काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौंले अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा विभिन्न पाँच जना महिलाहरुलाई सम्मान गरेको छ । फरक फरक क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाएका महिलाहरुलाई मञ्चले सम्मान गरेको हो । शुक्रबार आयोजित एक कार्यक्रमबीच काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले उनीहरुलाई सम्मान प्रदान गरेकी हुन् ।
सम्मानित हुनेहरुमा महिला बडीबिल्डर रजनी श्रेष्ठ, महिला अग्निनियन्त्रक रति ढुंगाना, अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने उद्यमी गंगा छन्त्याल, कलाकार रसना बज्राचार्य र महिला सशक्तिकरणका क्षेत्रमा कार्यरत जुना माथेमा छन् । फरक फरक क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाएका महिलाहरुलाई सम्मान गर्न पाउँदा गौरव महसुस भएको मञ्च काठमाडौं च्याप्टर अध्यक्ष प्रार्थना शाखःले बताइन् ।
कार्यक्रममा बोल्दै उपमेयर डंगोलले युवा उद्यमीहरुले आफ्नो व्यावसायिक जिम्मेवारीसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय हुनु राम्रो पक्ष रहेको बताइन् । युवा उद्यमशीलता प्रवर्द्धन अभियानमा महानगर तयार रहेको पनि उनको भनाइ छ ।
मञ्चले शिखर इन्स्योरेन्ससँगको सहकार्यँमा ‘सेलिब्रेटिङ् ट्रेलब्लाजर्स’ कार्यक्रम आयोजना गरेको हो ।
मञ्चले उक्त अवसरमा महिला सशक्तीकरणसँग सम्बन्धित कार्यशालासमेत सम्पन्न गरेको छ । डा. भावना श्रेष्ठ र निदा दून मल्लले कार्यशालामा सहजीकरण गरेका थिए ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको मञ्चले जनाएको छ ।
Comments are closed.