विकास निर्माणको सारथी ‘हेभी इक्विपमेन्ट’

काठमाडौं । संसारका धेरै देशहरुले विकास निर्माणकोे कामलाई धेरै माथि पुर्याएका छन् । भौतिक विकासलाई तिब्र गति दिदै अब उनीहरु मानवीय विकासमा बढी केन्द्रित हुँदैछन् । छिमेकी मुलुक भारत र चीनले पनि द्रुत गतिको विकास निर्माणसँगै संसारकै महाशक्ति राष्ट्रको पहिचान बनाइसकेका छन् । तर, नेपाल विकास निर्माणमा धेरै पछाडि छ ।

माटो खनेका गोरेटाहरुले गाउँ गाउँका हरेक बस्ती छिचोलिसके पनि यहाँ विकासको काम भर्खर भर्खर सुरु भएको मान्न सकिन्छ । गोरेटो कोर्ने काम धेरै भएको छ, तर कालोपत्र सडक सीमित छन् । भएका र बनेका अधिकांश सडकहरु काम चलाउँ, साँघुरो छन् । ती सबै सडकलाई स्तरउन्नति सहित अन्य सडक निर्माणलाई तिब्रता दिनुपर्ने दायित्व सरकार समक्ष छ ।

पछिल्लो दशक नेपालका हरेक कुनाकाप्चामा डोजर, स्काभेटर, ब्याकहो लोडर, रोलर, क्रेन, टनेल बोरिङ लगायतका हेभी इक्विपमेन्टले धमाधम काम गरेको देख्न सकिन्छ । हरेक राजमार्ग र हरेक सडकमा धमाधम काम भइरहेको छ । राजमार्गमा सुरुङ निर्माणको क्रम बल्ल सुरु भएको छ । निजी क्षेत्रले हाइड्रोपावरमा लगानी बढाइरहेका छन् । नेपालमा विकास निर्माणको कामले २०६० को दशकपछि छिट्टै गति लिएको मान्न सकिन्छ । ७० को दशकपछि त्यो क्रम अझै बढ्यो ।

तर, पछिल्ला केही वर्षदेखि विकास निर्माणको तिब्रतामा ब्रेक लागेको देखिन्छ । कोभिड महामारी र त्यसपछि अर्थतन्त्रमा आएको मन्दीसँगै विकास निर्माणको गति शुस्त बनेको छ । फलस्वरुपम देशभर हजारौं हेभी इक्वीपमेन्टका साधनहरुले काम पाउन सकेका छैनन् । कतिपय व्यवसायीहरु पलायन भइसकेका छन् भने कतिपय पलायनको अवस्थामा छन् । राष्ट्रिय महत्वका सीमित आयोजनामा काम भएपनि विदेशी कन्टयाक्टरले काम गरेका कारण त्यहाँ नेपाली व्यवसायी र नेपाली इक्विपमेन्टले थोरैमात्र भूमिका पाउने गरेको व्यवसायीहरुको गुनासो छ । संघ, प्रदेश र स्थानीय तह अन्तर्गत हुने विकास निर्माणको काम निकै शुस्त छ ।

निर्माण व्यवसायीले गरेका कामको भूक्तानी सरकारले समयमै उपलब्ध नगराउँदा त्यसको असर हेभी इक्विपमेन्ट व्यवसायमा पनि पर्ने गरेको देखिन्छ । काम पाएका र रकम भुक्तानी लिएका निर्माण व्यवसायीले पनि हेभी इक्विपमेन्ट व्यवसायीलाई समयमा नै भुक्तानी नदिने गरेको गुनासोसमेत आउने गरेको छ । जसका कारण हेभी इक्विपमेन्टमा करोडौं लगानी गरेर बसेका कतिपय व्यवसायीहरु पलायनको अबस्थामा देखिएका हुन् ।

कास्की हेभी इक्विपमेन्ट व्यवसायी संघका अध्यक्ष बालकृष्ण कोइरालाले विकास निर्माणको काम कमजोर हुँदा आफूहरु समस्यामा परेको बताउँछन् । ‘हामीले काम गर्ने सिजन भनेको ६ महिना हो । पुराना कामको भुक्तानी राज्यले नदिएर कन्ट्याक्टरहरुले पनि काम नगरेको अवस्था छ । हामीले कर्मचारीलाई समयमा तलब दिन नसकेको अवस्था छ,’ उनले भने, ‘हेभी इक्विपमेन्ट ठुलो व्यवसाय भएकाले काम कम भएको समयमा बंैकको किस्ता तथा ब्याज भुक्तानी गर्न पनि समस्या हुन्छ । ब्याक अप केही पनि नभएका व्यवसायी धेरै अप्ठ्यारोमा हुनुहुन्छ । मेसिन पनि बैंकले तानेको अवस्था छ ।’ समयमा बजेट निकासा गरेर विकास निर्माणको कामलाई गति दिनुपर्ने उनको भनाइ छ ।

