काठमाडौं । नेपाल डेरी एसोसिएसन स्थापनाको २५ वर्ष पुरा भएको छ । देशभर छरिएर रहेका ठूला, मझौला, साना र घरेलु डेरी उद्योगहरुलाई एकताबद्ध गर्दै अगाडि बढिरहेको एसोसिएसनले २५ वर्षको इतिहासमा व्यावसायिक हकहितमा धेरै उपलब्धीपूर्ण काम गर्न सफल भएको छ । किसान तथा व्यवसायीका समस्या सुन्ने, बुझ्ने र सरकारी निकायसँग समन्वय गर्दै नीतिगत तहमा दबाब दिने काम एसोसिएसनले गर्दै आइरहेको छ ।
गाउँ गाउँबाट किसानहरुले उत्पादन गरेका दूधलाई संकलन गर्दै उद्योगसम्म ल्याउने र प्रशोधन गरी उपभोक्तामाझ पु¥याउने काममा एसोसिएसनमा आबद्ध डेरीहरुको महत्वपूर्ण योगदान रहेको देखिन्छ । एसोसिएसनमा देशभर छरिएर रहेका २७५ डेरीहरु सदस्यमा आबद्ध छन् । सातै प्रदेश र १५ जिल्लामा संगठन छन् ।
२०५५ साल माघ ७ गते स्थापना भएर दुग्ध विकासको क्षेत्रमा निरन्तर सक्रिय रहेको एसोसिएसनले यो वर्ष रजत जयन्ती मनाउँदैछ । आज (आइतबार) होटल मल्ल काठमाडौंमा रजत जयन्ती विशेष कार्यक्रम हुँदैछ । कार्यक्रममा देशभरबाट डेरी व्यवसायीहरुको उपस्थिति रहने अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए । ‘रजत जयन्तीको पूर्व सन्ध्यामा देशभर विविध कार्यक्रम भएका छन्,’ उनले भने, ‘आगामी दिनमा पनि वर्षभर विभिन्न कार्यक्रम तथा गतिविधि हुनेछन् ।’
एसोसिएसनले बालआश्रम, ज्येष्ठ नागरिक आश्रम, विद्यालय, अस्पताल लगायतमा दूध तथा दुग्ध पदार्थ वितरण गर्दै आइरहेको छ । व्यावसायिक हकहित तथा डेरीको विकासमा एसोसिएसनको योगदान महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष दाहालले एसोसिएसन स्थापनाको रजत जयन्तीसम्मको यात्रामा साथ दिने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन् ।







Comments are closed.