असहायको भरपर्दो सहारा मानवसेवा आश्रम, हेमजामा बन्दैछ मानवसेवा धाम

हरि बाँस्तोला
पोखरा, ३ साउन । अहोरात्र खुल्ला आकाशमुनी नारकीय जीवन विताएका समाजका असहाय एवं मनोरोगीका लागि यहाँको एक संस्था यतिखेर बरदान सावित भएको छ ।

पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनस्थित मानव सेवा आश्रमले सडकमा लामो समयदेखि कष्टकर जीवन विताउँदै आएका मानिसहरुलाई उद्धार गरि गाँस, वास र कपासको व्यवस्था सहित दिएको पारिवारिक वातावरण उनीहरूका लागि पुर्नजन्म जस्तै बनेको छ ।

पोखरा बजारका सडक एवं सार्वजनिक स्थलमा कहालि लाग्दो जीवन विताएका अनाथ, अशक्त, असहाय एवम् मनोरोगीको उद्धार गरि उनीहरूको उपचार, पालनपोषण, संरक्षण गर्दै पुनः पारिवारिक पुनर्मिलन गराउन थालिएको मानव सेवा आश्रम कास्कीका अध्यक्ष होमनाथ तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार २०७४ साल चैत १७ पोखरा बजारका विभिन्न स्थानबाट एकैदिन उद्धार गरिएका २३ जनाबाट शुरु गरिएको आश्रममा हाल दुई महिने शिशु सहित ९१ बर्षका जोष्ठ नागरिक लगायत कूल ९० जना छन् ।

आश्रममा आश्रित समाजका अनाथ, अपाङ्ग, अशक्त, असहाय एवम् मनोरोगीको उद्धार, उपचार, पालनपोषण, संरक्षण तथा पारिवारिक पुनर्निलनको माध्यमबाट नेपाललाई सडक मानव मुक्त गर्ने लक्ष्यका साथ संस्थाको स्थापना गरिएको हो ।

पोखरा रामबजारस्थित एसोएस बालग्राम आमा समुह एवम् सफल बचत तथा ऋण सहकारी संस्था पोखरा ७ घारीपाटनद्वारा एक छाक खानाको लागि १७ हजार पाँच सयका दरले सहयोग प्राप्त भएको उनले जानकारी दिए ।

उत्पादनसंगै मनोरोगीहरुको जीवनशैलीमा समेत परिवतन आउने र त्यसले सामाजिक जीवनमा लैजान महत्वपूर्ण सहयोग पुग्ने विश्वासका साथ आश्रमको हातामा तरकारी खेती समेत शुरु गरिएकोछ ।

संस्थाको कास्की शाखामा उनीहरूको पालन पोषणमा दैनिक ३५ देखि ४० हजारसम्म खर्च हुने गरेको उनको भनाई छ ।

पोखरामा सञ्चालित विभिन्न संघसंस्था, स्थानीय तह लगायत जन्मोत्सव, विवाहगाँठ, पुण्य तिथि, लगायतका विभिन्न पर्वमा गरिने सहयोगले आश्रम सञ्चालन हुँदै आएको बताउँदै उनले आश्रममा हाल खानाको समस्या नभए पनि लत्ता कपडा, उपचारमा भने कठिनाइ हुने गरेको धारणा राखे ।

आश्रमका लागि गण्डकी प्रदेश सरकारबाट आर्थिक वर्ष २०७५।७६ मा ६ लाख रुपैयाँ, पोखरा महानगरपालिका वडा नं. ८, ९ र १७ बाट ५०÷५० हजार रुपैयाँका दरले रकम प्राप्त भएको बताउँदै अध्यक्ष तिमिल्सिनाले वार्षिक डेढ करोड रुपैयाँ पालनपोषणमा मात्र खर्च हुने गरेको जानकारी दिए ।

