पर्यटनको राजधानी घोषणा दूरगामी महत्व राख्ने गौरवको विषयः मेयर आचार्य

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई पर्यटन राजधानी घोषणा गर्ने विषय समग्र गण्डकी र पोखराबासीका लागि दूरगामी महत्व राख्ने गौरवको विषय भएको बताएका छन् । आइतबार प्रधानमन्त्री पुष्पमकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको छ । उक्त कार्यक्रमप्रति प्रक्रियता दिदै मेयर आचार्यले गण्डकी प्रदेशलाई पर्यटनको हबको रूपमा स्थापित गर्न र पोखरालाई पर्यटनको केन्द्रका रूपमा ब्राण्डिङ गर्नका साथै आर्थिक समृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

‘आफैमा अत्यन्त सुन्दर पोखरा पर्यटनको राजधानी घोषणा हुनु व्यवहारिक हिसाबले पनि सान्दर्भिक एवं न्यायोचित छ । हाम्रा अमूल्य कला, संस्कृति तथा परम्पराको जगेर्नामा समेत यसको ठुलो भूमिका रहनेछ,’ उनले भने, ‘पोखराको नगर प्रमुखका रूपमा निर्वाचित भएसँगै पहिलो निर्णयका रूपमा पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने संकल्पले आज मूर्तरूप पाएको छ । यस अर्थमा मलाई ठुलो सन्तोष मिलेको छ, यो खुसी म समग्र पोखरेली तथा गण्डकी प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीहरुँग साट्दै बधाई ज्ञापन गर्दछु ।’

पर्यटकीय राजधानी घोषणासँगै पर्यटनमैत्री सोच, भावना र व्यवहारका साथै पुर्वधारहरुको विकास गर्न आवश्यक रहेको उनले बताए । पोखरालाई पर्यटनको राजधानीका रूपमा थप सुन्दर, आकर्षक एवं व्यवस्थित बनाउन योजनाबद्ध कार्यक्रमहरूका साथ अगाडि बढ्ने प्रतिबद्धता उनले जनाएका छन् ।

उक्त कार्यक्रम मूल आयोजक समितिका संयोजक समेत रहेको उनलेक कार्यक्रम सफल बनाउन योगदान गर्ने सम्पूर्णप्रति आभार पनि व्यक्त गरेका छन् ।

You might also like

Comments are closed.