नेप्से परिसूचकमा उच्च अंकको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ दशमलव ७७ अंकले ओरालो लागेर २ हजार १ सय ९ दशमलव १० मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक आज ६ अंकले ओरालो लागेर तीन सय ९६ दशमलव ६२ मा सीमित भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ भने दुई उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ । कूल एक करोड ७१ लाख ७२ हजार एक सय ४९ कित्ता शेयर रु छ अर्ब २७ करोड ४३ लाख २४ हजार आठ सय ११ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३० करोड ६८ लाख ६० हजार आठ सय बराबरको शेयर कारोबार भयो ।

सोनापुर मिनरल्स रु २५ करोड ४७ लाख ६९ हजार पाँच सय २४, हिमालयन डिस्टिलरी रु २० करोड ६ लाख २० हजार एक सय ६०, हाथवे इन्भेस्टमेन्ट रु १५ करोड ३६ लाख २० हजार चार सय ९२ र घोराही सिमेन्ट रु १५ करोड २३ लाख ५० हजार पाँच सय नौ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, बोटलर्स नेपाल बालाजु, आशा लघुवित्त, धौलागिरि लघुवित्त, बिपीडब्ल्यू लघुवित्त, चिर्खवा हाइड्रोपावरलगायत कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्स ७ दशमलव ४४, उन्नती सहकार्य लघुवित्त ७ दशमलव २६, सनराइज फस्ट म्युचुअल फण्ड ६ दशमलव ९४, गरिमा विकास लघुवित्त ६ दशमलव ९४ र युनियन हाइड्रोपावरका लगानीकर्ताले ६ दशमलव ५२ प्रतिशतले गुमाएका छन् । रासस

lcci
You might also like

Comments are closed.