पोखरा, २९ जेठ । जेके टायरको रिट्रिड सेन्टर पोखरामा स्थापना भएको छ । भारतमा ३५ स्थानमा रिट्रिड सेन्टर स्थापना गरेको कम्पनीको यो ३६औं सेन्टर हो । नेपालमा पहिलो पटक पोखराको औद्योगिक क्षेत्रस्थित स्वरुप टायर एण्ड ट्रेड इन्डष्ट्रिजमा रिट्रिड सेन्टर स्थापना गरिएको हो ।
बुधबार एक कार्यक्रमका बीच रिट्रिड सेन्टरको उद्घाटन गरिएको सञ्चालक मोहनबाबु खड्काले जानकारी दिए । कम्पनीका भाइस प्रेसिडेन्ट दीनेश डि दसानीले सेन्टरको औपचारिक शुभारम्भ गरे । उक्त अवसरमा बोल्दै उनले जेके टायर नेपाली बाटो तथा हावापानी सुहादो भएकाले बजार बिक्री राम्रो रहेको बताए । आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्ने लक्ष्यअनुसार रिट्रिड सेन्टर स्थापना गरिएको उनले भनाइ छ ।
अत्याधुनिक प्रविधिबाट टायरहरु रिपेयर गरिने खड्काले जानकारी दिए । ‘फुल्ली अटोमेटिभ मेसिनबाट ग्यारेन्टीका साथ रिपेरिङको काम गरिन्छ,’ उनले भने । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष चन्द्रबहादुर कुँवरले प्रतिस्पर्धी बजारमा कम्पनीहरुले स्तरीय सेवा दिएर ग्राहकको विश्वास जित्नुपर्ने बताए ।
कार्यक्रममा जेके टायरका जनरल म्यानेजर संदिप जैन, रिट्रिड हेड अजय चौरासिया, जेके टायर नेपाल हेड जितेश माथुर, एरिया म्यानेजर विक्रम सिंह, नेपाल डिष्ट्रिव्युटर रंजित पोखरेल लगायतको उपस्थिति थियो ।
Comments are closed.