काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले एक घण्टा भित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार गर्न निर्देशन दिएका छन् । आइतबार फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सुचना प्रविधि शाखा र मन्त्रालयको सुचना प्रविधि परामर्शदातासँग छलफल गर्दै मन्त्री अर्यालले आगामी शुक्रबारदेखि एक घण्टा भित्र श्रम स्वीकृति दिन सकिने गरी प्रणालीको सुधार गर्न निर्देशन दिएका हुन् ।
वैदेशिक रोजगारीको काम कारवाहीलाई प्रविधिमैत्री बनाउन वैदेशिक रोजगार विभागले फेमिस प्रणाली प्रयोगमा ल्याएको हो । तर, प्रणालीमा समय–समयमा समस्या आउने गरेपछि श्रमिकहरु समस्यामा पर्ने गरेका छन् । प्रणालीमा आउने समस्याका कारण श्रमिकले समयमा नै श्रम स्वीकृति नपाउँदा थप आर्थिक भार खेप्नु परेको छ । यसै समस्यालाई समाधान गर्न मन्त्री अर्यालले फेमिस प्रणालीमा तत्काल सुधार गर्न निर्देशन दिएका हुन् ।
मन्त्री अर्यालले संसारको कुनैपनि कुनाबाट श्रम स्वीकृतिको लागि श्रमिकले आवेदन दिदाँ एक घण्टा भित्रमा श्रम स्वीकृति दिन सक्ने गरी प्रणाली सुधार गर्न निर्देशन दिएका छन् । ‘तपाईहरुले काम गर्न सक्नुहुन्छ भने गर्नुहोस् अन्यथा अन्य विकल्प खोजेर भएपनि एक महिना भित्रमा एक घण्टामा श्रम स्वीकृति दिन सक्ने गरी फेमिस प्रणालीको सुधार गर्नेछु,’ आपूर्तिकर्तासँग छलफल गर्दै उनले भने ।
मन्त्रालयको सुचना प्रविधि परामर्शदाताले विगत एक सातादेखि फेमिस प्रणालीको निगरानी गरिरहेको छ । फेमिस प्रणालीको सफ्टवेयरको आपूर्तिकर्ता ई–बिमा कम्पनी हो भने हार्डवेयर आपूर्तिकर्ता दृष्टि टेक कम्पनी हो । सन् २०१६ मा विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकको तथ्यांक राख्न, अनलाईन टोकन र श्रम स्वीकृति प्रदान गर्नका लागि सफ्टवेयर खरिद गरेको थियो ।
Comments are closed.