काठमाडौं । कषि तथा पशुपन्छी विकास मन्त्रालय र केन्द्रीय सहकारी संघ लि. नेपाल बीचको सहमति भएको छ । केन्द्रीय दुग्ध सहकारी संघ लि. नेपालले दुग्ध उत्पादक कृषकहरुवाट दूध बिक्री गरे बापत दुग्ध उद्योगहरुबाट पाउनुपर्ने रकम लामो समयदेखि रोकिएको भन्दै उनीहरु आन्दोलनमा थिए ।
भुक्तानी पाउनुपर्ने मागसहित संघको नेतृत्वमा गत फागुन ८ गतेदेखि विभिन्न किसिमवाट आन्दोलनका कार्यक्रम भइरहेका थिए । शनिबार मन्त्रालयमा भएको सर्वपक्षीय बैठकबाट पाँचबुदे सहमति भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालको उपस्थितिमा दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संस्था लि. नेपाल, नेपाल डेरी एसोसियसन, डेरी उद्योग संघका प्रतिनिधि र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलको उपस्थितिमा सहमति भएको हो । किसानको माग पुरा गर्नेगरी सहमति भएको बताइएको छ ।
दुग्ध उत्पादक कृषकहरुलाई दूध बिक्री गरे बापत पाउनुपर्ने रकम निरन्तरता दिदै २०८० पौष मसान्तसम्मको रकमको भुक्तानी प्रत्येक उद्योगीहरुले यही २०८० साल चैत २१ सम्म गरिसक्ने सहमतिमा उल्लेख छ । प्रत्येक उद्योगले सहकारीबाट खरीद गरिरहेको दूधको परिमाणलाई नघटाई मिल्क होलिङ नहुने गरी निरन्तर खरीद गरिरहने पनि सहमतिमा उल्लेख गरिएको छ ।
दुग्ध उद्योगीहरुले दूध तथा दुग्ध पदार्थ निर्यातका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आवश्यक समन्वय गर्ने, दूध तथा दुग्ध पदार्थहरुको निर्यात प्रवर्द्धन सम्बन्धी विषयहरु नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने सहमतिमा उल्लेख छ ।
नेपाल सरकारले पशुपालक किसानहरुलाई दिईरहेको कृषि तथा पशुपन्छी बीमा कार्यक्रमलाई निरन्तरता दिने र केन्द्रीय दुग्ध सहकारी संघ लि. नेपालले राखेका अन्य मागहरु सम्बोधन गर्न पहल गर्ने सहमति भएको बार्तामा सहभागी नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए ।
Comments are closed.