पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन-पोखरा सडक खण्डको निर्माण तत्काल सम्पन्न गर्न पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले आग्रह गरेका छन् ।
पूर्व खण्डको बाटोको निर्माण केही छिटो भएको र पश्चिम खण्डको काम निकै सुस्त गतिमा भएको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् ।
‘पश्चिम खण्डको बाटोमा अझैपनि ८/९ प्रतिशत भन्दा बढी काम हुन सकेको छैन । हामी अब पश्चिम खण्डका योजना प्रमुख तथा ठेकेदारहरुसँग भेटेर छिटो बाटो निर्माण गर्न ध्यानाकर्षण गराउँछौं,’ उनले भने । छिटो भन्दा छिटो बाटो निर्माण सम्पन्न गर्न आवश्यक रहेको उनको भनाइ छ ।
लामो समयसम्म बाटोको निर्माण नहुँदा पोखरा लगायत देशभरको पर्यटनमा नकारात्मक प्रभाव परेको र यात्रु तथा स्थानीयले पनि धेरै सास्ती भोग्नु परेको उनको भनाइ छ ।
‘पोखरा पर्यटकका लागि प्रमुख गन्तव्य हो तर सडक व्यवस्थित नहुँदा धेरै पर्यटक अन्त डाइभर्ट भएका छन्,’ उनले भने ।
पूर्व खण्डमा ३ किमी सडक कालोपत्रे गर्ने काम भएको र उक्त क्षेत्रमा छिटो काम हुनेमा आफूहरु आशावादी रहेको पनि श्रेष्ठले बताए । ‘पश्चिम खण्डमा काम भएको छैन । यसबाट हामी चिन्तित छौं,’ उनले भने ।
Comments are closed.