‘प्रथम चावहिल जुत्ता चप्पल व्यापार मेला’ चावहिल चुच्चेपाटी बसस्टपस्थित पासाङल्हामु शालिक पछाडि खुल्ला चौरमा आयोजना भएको छ । स्वदेशी १४ वटा कम्पनीको संयुक्त आयोजनामा मेला सञ्चालन भइरहेको छ । यसैक्रममा आयोजक मध्येका एक व्यवसायी सबिन कार्कीसँग मेलाका सन्दर्भमा केन्द्रित रहेर गरिएको संक्षिप्त कुराकानीः
यस अगाडि भृकुटी मण्डपमा मेला गर्नुहुन्थ्यो । अहिले चावहिलमा मेला किन ?
हामीले भृकुटी मण्डपमा मेला आयोजना गर्दैै आइरहेका थियौं । त्यहाँ मेला आयोजना गरिरहँदा अन्यत्र पनि मेला गर्न हामीलाई सुझावहरु आउने गर्दथ्यो । यसैक्रममा चावहित, चुच्चेपाटी तथा यस आसपासका ग्राहक तथा उपभोक्ताहरुको सुविधालाई ध्यानमा राख्दै प्रथम चाबहिल जुत्ता मेला आयोजना गरेका हौं । चुच्चेपाटी बसस्टपसँगै हायात ग्राउण्डमा मेला सञ्चालन भइरहेको छ ।
मेलामा ग्राहकको आकर्षण कस्तो छ ?
हामीले सोचे भन्दा पनि ग्राहकको उपस्थिति राम्रो देखिएको छ । ग्राहकबाट हामीले सकारात्मक प्रतिक्रिया पाइरहेका छौं । आगामी दिनमा ग्राहकको उपस्थिति अझै बढ्नेमा हामी विश्वस्त छौं । माघ १८ गते सुरु भएको मेला फागुन १८ गतेसम्म चल्नेछ ।
मेलाको मुख्य आकर्षण के हो ?
एउटै छानामुनी धेरै ब्राण्डका जुत्ता चप्पलहरु बिक्री तथा प्रदर्शनीमा राख्नु नै मेलाको मुख्य आकर्षण हो । मेलामा १४ वटा कम्पनीका ३० भन्दा बढी ब्राण्डका ८ हजार भन्दा बढी भेराइटीहरु उपलब्ध छन् । धेरै भेराइटी एकै ठाउँमा हुँदा ग्राहकले आफ्नो आवश्यकता अनुसारको जुत्ता चप्पल मेलामा आएर खरिद गर्न सक्ने वातावरण बनेको छ ।
मेलामा जुत्ता चप्पल किन्दा ग्राहक कसरी लाभान्वित हुन्छन् ?
लेडिज, जेन्स, बच्चा, स्कुल, कलेजदेखि सबै सबै उमेर समूहका लागि आवश्यक जुत्ता चप्पल सुपथ मूल्यमा उपलब्ध गराएका छौं । यहाँ आएका ग्राहक मूल्य र भेराइटीका कारण फर्कनु पर्दैन । किनकी २ सय रुपैयाँको चप्पलदेखि १० हजार रुपैयाँको जुत्तासम्म यहाँ उपलब्ध छन् । उत्पादकहरुको सक्रियतामा मेला आयोजना भएकाले उत्पादकबाट सिधै ग्राहकसम्म जुत्ता पुग्छ । डिलर र रिटेलरको मार्जिन छुट्याउन नपर्ने भएकाले मूल्य पनि सस्तो पर्नजान्छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
मेला अब सीमित अवधिका लागि मात्रै सञ्चालन हुने भएकाले जुत्ता चप्पल खरिद गरी लाभ लिन म ग्राहकलाई आग्रह गर्दछु । सबै उमेर समूहका लागि जुत्ता चप्पल सपिङको लागि मेला उपयुक्त स्थल बन्न सफल छ । मेला आयोजनास्थल आसपासका उपभोक्ताहरु विशेष गरी प्राथमिकताका साथ मेलामा आएको पाएका छौं । स्वदेशी ब्राण्डलाई प्रवर्द्धन गर्नुपर्छ भन्ने मान्यता आम उपभोक्तामा बढ्दैै गएकाले पनि मेलामा ग्राहकको आकर्षण देखिएको हो ।
Comments are closed.