पोखरा हुँदै हिमालपारीको जिल्लासम्म दैनिक पुग्छ हेटौंडा डेरीको उत्पादन

पोखरा । चौधरी ग्रुप अन्तर्गतको हेटौंडा डेरी इन्डष्ट्रिज प्रालिले आफ्नो उत्पादनको बजार बिस्तारलाई तिब्रता दिएको छ । हेटौंडामा अत्याधुनिक प्रविधिसहितको प्लान्ट स्थापना गरी उद्योग सञ्चालन गरिरहेको हेटौंडा डेरीले हिमाल पारीको जिल्ला मनाङ र मुस्ताङसम्म आफ्नो उत्पादनलाई दैनिक पुर्याउँदै आएको छ ।

उद्योगबाट उत्पादित उत्पादनहरु दूध, दही, घ्यु, पनिर, प्लेन र साल्ट ट्रेड बटर, कन्डेन्स मिल्क लगायतका प्रडक्ट पोखराहुँदै मुस्ताङसम्म र लमजुङ हुँदै मनाङसम्म दैनिक पुगिरहेको सेल्स एण्ड मार्केटिङ हेड नेत्रप्रसाद गौतमले जानकारी दिए । ‘हेटौंडा डेरीको उत्पादनको माग पोखरा क्षेत्रमा दिनप्रतिदिन बढिरहेको छ,’ उनले भने, ‘पोखरासँगै हामीले मनाङ र मुस्ताङसम्म पनि उत्पादन पुर्याइरहेका छौं ।’

कास्कीको पोखरा, लेखनाथ क्षेत्रसँगै गोरखा, तनहुँ, लमजुङ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी लगायत जिल्लामा पनि उत्पादन दैनिक पुगिरहेको छ । प्रालिले रेफ्रिजेरेटर युक्त गाडीबाट उत्पादनहरु डेलिभरी गर्दै आइरहेको छ । ‘हामीले उपभोक्ताको आवश्यकता अनुसार सेवा प्रदान गरिरहेका छौं,’ उनले भने ।

कन्डेन्स मिल्क उत्पादन गर्ने यो उद्योग नेपालमै पहिलो र एकमात्र हो । कम्पनीले किसानबाट खरिद गरेको दूध बजारमा बिक्री नभएको अवस्थामा पाउडर दूध बनाएर बजारमा बिक्री वितरण गर्ने गरेको छ । जसले गर्दा किसानबाट धेरै दूध उत्पादन हुँदा पनि बजारको अभाव नहुनलाई कम्पनीले पाउडर दूध बनाएर राख्ने गरेको छ । पाउडर दूध, घ्यु, कन्डेन्स मिल्क लगायतको उत्पादन अर्डर अनुसार देशभरको बजारमा उपलब्ध हुँदै आइरहेको छ ।

२०५५ सालमा दर्ता भएको यो उद्योग बि.सं. २०६२ बाट चौधरी ग्रुपको व्यवस्थापनमा सञ्चालनमा आएको हो । हेटौंडा १९ नेवारपानीमा रहेको उद्योगको दैनिक उत्पादन क्षमता २५ हजार लिटर रहेको छ । उद्योगबाट १०० जना भन्दा बढी कर्मचारीले रोजगारी पाएका छन् ।

उद्योगले स्थानीय किसानको दूधलाई प्राथमिकतामा राखेर खरिद गरिरहेको गौतमले बताए । ‘हेटौंडा डेरीका कारण स्थानीय किसानको दूधले बजार पाएको छ,’ उनले भने, ‘स्थानीयबाट नपुग दूधमात्रै अन्यत्रबाट मगाउँछौं ।’

You might also like

Comments are closed.

Secret Link