काठमाडौैं । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्घता देख्न सकिने बताएका छन् ।
राष्ट्रपति पौडेलले अछाम वैद्यनाथधाम कोटीहोम महायज्ञसहितको महाकुम्भ मेलाको बिहीबार उद्घाटनका अवसरमा बोल्दै गर्दै सबै जात, जाति, धर्म, सम्प्रदाय, भाषाभाषी बीचको समभाव र एकता नै संघीय लोकतान्त्रिक गणतन्त्रको मूल लक्ष्य रहेको बताए ।
‘सबै धर्म, संस्कृतिको संरक्षण गर्ने हाम्रो संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सास्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको छ । अधिकारका विभिन्न प्रकार उल्लेख गरेपनि सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपयोग गर्ने विषय नै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य हो,’ उनले भने ।
उनले कोटीहोम प्रारम्भ भएको आजको यस पवित्र दिनमा संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको त्यही दर्शनलाई सार्थक रूप दिन सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
‘स्वस्थ र सभ्य संस्कृतिको विकास गरी सामाजिक सुसम्बन्धमा आधारित समाजको निर्माण गर्ने तथा सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक, सद्भाव, ऐक्यवद्धता र सामञ्जस्य कायम गरी राष्ट्रिय एकता सुदृढ गर्ने राज्यको सामाजिक र सांस्कृतिक उद्येश्यलाई साकार रुप दिन आवश्यक छ भन्ने मलाई लाग्दछ,’ उनले भने ।
यस क्षेत्रको विकास, संरक्षण र संवद्र्धनको लागि विगतमा वैद्यनाथ क्षेत्र विकास संस्थाको गठन भई सरकार तथा जनसहभागिताबाट मन्दिर पुननिर्माणलगायतका काम हुनु खुशीको कुरा हो भन्दै उनले यस क्षेत्रको समग्र विकासका लागि विस्तृत अध्ययन गरी गुरुयोजना तयार गरी अल्प, मध्य र दीर्घकालीन रुपमा गरिने कामसहित पूर्वाधार निर्माणका काम गर्नुपर्ने आवश्यकता औल्याए ।
६/६ वर्षमा हुने लक्षहोमसहितको अर्धकुम्भ मेला, १२÷१२ वर्षको महालक्षहोमसहितको कुम्भमेला र १४४ वर्षमा गरिने कोटिहोम महायज्ञसहितको महाकुम्भमेलाको परम्परालाई निरन्तरता दिने अभिप्रायसाथ यो कुम्भमेला आयोजना गरिएको जनाइएको छ । राष्ट्रपति पौडेलले यो पवित्र स्थल तिर्थाटनबाटै आकर्षक पर्यटन केन्द्र बनेको बताउँदै यसप्रकारको धार्मिक कार्यक्रम गरेकोमा सुदुरपश्चिम क्षेत्रका सबै धन्य भएको बताए ।
Comments are closed.