‘आइटी अध्ययन गरेका विद्यार्थी बेरोजगार बस्नुपर्दैन’

प्रमोद पौडेल, प्रिन्सिपल, सफ्टवेरिका कलेज

सफ्टवेरिका कलेज अफ आइटी एण्ड इ–कमर्श र सनवे कलेजमा सूचना तथा प्रविधिका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको पढाई हुँदै आइरहेको छ । एआई शिक्षा, स्टार्टअपलाई प्रवर्द्धन, नेपालको प्रविधिका क्षेत्रमा यी कलेजले योगदान पुर्याइरहेका छन् । यसैक्रममा सफ्टवेरिका कलेजका चिफ तथा सनवे कलेजका एकेडेमिक डाइरेक्टर प्रमोद पौडेलसँग गरिएको संक्षिप्त कुराकानीः

हाल आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले विश्वभर चर्चाको विषय बनेको छ । तपाईंको विचारमा यसको महत्व के छ ?
हालका वर्षहरूमा एआईले विश्व बजारमा ठूलो चर्चा कमाएको छ । यसले विश्वभर तहल्का मच्चाइरहेको छ । डिपसिकदेखि ओपन एआई जस्ता प्लेटफर्महरूले अमेरिका, चीन जस्ता देशहरूमा क्रान्तिकारी परिवर्तन ल्याएका छन् । विश्वभर अन्य देशहरुमा पनि यसको प्रयोग बढेको छ । एआई क्षेत्रमा काम गर्ने कम्पनीहरूको मूल्यांकन विश्व बजारमा धेरै उच्च छ, जसले यस क्षेत्रको सम्भावनालाई देखाउँछ । नेपालमा पनि यो क्षेत्रमा काम भइरहेको छ । हामी आशावादी छौं कि नेपालले पनि यस क्षेत्रमा आफूलाई स्थापित गर्न सक्छ ।

सफ्टवेरिका कलेज र सनवे कलेजले एआई शिक्षामा कसरी योगदान गरिरहेका छन् ?
सनवे कलेजमा हामी ‘एआई लिडर्स’को पहल सुरु गरिसकेका छौं । हाम्रो लक्ष्य विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने हो । सफ्टवेरिका कलेजमा पनि हामी आईटीका विभिन्न विधाहरू अध्यापन गराइरहेका छौं, जसले विद्यार्थीहरूलाई भविष्यको लागि तयार पार्छ ।

आइटीको अनुसन्धान र विकासको क्षेत्रमा तपाईंहरूका उपलब्धिहरू केकस्ता छन् ?
हामीले एआई सम्बन्धी अनुसन्धानमा उल्लेखनीय प्रगति गरेका छौं । हाम्रा प्राध्यापक तथा विद्यार्थीहरूले नयाँ प्रविधिहरू विकास गरिरहेका छन् । काठमाडौंमा आयोजित ‘चेम्बर एक्स्पो २०२५’मा हामीले अटोमेटिक बिन, रोबोट, सेल्फ–अटोमेटिक मेसिन जस्ता प्रविधिहरू प्रदर्शन गर्यौं । जहाँ अवलोकनकर्ताको आकर्षण देखियो । शैक्षिक संस्था भएकाले हामी अनुसन्धानमा केन्द्रित छौं र यसको बजारीकरण र प्रवर्द्धनका लागि नेपाल चेम्बर अफ कमर्ससँग निरन्तर समन्वय गरिरहेका छौं। अन्य संघसंस्थासँग पनि सहकार्य गरी काम गरिरहेका छौं ।

आइटी क्षेत्रमा नेपालमा स्टार्टअपको सम्भावना कस्तो छ ? तपाईंहरूको संस्थाले यसमा कसरी सहयोग गरिरहेको छ ?
सफ्टवेरिका र सनवे कलेजबाट स्टार्टअपहरूलाई सहयोग र प्रवर्द्धन गरिरहेका छौं । हामी नेपालमै बसेर अन्तर्राष्ट्रिय स्तरमा काम गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने प्रयास गरिरहेका छौं, जसले विदेशी मुद्रा आर्जन गर्न मद्दत गर्छ । यसले नेपालको आर्थिक विकासमा योगदान पुग्छ र रोजगारीको अवसर पनि बढाउँछ ।

नेपालमा प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको माग कस्तो छ ?
आईटी र प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको माग दिन प्रतिदिन बढिरहेको छ । आइटी अध्ययन गरेका विद्यार्थी बेरोजगार बस्नुपर्दैन  । विशेष गरी सफ्टवेरिका र सनवे कलेजका विद्यार्थीहरू बेरोजगार बस्नुपरेको अवस्था छैन । नेपालभित्र र बाहिर दुवै क्षेत्रमा यी विद्यार्थीहरूका लागि प्रशस्त अवसरहरू उपलब्ध छन् । नेपालमै बसेर अन्तर्राष्ट्रिय कम्पनीहरूका लागि काम गर्ने विद्यार्थीहरूको संख्या बढ्दो छ । स्वदेशी बहुर्राष्ट्रिय कम्पनीहरूमा पनि हाम्रा विद्यार्थीहरू सफलतापूर्वक संलग्न भइरहेका छन् । सरकार, आईटी क्षेत्रसँग सम्बन्धित संस्था तथा नेपाल चेम्बर अफ कमर्सले पनि प्रविधि क्षेत्रमा नयाँ प्लेटफर्म निर्माण गर्दै लगेको देख्दा हामी उत्साहित छौं ।

पछिल्लो समय विद्यार्थीहरू विदेशतर्फ आकर्षित छन् । उनीहरु विदेशिनुको मुख्य कारण के होला ?
विद्यार्थीहरू विदेश जाने विभिन्न कारणहरू छन् । अध्ययनका लागि मात्र विद्यार्थीहरू विदेश जान्छन् भन्ने कुरा गलत हो । जब म विद्यार्थीहरूसँग कुरा गर्छु, उनीहरू प्रायः आप्रवासन (माइग्रेसन) को लक्ष्य राखेर विदेश जाने गरेको बुझ्छु । अध्ययनकै लागि मात्र भनेर विदेश जाने विद्यार्थीहरूको संख्या कुल संख्याको लगभग २०% मात्र रहेको अनुमान छ । नेपालमै अन्तर्राष्ट्रिय स्तरका पाठ्यक्रमहरू अध्ययन गर्न सकिन्छ। त्यसैले, अध्ययनकै लागि मात्र विदेश जानुपर्छ भन्ने सोचाइ सत्य होइन ।

आगामी दिनमा तपाईंहरूको लक्ष्य के छ ?

हामी प्रविधि क्षेत्रमा नेपाललाई नयाँ उचाइमा पुर्याउन कटिबद्ध छौं । नयाँ पुस्तालाई नवाचार, अनुसन्धान र प्रविधिमा सक्षम बनाउन हामीले समर्पित रूपमा काम गरिरहेका छौं। नेपाल प्रविधि क्षेत्रमा अगाडि बढ्ने यात्रा तय गर्दैछ, र हामी यस परिवर्तनको महत्वपूर्ण हिस्सा बन्नेछौं ।

You might also like

Comments are closed.