लेखनाथ महोत्सवमा शनिबार दर्शकको उत्साहजनक सहभागिता, १ करोडभन्दा बढीको कारोबार

लेखनाथ । लेखनाथ महोत्सवमा शनिबार दर्शकको उत्साहजनक सहभागिता रहेको छ ।

शनिबार ४० हजारभन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेको आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष एवं प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले जानकारी दिए । शनिबार महोत्सवमा १ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको उनले जानकारी दिए ।

स्टेज कार्यक्रमको रमाइलोदेखि महोत्सवमा राखिएका विविध प्रकारका स्टलहरुले दर्शकलाई आकर्षण गर्न सफल भएको संघका महासचिव जानुका पराजुलीले बताइन् । ‘लेखनाथ महोत्सवको पहिचान भनेकै विविधता हो । यहाँको विविधताले दर्शकलाई आकर्षण गर्न सफल छ ।’

महोत्सवमा शनिबार लोकदोहोरी कलाकारहरु पुरुषोत्तम न्यौपाने, शिव हमाल, चोलेन्द्र पौडेल, टेक क्षेत्री, अस्मिता डल्लाकोटी, रुपा घर्तिमगर, लक्ष्मी वानिया, हास्यव्यग्यतर्फ गुन्द्रुके समुहको प्रस्तुतीले दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो भने बेलुका लाईभ कन्सर्टमा समिक्षा अधिकारी, सञ्जिव सिंह राना र अलबिन थापाको प्रस्तुतीले स्टेज तताएको थियो ।

यस्तै महोत्सवमा मातृशक्तिको सम्मानमा आयोजित रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रस्तुती लगायतका कार्यक्रमहरु पनि भएका छन । शनिबार बिदाको दिन समेत परेकाले दर्शकहरुको संख्या वढ्नुका साथै कारोबारमा पनि वृद्धि भएको बताइएको छ ।

आईतबार लोकदोहोरीतर्फ पशुपति शर्मा, कृष्ण अखेली, सुनितामी परियार, टेक क्षेत्री, सबिना गुरुङ, दिपक कार्की र अनिषा गुरुङको प्रस्तुती रहनेछ भने बेलुका लाईभ कन्सर्टमा दुर्गेश थापा, राजेश वर्देवा र यम नेपाली लगायतको प्रस्तुती रहनेछ ।

पुस ५ गते सुरु भएको महोत्सव पुस १६ गतेसम्म चल्नेछ ।

lcci
You might also like

Comments are closed.