वि.स. २१०० मा नेपाल

डा. बुद्धि मल्ल

नेपालले २१ औं शताब्दिको समाप्तिसंगै २२ औं शताब्दिलाई स्वागत गरेको छ । बिगत २ दशकदेखि नै उच्च आर्थिक बृद्धिको साथमा विकासमा महत्वपूर्ण फड्को मार्दै संसारभरका सञ्चार माध्यमहरुको ध्यानाकर्षण गर्न सफल नेपालको बारेमा लेखिएका समाचारहरु यस प्रकार छन् ।

१. बिगत २ दशकदेखि उच्च आर्थिक बृद्धि हांसिल गर्दै नेपाल विश्वमा एउटा समृद्ध देशको रुपमा स्थापित हुन सफल । बिगत १८ वर्षदेखि दोहोरो अंकको आर्थिक बृद्धि ।

२. नेपाल अब कृषि प्रधान देश मात्र रहेन, वार्षिक २ करोड भन्दा बढि पर्यटक भित्र्याएर संसारकै एक उत्कृष्ट पर्यटकीय गन्तव्यमा स्थापित हुन सफल ।

३. हिन्दु र बुद्ध धर्माम्बलीहरुको लागि उत्कृष्ट धार्मिक स्थल बन्यो नेपाल । नेपालका विभिन्न धार्मिक स्थलहरु उत्कृष्ट अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय गन्तब्यको सूचिमा परेपछि वार्षिक लाखौं धार्मिक पर्यटकहरु नेपाल आउने क्रम जारी ।

४. विकासको क्रमसंगै नेपालले विदेशबाट कामदारहरु भित्र्याउने क्रम जारी । भारत लगायत दक्षिण एशिया एवं अन्य बिभिन्न देशहरुका नागरिकहरुको लागि बैदेशिक रोजगारको एउटा उत्कृष्ट गन्तब्य बन्यो नेपाल ।

५. नेपालका जडिबुटीहरुको माग संसारभर रहेपछि नेपालमा अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र स्थापित । अनुसन्धानमा संसारभरका विभिन्न सयौं वैज्ञानिकहरुले विभिन्न अनुसन्धान गर्दै ।

६. खेलाडीको रुपमा सफल पारस खड्का, कोचको रुपमा पनि सफल ठहरिए । एशियन कप जितेपछि नेपाली क्रिकेटको ध्यान आउने विश्वकप बिजेता बन्ने । राम्रो हावापानी एवं सुविधाजनक क्रिकेट स्टेडियमले गर्दा आईसिसीले बिगत केहि वर्षदेखि नेपालमा धेरै अन्तर्राष्ट्रिय खेलहरु आयोजना गर्न प्राथमिकता दिंदै ।

७. संसारकै खुशी देशहरुमा नेपाल पहिलो स्थानमा । प्राकृतिक सुन्दरता, अर्गानिक खाना, धर्म, संस्कृति तथा संस्कार खुशीका प्रमुख कारणहरु । खुशीको मानंकमा बृद्धिसंगै धेरै वर्ष बाँच्ने देशहरुको सूचिमा पनि जापान पछि दोस्रो स्थानमा । संसारका विभिन्न देशका मानिसहरु नेपालीको जीवनशैली बुझ्न नेपाल आउने क्रम जारी ।

८. कुनै बेला अति धेरै भ्रष्ट्राचार हुने मुलुक नेपाल अहिले भ्रष्ट्राचार शून्य मुलुकमा परिणत । मुलुकको समृद्धिसंग भ्रष्ट्राचार पनि लगभग अन्त्य ।

९. आईटि क्षेत्रमा पनि नेपालको ठुलो फड्को । नेपालीले स्थापना गरेको केही कम्पनीहरुले विश्व बजारमा स्थान बनाउंदै । नेपालमा स्थापित आईटि युनिभर्सिटीमा विश्वभरका विद्यार्थीहरु अध्ययन गर्दै ।

१०. लगानी सम्मेलनमा नेपालमा लगानी गर्न विश्वका खर्बपतिहरुको ठुलो चांसो । कृषि, आईटि, सेवा तथा पर्यटनमा ठुला ठुला परियोजनामा लगानीको लागि सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न ।

११. गाउँगाउँ, डांडाकांड सबैठाउँमा एकदमै राम्रो यातायात सुविधा पुगेको र त्यहाँको पूर्वाधार विकास देखेर पर्यटकहरु मख्ख, होटल तथा अन्य क्षेत्रको ग्राहक सेवाबाट नतमस्तक भई भन्छन् ः हाम्रो देश पनि यस्तै बनाउनुपर्छ ।