विकास निर्माणको काम हुँदा हेभी इक्विपमेन्ट व्यवसायको सम्भावना राम्रो रहेको अध्यक्ष कोइरालाले बताए । ‘राम्रोसँग काम गर्ने वातावरण सृजना हुँदा ४ महिना काम गर्दापनि हामी धानिनसक्ने अवस्था रहन्छ,’ उनले भने, ‘त्यसका लागि विकास निर्माणको काम तिब्र गतिमा हुनुपर्छ ।’

विकासका क्षेत्रमा हेभी इक्विपमेन्ट व्यवसायको योगदान महत्वपूर्ण छ । विकास निर्माणमा प्रविधिको प्रयोगसँगै मानवीय श्रमलाई न्युनीकरण गरेको छ । सानादेखि राष्ट्रिय गौरवका सडक निर्माणमा, राष्ट्रिय प्रशारण लाइनको बिस्तारदेखि जलविद्युत आयोजनाका ठूला ठूला सुरुङ निर्माणमा पनि हेभी इक्विपमेन्ट व्यवसायले सहजता प्रदान गरेको छ । हरेक विकास निर्माणको सारथी मानिने यो व्यवसायलाई राज्यले भने प्राथमिकतामा राख्न नसकेको व्यवसायीहरुले गुनासो गर्ने गरेका छन् ।

अहिले व्यवसाय खासै नभएको र व्यवसाय हुँदा पनि भुक्तानी नपाएका कारण हेभी इक्विपमेन्ट व्यवसायी मर्कामा परेको हेभी इक्विपमेन्ट व्यवसायी महासंघका कार्यवहाक अध्यक्ष उमाकान्त शर्मा बताउँछन् । दुई वर्षदेखि मन्दी देखिएको र त्यसको असर व्यवसायमा परेको उनले भनाइ छ । ‘यो मन्दीले व्यवसायीहरु फिल्टर हुने अवस्था पनि आएको छ । व्यावसायिक साथीहरु मात्रै यो व्यवसायमा रहने स्थिति अब बन्दैछ, जसलाई सकारात्मक पनि मान्न सकिन्छ,’ उनले भने ।

हेभी इक्विपमेन्ट व्यवसायमा करिव १८ सयदेखि २ हजार करोड लगानी रहेको व्यवसायीहरु बताउँछन् । ‘यो व्यवसायले रोजगारीको सृजना पनि राम्रो गरेको छ,’ उनले भने, ‘प्रत्यक्ष रुपमा लाभान्वित हुनेको संख्या लाखौं पुग्छ ।’

मन्दीसँगै पलाएको आशा

विकास निर्माणको काम धमाधम हुँदा हेभी इक्विपमेन्ट व्यवसायीहरुले धमाधम काम पाएका थिए । व्यवसाय बिस्तारमा आक्रामक लगानी गरिरहेका थिए । आर्थिक मन्दीसँगै व्यवसायमा आएको गिरावटका कारण धेरै व्यवसायीहरु मर्कामा परेका छन् । अब क्रमशः आर्थिक स्थिति सुध्रने र विकास निर्माणले गति लिने विश्वासमा व्यवसायीहरु छन् ।

संघका अध्यक्ष कोइराला भन्छन्, ‘अब पुनः यो व्यवसायले गति लिन्छ भन्नेमा हामी आशावादी छौं । सरकारले विकास निर्माणका कामलाई अब प्राथमिकतामा राख्नुपर्छ ।’ ठूला ठूला आयोजनामा पनि नेपाली व्यवसायी र नेपाली मेसिनलाई प्राथमिकता दिनसके व्यवसाय राम्रो हुने उनको भनाइ छ ।

अहिले बजारमा देखिएको मन्दी र त्यसको असरलाई कसरी कम गर्न सकिन्छ भन्ने बारेमा आफूहरु पनि छलफलमा रहेको बताउँछन् कास्की हेभी इक्विपमेन्ट व्यवसायी संघका सचिव भीम केसी । ‘अहिले बजारमा देखिएको मन्दी र त्यसको असरलाई कसरी कम गर्न सकिन्छ भन्ने बारेमा हामी साधारण सभामा विशेष छलफल गर्नेछौं । व्यवसायीको हकहित र व्यवसाय चलायमान हुनका लागि विशेष योजना बनाउछौं,’ उनले भने ।

विषम परिस्थितिको सामना गर्दै आफ्नो व्यवसाय धानेर अगाडि बढ्नुपर्ने बाध्यतामा व्यवसायीहरु रहेको र यो परिस्थितिमा व्यवसायीहरुबीच आपसमा एकताको भावना विकास हुनपर्ने संघका कोषाध्यक्ष सुमन लामिछानेको भनाइ छ । ‘हरेक क्षेत्रमा कुनै न कुनै कमजोरी हुन्छन् । कमिकमजोरीलाई सुधारेर अगाडि बढ्न सकेमा आगामी यात्रा सहज बन्दै जानेछ,’ उनले भने ।

You might also like

Comments are closed.

Secret Link