फेकनको साधारणसभा सम्पन्न, नेपाललाई शैक्षिक हबका रुपमा विकास गर्नुपर्नेमा जोड

काठमाडौं । नेपाललाई शैक्षिक हबका रुपका विकसित गर्नुपर्ने वक्ताहरुले भनाइ राखेका छन् । स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन)को १३औं वार्षिक साधारणसभाको अवसरमा शुक्रबार बोल्दै वक्ताहरुले नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेशिने क्रम बढेको र त्यसलाई रोक्न नेपालको शिक्षामा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् ।

प्रमुख अतिथि शिक्षा राज्यमन्त्री प्रमिला कुमारी यादवले शैक्षिक परामर्श व्यवसायका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार तयार रहेको बताएकी छन् । नेपाली विद्यार्थी विदेशिने क्रम रोक्नका लागि शिक्षामा सुधार आवश्यक रहेको र त्यसका लागि सरकार प्रतिबद्ध रहेको पनि उनको भनाइ छ ।

फेकनका अध्यक्ष राजु निरौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्क, अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका लागि नेपाली महावाणिज्यदूत दीपक खड्का, एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष सोनु घोताने, शिक्षा मन्त्रालय शैक्षिक परामर्श प्रमाणीकरण शाखा प्रमुख सिमान्त कोइरालासहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शैक्षिक परामर्श व्यवसायका बारेमा बोलेका थिए ।

फेकनका अध्यक्ष राजु निरौलाले नेपाललाई शैक्षिक हबका रुपमा विकास गर्न फेकनले आफ्नो ठाउँबाट सरकारलाई सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए । ‘नेपालको शैक्षिक प्रणालीमा सुधार गरी विद्यार्थी विदेशिने क्रम घटाउने र विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्ने वातावरण बनाउन आवश्यक छ,’ उनले भने ।

शैक्षिक परामर्श व्यवसायीले धरौटी राख्नुपर्ने गरी सरकारले ल्याउन लागेको ऐनको फेकनले बिरोध गरेको र त्यसरी ऐन आएमा आफूहरुले स्वीकार नगर्ने उनको भनाइ छ । ‘हामीले परामर्श व्यवसायी भएर परामर्शमात्रै दिएका छौं,’ उनले भने, ‘हाम्रो व्यवसायका लागि धरौटी आवश्यक छैन ।’ विदेश जाने विद्यार्थीले तिरेको ३ प्रतिशत करबाट विद्यार्थीको बिमा पनि गरिनुपर्ने उनले माग गरेका छन् ।

परामर्श व्यवसाय केन्द्र र प्रदेश सरकार वा स्थानीय तह कसले मातहत रहने भन्ने अन्यौलता रहेको र त्यो अन्यौलताको अन्त्य हुनुपर्ने पनि फेकनले माग गरेको छ । कार्यक्रमको सञ्चालन फेकनका महासचिव छविन्द्र ओझाले गरेका थिए

You might also like

Comments are closed.