१२. नेपाल प्रायजसो क्षेत्रमा आत्मनिर्भर । पटक पटक नाकाबन्दीले सास्ती खेप्नुपरेको र आयतमा निर्भर रहने नेपालले ठुलो मात्रामा निर्यात गर्ने देश बन्यो नेपाल ।

१३. राजनीति स्थिरतासंगै आर्थिक विकासको गति लिन थालेपछि देशमा बन्द हड्ताल हुन छाड्यो, नेपालको कानून दैबले जानून भन्ने पुरानो किंवदन्तिलाई मिथ्था सावित गर्दै कानूनी राज्यको रुपमा स्थापित गर्न देश सफल ।

१४. नेपालमा प्रशस्त ठुला अन्तर्राष्ट्रिय बैंकहरुले शाखा खोलेको र नेपालका बैंकहरुले पनि विदेशमा धेरै शाखा बिस्तार गरेकाले नेपालका बैंकहरुको प्रतिस्पर्धात्मक क्षमतामा बृद्धि भई अन्तर्राष्ट्रिय स्तरको सवल बैंकको रुपमा स्थापित । नेपाली बैंकरहरुको कूशलताले गर्दा बैंकहरुको निष्क्रिय कर्जा संसारमै न्यून ।

१५. विश्व राजनीतिमा समन्वयकर्ताको भूमिका राम्रोसंग निर्वाह गरेर विश्वमा शान्ति स्थापनाको लागि महत्वपूर्ण योगदान दिएवापत नेपाली सेनालाई संयुक्त राष्ट्रसंघले उचित सम्मान दिंदै कुनै पनि देशहरुमा बिवाद आएमा नेपाली सेनाको सहयोग, सल्लाह तथा मध्यस्थकर्ता अनिवार्य हुने घोषणा ।

सफा अनि चिल्ला चिल्ला सडकहरु, आफ्नै धुनमा तथा गतिमा निरन्तर गुडिरहेका गाडीहरु, ट्राफिक लाइटको आवश्यक्ता नै नपर्ने गरी बनाइएका अण्डरग्राउण्ड र ओभरग्राण्ड सडकहरु, काठमाडौं लगायत विभिन्न उपत्यकाहरुमा मेट्रो ट्रेन तथा विभिन्न स्थानहरुमा बुलेट ट्रेन सञ्चालन गरिएको, पहाड छेंडेर लामो दुरीको यात्रा एकदमै छोंटो गरिएको अनि बाटो चौडा गरिएको कारणले काठमाडौबाट पोखरा २ घण्टामा, काठमाडौबाट बिराटनगर ३ घण्टामा नै पुगिने सुविधाले अवस्थामा देशको कुना कुनाबाट कतिपय मानिसहरु दिनदिनै बिहान काठमाडौं कार्यालय आई बेलुकि आरामसंग घर फर्र्र्केको दृष्यले जो कोहीलाई पनि आनन्दित नबाउने कुरै भएन ।

फेवाताल भित्रै रेष्टुरेण्टहरु, सौराहामा होटलको छतबाट नै जंगली जनावरहरु अवलोकन गर्न पाइने, उपत्यका लगायत देशका विभिन्न डांडाहरुमा सरररर केहि मेनेटमा नै बुलेट केबुल कारबाट जान सकिने, प्याराग्लाईडिङ, बञ्जि जम्प जता खेलहरुको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता भइरहने, बलिउड तथा हलिउडका फिल्महरु निर्माताहरुले नेपाललाई सुटिङको लागि एक उत्कृष्ट गन्तब्यहरु मध्येको एक गन्तब्यको रुपमा छान्नुले पनि नेपाल एउटा रमणीय स्थलको रुपमा परिणत भएको छ ।

भारतसंग सहकार्य गरेर अन्तर्राष्ट्रिय ध्यान केन्द्रको स्थापना गरेको पनि एक दशक बितिसकेछ । अन्तर्राष्ट्रिय योग गुरुहरुको आवगमनसंगै नेपालले धेरै अन्तर्राष्ट्रिय योग सम्मेलन तथा प्रवचन कार्यक्रमहरु सम्पन्न गरिसकेको छ । नेपालको रेन्बो ट्राउट माछाको माग अन्तर्राष्ट्रिय बजारमा बढेसंगै माछापालन ब्यवसायको व्यावसायीकरण भएको र रेन्बो ट्राउट माछा र माछाका सुकुटीहरु अन्तर्राष्ट्रिय बजारमा निर्यात भइरहेको छ ।

