नेपाल चेम्बर अफ कमर्सले यस पटक आठौं संस्करणको चेम्बर एक्स्पो आयोजना गरेको छ । चेम्बर अन्तर्गत मेला समितिको सभापति भएकाले मैले चेम्बर एक्स्पोको संयोजन गरिरहेको छु । मेलालाई सफल बनाउन र बिगतमा भइरहने मेला महोत्सव भन्दा फरक बनाउनका लागि हामीले आफ्नो ठाउँबाट सक्दो प्रयास गरिरहेका छौं ।
देशको आर्थिक तथा औद्योगिक विकासका लागि एक्स्पोले सकारात्मक योगदान गर्नेमा हामी विश्वस्त छौं । यस वर्ष एक्स्पोमा सूचना तथा प्रविधिलाई विशेष प्राथमिकता दिइएको छ । प्रविधिको प्रवद्र्धन गर्दै आर्थिक विकासलाई तीव्र गति दिन एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं ।
नेपाललाई सूचना तथा प्रविधिको हबका रूपमा स्थापित गर्न सफ्टवेयर र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रको विकास अपरिहार्य छ । यसै अनुरूप, यस वर्ष चेम्बर एक्स्पोमा ‘सफ्टवेयर एण्ड एआई प्रोजेक्ट’ स्टल विशेष आकर्षणको रूपमा रहनेछ । यसले नेपाली प्रविधि क्षेत्रका नविनतम उपलब्धिहरूलाई प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय प्रविधिसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नेछ ।
चेम्बर एक्स्पो नेपाली उत्पादनको बजारीकरण, स्वदेशी उद्योग प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय व्यापार सम्बन्ध विस्तार गर्नमा पनि सहयोग पुग्नेछ । हामीले स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन व्यवसायीहरूलाई सहजीकरण गर्ने लक्ष्य लिएका छौं । कृषिजन्य उत्पादनदेखि हस्तकलासम्म, टेक्सटाइलदेखि सूचना प्रविधिसम्मका नवप्रवर्तनहरूलाई प्रवद्र्धन गर्दै एक्स्पोले नेपाली बजारलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न मद्दत गर्नेछ ।
एक्स्पोमा १२५ भन्दा बढी स्टल रहनेछन् । ती स्टलमध्येमा यस वर्ष १२ वटा स्टलमा सूचना तथा प्रविधिका नवीनतम आविष्कारहरू प्रदर्शन गरिनेछन् । नेपाली उत्पादनका स्टलहरुलाई पनि विशेष प्राथमिकतामा राखिनेछन् । साथै, बंगलादेश, भारत, चीन, दक्षिण कोरिया, मलेसिया, पाकिस्तान लगायतका मुलुकका बस्तु तथा उत्पादन पनि स्टलमा देख्न सकिनेछ ।
एक्स्पोमार्फत देशको आर्थिक क्षेत्रलाई सशक्त बनाउनु नै हाम्रो लक्ष्य र उद्देश्य हो । यही विश्वासका साथ हामीले सम्पूर्ण उद्यमी, व्यवसायी तथा प्रविधि प्रेमीहरूलाई चेम्बर एक्स्पोमा सहभागिताका लागि आमन्त्रण गरिरहेका छौं ।
Comments are closed.