नाडामा सहमतिले दिएको सकारात्मक सन्देश

सुरेन्द्र पौडेल, काठमाडौं । नाडाका बर्तमान अध्यक्ष ध्रुव थापासँग गत निर्वाचनमा पराजीत भएका थिए करण चौधरी । उनै चौधरी अब नाडाको अध्यक्ष बन्दैछन्, त्यो पनि सहमतिमा । अध्यक्षका आंकाक्षी मध्ये आकाश गोल्छा र प्रकाश कपुरी सहमतिमा ब्याक भएका छन् । नाडामा भएको यो सहमति ऐतिहासिक भएको बताउँछन् नाडाका अध्यक्ष ध्रुव थापा ।

अध्यक्ष थापाले भनेजस्तै यो सहमतिलाई ऐतिहासिक नै मान्न सकिन्छ । निर्वाचन हुँदा व्यवसायीहरु दुई ध्रुवमा बाडिने निश्चित हुन्छ । अध्यक्षमा निर्वाचन हुँदा तलसम्म नै २ प्यानलमा निर्वाचन हुने र प्यानलको गुट पछिसम्म पनि बाँकी नै रहने समस्या देखिदै आएको सर्वविधितै छ । सहमतिमा नेतृत्व चयन हुँदा आर्थिक मन्दीको विषम परिस्थितिमा खर्च कटौतीसँगै व्यवसायमा एकताको भावना जागृत हुने विश्वास गर्न सकिन्छ ।

सहमतिको प्रयासमा साथ दिने सम्पूर्णलाई अध्यक्ष थापाले आभार व्यक्त गर्दै भनेका छन्, ‘नाडामा सहमति गराउनका लागि हामीले बिगतबाटै प्रयास गर्दै आइरहेका हौं । जुन प्रयास आज सफल भएको छ ।’ अहिले सबै व्यवसायीहरु अप्ठ्यारो परिस्थितिमा रहेको र यो विषम परिस्थितिमा एकताको सन्देश दिन आफूहरु सफल भएको उनले बताए ।

सोमबार ९ घन्टासम्म विभिन्न चरणमा अध्यक्षका आंकाक्षीहरुसहित बार्ता भएको थियो । आज थप सहमतिका लागि नाडा अध्यक्ष थापाको नेतृत्वमा पूर्व अध्यक्षहरुसहितको बैठक बसेको हो । सो बैठकमा चौधरीलाई अध्यक्ष बनाउने सहमति भएको महासचिव सुरेन्द्र कुमार उप्रेतीले जानकारी दिए । यो सहमति सम्पूर्ण अटोमोबाइल व्यवसायीहरुको लागि खुसीको खबर भएको उप्रेती बताउँछन् ।

‘निर्वाचन नगरौं भन्ने सबै साथीहरुको भावना थियो । सोही भावनाको कदर भएको छ,’ उनले भने ।

संस्थाको गर्व र प्रतिष्ठा बढाउन नाडामा भएको सहमतिले विशेष योगदान गरेको अध्यक्षमा सर्वसम्मत भएका करण चौधरीले बताए । ‘सहमतिले नाडाको गर्व र प्रतिष्ठा बढाउने काम भएको छ,’ उनले भने । सहमति अनुसार नाडाको अबको कार्यकालको नेतृत्व करण चौधरीले गर्नेछन् भने चौधरी पछि नाडा अध्यक्षमा आकाश गोल्छा देखिनेछन् ।

अध्यक्षमा सहमति भएसँगै नोमिनेसनको दिनसम्म सदस्यमा पनि सर्वसम्मत हुनेमा आफू विश्वस्त रहेको अध्यक्ष थापा बताउँछन् । ‘सदस्यमा पनि एक किसिमको सहमति भएको छ । त्यही अनुसारको वातावरण बन्छ र नोमिनेसनको दिनसम्म सहमति हुन्छ भन्ने मलाई लाग्छ,’ उनले भने, ‘सदस्यका आंकाक्षीहरुले पनि नाडालाई एकता बद्ध बनाउन विशेष भूमिका खेल्नुहुनेछ ।’

You might also like

Comments are closed.