नेपाली सागको व्यावसायीकरण भएपछि सागबाट उत्पादिन गुन्द्रुक संसारका विभिन्न देशका रेष्टुरेण्टहरुको मेनुमा पाईने गरेको छ । १२ वर्ष अघि नेपालमा सम्पन्न भएको अन्तर्राष्ट्रिय फुड फेष्टिभलको अपार सफलतापछि नेपाली खानेकुराहरुले विश्वभर चर्चा पाएको थियो । नेपाली दाल, भात तरकारीको साथै नेवारी परिकारहरुको स्वाद विदेशीहरुको जिब्रोमा झुण्डिन पुगेको थियो, फलस्वरुप केही नेपाली रेष्टुरेण्टहरुले विदेशमा समेत शाखा खोलेर सेवा दिइरहेको छ भने, खाना प्रेमी विदेशीहरुले नेपाली परिकारहरु अनलाइनबाट मगाएर पनि खाने परम्परा बसेको छ भने केहि भने खाना खानकै लागि मात्रै नेपाल आउने गरेका छन् ।

कृषि विश्वविद्यालयमा परिणत भएपछि रामपूर कृषि क्याम्पसमा विश्वभरबाट विद्यार्थीहरु पढ्न आउने र स्नाकोत्तर, एमफिल तथा पिएचडी विद्यार्थीहरु अनुसन्धानको लागि आउने क्रम जारी छ । विभिन्न विश्वविद्यालयहरुले अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन थालेपछि नेपाल दक्षिण एशिया तथा अन्य मुलुकका विद्यार्थीहरुको लागि शैक्षिक केन्द्रको रुपमा स्थापित भएको छ । गत वर्ष मात्रै हजारौ विदेशीहरु अनुसन्धानको लागि रामपुर आएका थिए ।

प्रकृतिले नै नेपालका अधिकांश भूभागलाई रिसोर्ट बनाइदिएकाले प्राकृतिक वातावरणले पनि सृजनात्मक कार्यहरुलाई अनुकुल बनाइदिएकाले नेपाली लेखकहरुका पुस्तकहरुले अन्तर्राष्ट्रिय बजारमा स्थान बनाउदै गएको र गत वर्ष मात्र एउटा पुस्तकले अन्तर्राष्ट्रिय बेष्ट सेलर पुस्तक बनेको थियो भने नेपाली पब्लिकेशन हाउसहरुले अन्तर्राष्ट्रिय बजारमा राम्रो बजार कब्जा जमाउन सफल भएको छ । नेपाली चित्रकार, मूर्तिकारहरुको चित्र तथा मूर्तिहरुले पनि अलग्गै पहिचान बनाउन सफल भएको छ ।

माथिका सम्पूर्ण कुराहरु काल्पनिक भएतापनि असम्भव भने होइनन् । पटक पटकको नाकाबन्दी, प्राकृतिक प्रकोप, कोरोना महामारी जस्ता घटनाहरुबाट पीडित नेपाल र नेपालीहरु आफू र देशको सुनौलो भविष्यको कल्पना गर्छन् । अहिले विकसित देशको रुपमा स्थापित देशहरु पनि करिब २०–२५ वर्ष अघिसम्म अविकसित तथा गरिब मुलुक नै थिए तर, उनहिरुको अथाह आत्मविश्वास, सकरात्मक सोंच, सहि नीति निर्माण तथा निरन्तर मेहनतको प्रतिफल स्वरुप उनीहरु एउटा समृद्ध देशको रुपमा स्थापित हुन सफल भएका छन् । आशा गरौं नेपाल पनि समृद्ध मुलुकको बाटोमा जानेछ र बिक्रम सम्बत २१०० मा एउटा समृद्ध मुलुकको रुपमा आफूलाई स्थापित गर्नेछ, वैदेशिक रोजगारमा जाने होइन, वैदिशक रोजगार भित्र्याउने मुलुक बन्नेछ, आयात गर्ने होइन, निर्यात गर्ने मुलुक बन्नेछ । बिक्रम सम्बत २१००, समृद्धिका दिन आए ।

लेखक डा. बुद्धि मल्ल बैंकर हुन् ।

You might also like

Comments are closed.