पोखरा । पोखराको नयाँबजारस्थित प्रदर्शनीकेन्द्रमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेला परिसरमा आयोजित अटो मेलामा गाडी बुकिङ गर्दा विशेष छुट पाइने भएको छ ।
पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित मेलामा अटो मेलाको व्यवस्थापन पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)ले गरेको छ ।
अटो मेलामा २५ वटा स्टलहरु छन् । मेलामा सहभागी दर्शकहरुको विशेष आकर्षण अटो मेलामा देखिएको पोखरा उद्योग वाणिज्य संघका महासचिव एवं प्रचारप्रसार संयोजक बलराम आचार्यले जानकारी दिए । ‘मेलामा राखिएका सवारीतर्फ विद्युतीय गाडीमा विशेष आकर्षण देखिएको छ,’ उनले भने ।
मेलामा सहभागी भएर गाडी बुकिङ गर्ने ग्राहकले विशेष छुट प्राप्त गर्ने वाडाका उपाध्यक्ष एवं अटो मेला संयोजक दीपेन्द्र कोइरालाले जानकारी दिए । ‘मेलामा सहभागी ब्राण्डहरुको तर्फबाट विशेष छुट प्रदान भएको छ,’ उनले भने, ‘मेलामा गाडी बुकिङ गर्ने ग्राहकहरु विशेष लाभान्वित हुनेछन् ।’
अटो मेलामा भिजी सुजुकी, इसुजु, स्कोडा, महिन्द्रा, सुजुकी, टोयटा, किया, मनिटो, सेगवे, बिवाइडी, सेरेस, एमजी, एसआरएम, जिडब्लुएम, नेटा, किवाइसी किङ लङको सहभागिता छ । मेलाको मुख्य प्रायोजक लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी हुन्डाईले पनि आफ्ना गाडीहरु बिक्री तथा प्रदर्शनीमा राखेको छ । राजधानी पछिकै ठूलो अटो मेला पोखरामा आयोजना गर्न आफूहरु सफल भएको वाडाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए ।
यसैबीच प्रदर्शनीकेन्द्रमा मेला जारी छ । पुस १ गतेसम्म मेला जारी रहनेछ ।
Comments are closed.