‘आरआर इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा आउने

मोरङ । मोरङको बुढिगंगा गाउँपालिका १ मा ‘आरआर इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा आउने भएको छ । बुधबार एक कार्यक्रमबीच हस्पिटलको शीलान्यास गरिएको छ । शिवम् अर्गनाइजेशनले हस्पिटल निर्माण गर्न लागेको हो । पहिलो चरणमा १०० शैंय्याको ‘मल्टी स्पेसियालिटी हस्पिटल’ सञ्चालन गर्ने र क्रमशः ३०० शैय्यासम्म बिस्तार गर्ने लक्ष्य लगानीकर्ताहरुको छ ।

सरकारबाट निर्धारित गरिएको आवश्यक कानुनी प्रक्रिया पुरा गरी हस्पिटल निर्माण प्रक्रिया अगाडि बढेको हो । निर्र्माणाधीन अस्पतालका सञ्चालक अध्यक्ष राजेन्द्र राउत हुन् । उनी लामो समयदेखि विभिन्न उद्योग व्यवसायका क्षेत्रमा संलग्न रहँदै आएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्षसमेत रहेका राजेन्द्र राउत नेपाल उद्योग वाणिज्य महासंघका स्थायी समिति सदस्य तथा सार्क चेम्वर अफ कमर्शका कार्यसमिति सदस्य समेत हुन् ।

स्वास्थ्य क्षेत्रमा रहेको मल्टि स्पेसियालिटी सर्भिसको माग पुरा गर्ने उद्देश्यका साथ हस्पिटल सञ्चालनमा ल्याउन लागिएको उनले बताए । अस्पतालको लागत करिव २ अर्ब ५० करोड पुग्ने लगानीकर्ताहरुको आंकलन छ ।

‘नेपालबाट वर्षेनी हजारौंको संख्यामा नेपालीहरु भारत लगायत विभिन्न देशहरुमा स्वास्थ्य उपचारको लागि जानुपर्ने तितो यथार्थ हाम्रासामु लुकेको छैन । कोशी प्रदेशबाट पनि उल्लेख्य संख्यामा विदेशमा उपचारार्थ गइरहेको पाइन्छ,’ राउतले भने, ‘अब हस्पिटल सञ्चालनमा आएपछि उपचारका लागि विदेशिने क्रम घट्नेछ ।’

अस्पताललाई ‘सेन्टर फर एक्सेलेन्स’का रुपमा विकास गरी सुपर स्पेसियालिटी’ स्वास्थ्य सेवा दिने महत्वपूर्ण केन्द्र बनाइने सञ्चालक सदस्य प्रतीक राउतले बताए । ‘अस्पतालले मुटुरोगको उपचारलाई प्राथमिकतामा राखी २४सैं घण्टा इमर्जेन्सी सेवा, कार्डियक इमर्जेन्सी सेवा र क्याथ ल्याब जस्ता सेवा सुविधा उपलब्ध गराउने उनले बताए ।

साथै अस्पतालबाट जनरल मेडिसन, न्यूरो सर्जरी, जनरल सर्जरी, मृगौला रोग, मुत्ररोग, स्त्रीरोग तथा प्रसुती सेवा, आँखा रोग, नवजात शिशु तथा बालरोग, हाडजोर्नी तथा नशाको विशिष्टिकृत उपचार सेवा उपलब्ध हुनेछ । आधुनिक र विश्वसनीय प्रविधि तथा उपकरणको माध्यमबाट सबै किसिमका शल्यक्रिया हुने गरी पूर्वाधार सुनिश्चित गरिने बताइएको छ । स्वास्थ्य सेवामा रोगको पहिचान अत्यन्तै महत्वपूर्ण पाटो भएकाले डाइग्नोस्टिक डिपार्टमेन्टलाई अन्तर्राष्ट्रिय स्तरको बताइने राउतले जानकारी दिए ।

हस्पिटलमा लगानी गरेको अध्यक्ष राजेन्द्र राउत गार्मेन्ट निर्यात उद्योगबाट आफ्नो पहिचान बनाउन सफल व्यवसायी हुन् । हाल चुनढुंगा खानी सञ्चालन गरी सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ उपलब्ध गराउँदै आएका उनले विभिन्न उत्पादन मुलक उद्योग तथा व्यवसाय सञ्चालन गरिरहेका छन् । जुत्ता चप्पल उत्पादन, सिमेन्ट उद्योग, पेट्रोलियम पदार्थ, तथा ट्रेडिङ कारोबार संचालनमा छन् । निकट भविष्यमै काठमाण्डौंमा अत्याधुनिक पांचतारे होटल केही महिना भित्रै सञ्चालनमा ल्याउने तयारी छ ।

विराटनगरमा हाउजिङ कम्पनी, पांचतारे होटल र स्वास्थ्य सेवासंगै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले मेडिकल, पारामेडिकल, नर्सिङ कलेज सञ्चालनको लक्ष्य पनि रहेको प्रत्यूष राउतले जानकारी दिए । ‘यो अस्पताललाई एउटा व्यावसायिक घरानाको मात्र नभएर कोशी प्रदेशकै सम्पत्ती र सबै सेवाग्राहीको विश्वासको केन्द्रका रुपमा स्थापित गराउने उद्देश्य राखिएको छ,’ उनले भने ।

You might also like

Comments are closed.