देउखुरी (दाङ) । पछिल्लो समय दाङका मुक्त कमलरी महिला आफ्नै गाउँठाउँमा काम गरेर स्वरोजगार बन्दैछन् ।
घोराही उपमहानगरपालिका–२ निमुरियाकी विपती चौधरी पूर्वकमलरी हुन् । उनले कमलरीमुक्त भएपछि समूहमा आबद्ध भएर आयआर्जन गर्न तरकारी खेती सुरु गरेकी छन्। उनि गुरधौली कृषि महिला समूहको अध्यक्ष भएर काम गरिरहेकी छन् । “तरकारी खेती गरेको छु”, उनले भनिन्, “आफ्नै गाउँघरमा सानो लगानी गरेर आयआर्जनमा जोडिन पाउँदा धेरै खुसी छु ।”
मुक्तकमलरी विकास मञ्च र आइएम नेपालको सहयोगमा २५ महिलालाई समूहमा आबद्ध गराई तरकारी खेती, पशुपालन र बचत गर्ने तरिकाका बारेमा तालिमसमेत प्रदान गरिएको थियो । सो तालिम पछि उनले थोरै भएपछि बचत गर्नुपर्ने रहेछ र गाउँघरमा उत्पादन भएको बस्तु बिक्री गरेर पनि आम्दानी गर्न सकिन्छ भन्ने कुरा सिकेर अगाडि बढेको बताइन् ।
अहिले उनको बारीमा काउली, बन्दा, साग, सिमी र गोलभेडा लटरम्म फलेका छन् । मासिक रु ३० देखि ४० हजारको तरकारी बिक्री गर्ने गरेको उनले बताइन् । घरखर्चदेखि बचत गर्ने पैसा आफैँले तरकारी बिक्री गरेर कमाउने गरेको उनले सुनाइन् ।
घोराही–२ रामपुर पलासेका बिपना चौधरी जागरण महिला समूहको सदस्य हुन् । उनि पनि पूर्वकमलरी नै हो । उनले अहिले समूहमा मासिक रु तीन सय बचत गर्छिन् । समूहमा बचत गरेको पैसालाई घुम्ती कोषमार्फत सबै सदस्यले पालैपालो लैजाने गर्दछन् । उनले संस्थाद्वारा सञ्चालित कृषि र उद्यमशीलताको तालिम लिएकी छन् । तरकारी खेती गर्दा कसरी गर्ने, बीउ राख्दा केके कुरामा ख्याल गर्नुपर्छ भन्ने कुरा समूहमा बसेपछि थाहा पाएको उनले बताइन् ।
उनले घुम्ती कोषबाट पैसा ल्याएर व्यावसायिक बाख्रापालन गरेकी छन् । उनले एक बाख्राबाट सुरु गरेको व्यवसाय अहिले सात भएका छन् । उनले भनिन्, “दुई वटा खसी रु २०÷२० हजारमा दसैंमा बिक्री गरेको हो ।” यसैलाई व्यावसायिकरुपमा अगाडि बढाउने र ५० बाख्रा पु¥याउने लक्ष्य रहेको उनले बताइन् ।
घोराहीका नगरप्रमुख नरुलाल चौधरीले मुक्तकमलरी विकास मञ्चले महिलालाई आयआर्जनमा जोडेर राम्रो काम गरेको बताए । महिला सचेत भएमा बालविवाह न्यूनीकरण र लैङ्गिक हिंसा अन्त्यका लागि सकारात्मक प्रभाव पर्ने भएकाले स्थानीय तहले गर्ने गरेका काममा सहयोगीको भूमिका खेलेकामा प्रशंसा गरे । उनले पूर्वकमलरी आयआर्जनमा लागेर जीवन नै परिवर्तन गरेको र आत्मनिर्भर भएको देख्दा खुसी लाग्ने बताए ।
मञ्चले हाल घोराहीका वडा नं २, ४ र ८ मा आएइमको कार्यक्रम लागू गरेर महिलालाई स्वरोजगार बनाउन सहयोग गरेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालले मुक्त कमलरीको पुनःस्थापनाका लागि ज्ञान केन्द्रले ध्यान दिएको बताए । कृषिसम्बन्धी कार्यक्रममा मुक्त कमलरीलाई पनि जोड्ने गरेको बताए ।
तरकारी खेती गरेका मुक्त कमलरीलाई तरकारीमा लाग्ने रोग किराको घुम्ती शिविर राखेर जानकारी दिने, तरकारीको बीउ वितरण र किटनाशक औषधि सहयोग गर्ने गरेको उनले बताए । आयआर्जमा जोडिएर काम गर्न चाहने किसानका लागि सधैँ सकारात्मक भूमिका खेलेको उनले जानकारी दिए ।
विसं २०७० असार १३ गते नेपाल सरकारले कमलरीलाई मुक्त घोषणा गरेको थियो । मुक्त भएपछि कमलरी सङ्गठित हुनुपर्छ भन्ने उद्देश्य लिएर मुक्त कमलरी विकास मञ्च नामको साझा संस्था स्थापना गरेका थिए । मुक्त कमलरी आर्थिक समाजिकरुपमा सशक्त हुनुपर्छ भन्ने मान्यताका साथ ४२ वटा सहकारी र एक समूहमार्फत आयआर्जनका विभिन्न काम गरिरहेका छन् ।
सहकारीमा १४ हजार सात सय २१ जना सदस्य रहेका छन् । सहकारीबाट घुम्ती कोष अनुदान सहयोग लिएर तरकारीखेती, कुखुरापालन, बङ्गुरपालन, किराना पसल र नास्ता पसल सञ्चालन गरेर आयआर्जन गर्दै आएको मुक्त कमलरी विकास मञ्चका केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले जानकारी दिइन् ।
उनले मुक्त कमलरीका छोराछोरी आफ्ना बाबुआमा जस्तो दुःख नपाउन भन्ने उद्देश्यले सबैलाई आयआर्जनमा जोडेर जीवन परिवर्तन गर्न खोजेको बताइन् । उनले पूर्वमुक्त कमलरीलाई आयआर्जन गरे आत्मनिर्भर बनाउन कृषि र पशुपालनमा जोडेको बताइन् । महिलाले गर्दै आएका पेसा, व्यवसाय, कृषि, उद्यमशीलताका कामको अनुगमन गर्ने र सम्बन्धित कार्यालयका प्रमुखसँग समन्वयन गराउने गरेको उनले जानकारी दिइन् । रासस
Comments are closed.