नेपाल डेरी एसोसिएसनले दुग्ध क्षेत्रको समसामयिक विषयमा बृहत छलफल गर्ने

बुटवल । नेपाल डेरी एसोसिएसनले दुग्ध क्षेत्रको समसामयिक विषयमा बृहत छलफल तथा अन्तरक्रिया गर्ने भएको छ ।

एसोसिएसनको २६औं स्थापना दिवस तथा साधारणसभाको अवसरमा दुग्ध क्षेत्रको बर्तमान अवस्थाको समिक्षासहित दुग्ध क्षेत्रको विकासका लागि भावी रणनीति समेत तय गर्ने एसोसिएसनले जनाएको छ ।

एसोसिएसनको साधारणसभा लुम्बिनी प्रदेशको बुटवलमा माघ ७ गते हुँदैछ । डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि पुस्ता हस्तान्तरणको नीतिसमेत साधारणसभाबाट लिने तयारी गरिएको अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए । ‘हामीले डेरी क्षेत्रमा नयाँ पुस्ताको प्रवेशका लागि आह्वान गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘युवाहरु विदेशिने क्रम बढिरहेको अवस्थामा स्वदेशमै बसेर डेरी क्षेत्रमा सम्भावना खोज्न सकिन्छ भन्ने सन्देश हामीले दिनेछौं ।’

लुम्बिनीमा हुने एसोसिएसनको तयारी अन्तिम चरणमा पुगेको एसोसिएसनका लुम्बिनी प्रदेश अध्यक्ष तथा कार्यक्रम संयोजक थानेश्वर न्यौपानेले जानकारी दिए । साधारणसभामा देशभर सातै प्रदेशबाट प्रतिनिधिहरु सहभागी हुने एसोसिएसनका महासचिव हेमचन्द्र खनालले जानकारी दिए ।

lcci
You might also like

Comments are closed.