मन्त्रीले गरे दूरसञ्चार प्राधिकरण निर्देशक घिमिरेको प्रशंसा

काठमाडौं । सुरक्षित इन्टरनेट दिवसको अवसरमा नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा अन्य सरोकारवालाहरूको सहकार्यमा होटल रेडिसनमा मंगलबार विशेष कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा साइबर सुरक्षाको बढ्दो महत्वबारे प्रकाश पार्दै सरकारले गरिरहेका प्रयासबारे जानकारी गराएका थिए । उनले सामाजिक सञ्जाल विधेयकमार्फत डिजिटल माध्यममा बढ्दै गइरहेका अपराध र विकृति नियन्त्रण गर्ने लक्ष्य रहेको बताए ।

मन्त्री गुरुङले दूरसञ्चार क्षेत्रमा कार्यरत कर्मचारीलाई निर्धक्क भएर काम गर्न हौसला प्रदान गरे । सो अवसरमा उनले प्राधिकरणका निर्देशक अर्जुन घिमिरेको कार्यसमर्पणको प्रशंसा गरेका थिए ।

हाल प्राधिकरणमा कर्मचारी संख्या कम रहेको, केही कर्मचारी निलम्बनमा परेका र केहीको मुद्दा अदालतमा विचाराधीन रहेको बताउँदै यस्तो कठिन परिस्थितिमा घिमिरे र उनको टोलीले निरन्तर सेवा प्रदान गरिरहेकोमा उनले प्रशंसा व्यक्त गरे ।

दूरसञ्चार प्राधिकरणको कार्यभार बढ्दै गएको अवस्थामा सीमित कर्मचारीले विभिन्न शाखाको जिम्मेवारी सम्हालेका छन् । निर्देशक घिमिरेले मात्रै प्रशासन, वित्त, उपभोक्ता मामिला लगायतका क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।
साथै, उनले टेलिकम तथा इन्टरनेट सेवाप्रदायकहरूलाई सुशासनमा ल्याउने, अनियमित प्रतिस्पर्धा रोक्ने तथा कानुन उल्लङ्घन गर्नेहरूमाथि निगरानी बढाएका छन् ।

यद्यपि, कार्यक्रममा प्राधिकरणको कार्यक्षमतामाथि चिन्ता व्यक्त गर्दै सेवाप्रदायक, परामर्शदाता तथा अन्य सरोकारवालाले विभिन्न आवेदनहरू लामो समयदेखि रोकिएको, विदेशी मुद्रा सटही लगायतका महत्त्वपूर्ण प्रक्रियाहरूमा ढिलाइ भइरहेको गुनासो गरेका थिए ।

साथै उनीहरूले प्राधिकरणको नेतृत्व टोलीसामु साइबर सुरक्षाको मजबुती, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रभावकारी व्यवस्थापन तथा दूरसञ्चार क्षेत्रका समसामयिक समस्याहरू समाधान गर्नुपर्ने चुनौती रहेको औंल्याए । त्यस्तै अध्यक्षको कार्यालयमा निर्णय पर्खिरहेका महत्त्वपूर्ण फाइलहरूको थुप्रो रहेको तथा उद्योग परामर्शको अभाव रहेको विषयमा उनीहरूले ध्यानाकर्षण गराएका थिए ।

हालैमात्र मन्त्री गुरुङको प्रत्यक्ष पहलमा सातै प्रदेशमा दूरसञ्चार क्षेत्रमा देखिएका समस्या र चुनौतीको समाधानको सन्र्दभमा सरोकारवालाबीच अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दूरसञ्चार प्राधिकरण, सेवाप्रदायहरूका साथै प्रदेश प्रदेशका मुख्यमन्त्री तथा मातहतका निकायको सक्रिय सहभागिता थियो ।

You might also like

Comments are closed.