‘वाडा अटो शो’को तयारी तिब्र, ३५ कम्पनीले गरे स्टल बुकिङ, टिकट बुकिङ सुरु

पोखरा । पोखरामा हुने ‘नाडा प्रिजेण्ट्स् वाडा अटो शो २०२५’को तयारी तिब्र बनाइएको छ । आगामी चैत्र १४ देखि १७ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनीकेन्द्रमा हुने अटो शोका लागि स्टल बुकिङ धमाधम भइरहेको आयोजक पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)का महासचिव तथा प्रचारप्रसार संयोजक विनय थापाले जानकारी दिए ।

थापाका अनुसार हालसम्म ३५ कम्पनीले स्टल बुकिङ गरिसकेका छन् । २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, हेभि कमर्शियल तथा मेसिनरी इक्युप्मेन्ट्स्, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरण लगायत कम्पनीहरुले स्टल बुकिङ गरेका छन् । ‘स्टल बुकिङ जारी छ । अन्य कम्पनीहरु पनि स्टल बुकिङका लागि तयार अवस्थामा छन्,’ उनले भने, ‘हामी अटो शोको तिब्र तयारीमा जुटेका छौं ।’

वाडा अटो शोका लागि टिकट बुकिङ पनि खुल्ला भइसकेको अध्यक्ष दीपेन्द्र कोइरालाले जानकारी दिए । खल्ती वालेटबाट टिकट बुकिङ गर्न सकिने उनले जानकारी दिए । टिकट शुल्क सय रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ कायम गरिएको छ ।

आर्थिक चलायमान बनाउन र अटोमोबाइल क्षेत्रलाई थप गतिशील बनाउन अटो शोले सकारात्मक योगदान गर्ने वाडाका उपाध्यक्ष एवं अटो शो संयोजक निरन केसीले बताए ।

You might also like

Comments are closed.