजार पछि नगरपालिकाबाट लिने गरी खल्तीबाट भुक्तानी गरिरहेको उनले जानकारी दिए ।
Comments are closed.