काठमाडौं । पछिल्लो समय नेपाली बजारमा दुई नयाँ इभी गाडीको चर्चा चुलिएको छ । हालै नेपाली बजारमा सार्वजनिक भएको एमजी एस५ र छिट्टै सार्वजनिकको तयारीमा रहेको क्रेटा इभी चर्चामा छन् ।
‘मिड साइज सेगमेन्ट’का यी दुई एसयुभी पावर ट्रेन, मूल्य र विशेषताका आधारमा एक अर्कामा प्रतिस्पर्धीसमेत मान्न सकिन्छ । बिगत ६ वर्षयता जेडएस इभी मार्फत इन्ट्री गरेको एमजीले अहिले सोही मोडललाई परिस्कृत गरेर नयाँ मोडल एस५ ल्याएको हो । प्योर इभी प्लेटफर्ममा बनेको एस५ जुन मूल्यमा सार्वजनिक भयो, उक्त मूल्यलाई लिएर विभिन्न टिकाटिप्पणी समेत हुन थालेको छ । एस५ को सुरुवाती मूल्य ४४ लाख कायम गरिएको छ । यो मूल्य बेस भेरियन्टका लागि भएपनि टप भेरियन्टको भने ५४ लाख रुपैयाँ नै तिर्नुपर्नेछ ।
केही दिनमै लन्च हुने तयारीमा रहेको क्रेटा इभीलाई काउन्टर दिने गरी एमजी एस५को मूल्य तय गरिएको अनुमान गर्न सकिन्छ । नेपाली सडकमा छिट्टै देख्न सकिने क्रेटा इभी विभिन्न भेरियन्टमा उपलब्ध रहने हुँदा ग्राहकले आफ्नो बजेट अनुसारको अप्सन छनोट गर्न पाउनेछन् । जसका कारण एमजी एस५ कै हाराहारी मूल्यमा समेत क्रेटा इभी ग्राहकले चढ्न पाउने अनुमान गर्न सकिन्छ । यद्यपि, क्रेटा इभीको मूल्य सार्वजनिक भने भएको छैन ।
एस५ को मूल्य किन कम ?
एमजी एस ५ को मूल्य अनुमान गरेभन्दा कम हुनुका पछाडि यस अगाडि बिक्री हुँदै आएको जेडएस इभीको गिर्दो साँखलाई जोगाउन सकिन्छ कि भन्ने विश्वास आयातकर्ता पारामाउन्ट मोटर्सले लिएको हुन सक्छ । तथापि, मूल्य सस्तो भएकै कारण एस५ ले सोचेजस्तो बजार लिन सक्ने अवस्था भने देखिदैन ।
यस अगाडि जेडएस इभी प्रयोग गर्दै आएका एक ग्राहकले एस५ राम्रै मूल्यमा आएपनि यसअघिको जेडएस इभीबाट हैरानी खेप्नु परेको दुखेसो व्यक्त गरे । एमजीको नयाँ इभीलाई विश्वास गरिहाल्न नसकिने उनको भनाइ छ । ‘मैले बिगत २ वर्षदेखि जेडएस चढिरहेको छु, तर यो गाडीले मलाई धेरै दुःख दिएको छ, जसका कारण एमजीप्रति म सकारात्मक हुन सक्दिन,’ उनले भने । गाडीको संख्या अनुसार सर्भिस सेन्टर नहुँदा र स्पेयर्स पार्टससमेत सहजै उपलब्ध नहुँदा सास्ती खेप्नुपरेको एमजीका धेरै ग्राहकहरुको गुनासो छ । त्यसो त यस अघि जेडएस इभीमा निम्तिएको आगलागीको घटना र त्रिभुवन विमानस्थल परिसरको भयंकर दुर्घटनाका कारण पनि ग्राहकहरु एमजीप्रति विश्वस्त भइहाल्ने आधार देखिदैन ।
किन कुर्ने क्रेटा इभी ?
क्रेटा नेपाली बजारमा सन् २०१६ बाट बिक्री वितरण भइरहेको छ । हाल १० हजार भन्दा बढी युनिट क्रेटा नेपाली सडकमा गुडिरहेका छन् । इभी भर्सनमा समेत उपलब्ध हुँदा ग्राहकको रोजाईमा क्रेटा पर्ने विश्वास गर्न सकिन्छ । आयातकर्ता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले देशभर सर्भिस सेन्टरको तिब्र विकास गर्दैै इभीको लागिसमेत राम्रो पूर्वाधार तय गरेकाले क्रेटा इभीको प्रतिस्पर्धी एमजी एस५ बन्न नसक्ने विश्लेषण गर्न सकिन्छ ।
हाल प्रयोग गर्दै आएको जेडएस एक्स्चेन्ज गरेर नयाँ इभी किन्ने सोच बनाएको बताउँदै एक इभी पारखीले भने, ‘म अब क्रेटा इभीलाई कुरेर बसेको छु । क्रेटा नेपाली बजारमा स्थापित भएको एसयुभीसमेत हो । यो गाडी किनेपछि बिक्री पछिको सेवा पाउन सहज हुनेमा म विश्वस्त छु ।’
Comments are closed.