चोरी पैठारीबाट सामान आउँदा व्यवसायीहरु मर्कामा

काठमाडौं । कोरोना महामारीको समयमा सरकारले स्मार्ट लकडाउन गर्यो । जुन समय भारतीय सीमा नाका पनि बन्द भयो । सो समयमा नेपाली व्यवयायीले आफ्नो व्यापार राम्रो भएकोे सम्झन्छन् । माग धेरै हुँदा स्टक सामान छोटो समयमा नै सकिने अवस्था आयो । नियमित रुपमा मासिक ३ करोडको सामान बिक्री गर्ने एक जना व्यवसायीले सो समयमा मासिक ९ करोडसम्मको सामान बिक्री भएको सम्झन्छन् ।

जब नाका खुल्ला भयो पुनः व्यापार घट्दै गयो । यसबाट के पुष्टि हुन्छ भने खुल्ला सिमानाका कारण धेरै सामान चोरी पैठारीबाट आउने गरेको छ । जसले नेपाली व्यवसायीहरु मर्कामा परेका छन् । अबैध रुपमा सामान भित्रिदा एकातर्फ जेन्युन व्यवसायी मर्कामा पर्नुका साथै राज्यले पनि अरबौं रुपैयाँ राजश्व गुमाउँदै आएको छ । नेपाली बजारमा खपत हुने अटो पार्टस मध्ये झण्डै ५० प्रतिशतको हाराहारीमा अबै रुपमा भित्रिने गरेको व्यवसायीहरु बताउँछन् । विशेष गरी सीमा क्षेत्रका सवारी धनीहरु भारतीय बजारमै गएर पार्टस फेर्ने, टायर फेर्ने, उतैबाट सामान ल्याउने गरेको पाइन्छ ।

नेपालमा निर्वाध रुपमा भारतीय गाडी प्रवेश गर्ने, सामान ल्याउने, नेपालमा गाडी मेन्टिनेन्स नहुने, स्पेयर पार्टस, टायर, लुब्रिकेन्ट्स यहाँ नकिन्ने, गाडी नबिक्ने कारणले नेपाली व्यवसायीहरु समस्यामा रहेको बताउँछन् नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती । ‘भन्सार नाकामा कडाइ नहुनु, भारनीय व्यापारीहरु नेपालको बोर्डरमा आएर अर्डर लिने र सामान ल्याइदिने गर्दा यहाँ भएका व्यवसायी पलायन भएर विदेश जानुपर्ने अवस्था छ,’ उनले भने, ‘सामान आयात धेरै कम भइसकेको छ । यहाँ रोजगारी पनि गुमिरहेको छ ।’ राज्यले यस विषयलाई गम्भिर भएर हेर्नुपर्ने र नाकामा कडाई गर्नुपर्ने उनको भनाइ छ ।

अवैध रुपमा आउने सामान कन्ट्रोल गर्नुपर्ने ठाउँमा सरकारले भन्सार तिरेर आउने सामानमा बढी ध्यान दिने गरेको सत्यदीप इन्टरनेशनलका प्रवन्ध निर्देशक तथा नाडाका कार्यसमिति सदस्य दीपेन्द्र मिश्र बताउँछन् । ‘अबैध रुपमा भित्रिने सामानको निगरानी गर्नका लागि सुरक्षा बल थप्नुपर्छ । वा कसरी सुरक्षा व्यवस्था कडा गर्ने हो त्यसतर्फ सरकारले ध्यान दिनुपर्छ । चोरी पैठारी रोकिनुपर्छ,’ उनले भने ।

भारतीय नाकाबाट अवैध रुपमा पार्टस् भित्रिदा नेपाली व्यवसायीहरुलाई समस्या सिर्जना भएको नाडाका सहकोषाध्यक्ष पंकज अग्रवालले बताए । ‘एकातर्फ व्यवसायमा आर्थिक मन्दीको असर छ भने अर्कोतर्फ अबैध रुपमा सामान आयात हुँदा थप समस्या सिर्जना भएको छ,’ उनले भने । बोर्डरमा रहेका नेपालीले सवारी साधन प्राय भारत लगेर बताउने गरेको उनले सुनाए । ‘स्पेयर पार्टस, मेकानिक सबै भारतीय । न त नेपालमा स्पेयर पार्टसको बिक्री भयो न त नेपाली मेकानिकले काम नै पाए । अवैध रुपमा पार्टस भित्रिने गरेकोमा हामी धेरै दुखी छौं,’ उनी भन्छन्, ‘यसलाई रोक्न राज्य लाग्नुपर्छ ।’

स्पेयर पार्टसको बजार नेपालमा वार्षिक १८ सय करोड भन्दा बढी रहेको व्यवसायीहरु बताउँछन् । यो व्यवसायबाट हजारौंले रोजगारी पाइरहेका छन् ।

You might also like

Comments are closed.