पोखरा बजारमा कष्टकर जीवन विताउन बाध्य दुई सय ५० जनाको उद्धार गरिएको बताउँदै उनले कास्की, गोरखा, पाल्पा, तनहुँ स्याङजा लगायतका विभिन्न जिल्लाका ७० जनालाई उपचार पछि पुनः परिवारमा पुनर्मिलन गराइसकिएको बताए ।

मानव सेवा आश्रम कास्कीका सह संयोजक राजन सापकोटाका अनुसार सडकबाट प्रहरी, आमा समूह, क्लव एवम् स्थानीय वासिन्दाको सहयोगमा उद्धार गर्नुभन्दा पनि आश्रममा ल्याई सकेपछि सरसफाई र पारिवारिक वातावरणमा रुपान्तरण गर्न लामो समय लाग्ने गरेको छ ।

आश्रममा आश्रित आमाबुवामा पुरानो कपडा लगाउँदा मानसिक असर पर्ने गरेको कारण नयाँ कपडामा जोड दिैदै आएको बताउँदै उनले दाताको सहयोगबाट आश्रम सञ्चालन हुँदै आएको जानकारी दिए ।

पृथ्वी राजमार्ग वस सञ्चालक समितिका महासचिव योगेन्द्र केसीले पछिल्लो समय मुलुकका सातवटै प्रदेशमा आश्रम सञ्चालनसँगै सडकका मुख्य बजारमा असहाय एवं मनोरोगीको संख्यामा कमि आए पछि ती व्यक्तिका कारण हुने दुर्घटनामा कमी आएको बताए ।

‘सबैका लागि खाना, नाना र छाना हाम्रो चाहना’ मुख्य नारा सहित मकवानपुरमा मुख्य कार्यालय रहेको संस्थाका मोरङ, काठमाडौं, चितवन, ललितपुर, गोरखा, लमजुङ, पर्सा, बागलुङ, कास्की, रुपन्देही र धनगढी, सुर्खेत लगायतका १२ वटा जिल्लामा शाखा तीन वटा उपशाखा छन् ।

मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीका अनुसार २०६९ सालमा स्थापना भएको संस्थाले आठ हजार भन्दा बढी सडक मानव एवं मनोरोगीको उद्धार गरिसकेको छ ।

यस अवधिमा २० भारतीय र एक जना वंगलादेशी महिला सहित चार सय जनालाई पारिवारिक पुनर्मिलन गराइ सकिएको उनले जानकारी दिए ।

अध्यक्ष तिमिल्सिनाका अनुसार सडकमा उद्धार गरिएका महिलाबाट जन्मिएका सन्तानका लागि गोरखा जिल्लामा बाल गोपाल नमूना बालशाखा सञ्चालन गरिएको छ । जुन शाखामा हाल विभिन्न जिल्लाका ३५ जना बालबालिका आवद्ध छन् ।

कुनै पनि वैदेशिक दातृ राष्ट्रको सर्त सहितको सहयोग नलिई मुठ्ठीदानबाट सञ्चालन लक्ष्यका साथ मानवताका लागि सञ्चालन भएको आश्रमका लागि अहिले स्थानीय सरकारको महत्वपूर्ण सहयोग रहदै आएको उहाँको भनाई छ ।

‘एक गास भोजन र एकसरो कपडाका अभावमा कसैले पनि सडक जीवन बिताउन नपरोस, दिशा पिसाव र फोहोरमा लत्पत्तिएर जीवनको भिख माग्न नपरोस्’ भन्ने अभियानका साथ आश्रम सञ्चाल गरिएको अध्यक्ष तिमिल्सिनाले बताए ।

नेपालमा २०८२ सालसम्ममा कुनै पनि सडकपेटी एवं सार्वजनिक स्थलमा अत्यन्त कष्टपूर्ण जीवनयापन गर्न बाध्य हुनुपर्ने अवस्थाको अन्त्यका लागि संस्था कटिबद्ध रुपमा लागेको उनले स्पष्ट पारे ।

‘दाता दिने बेलामा खुशी, दिइरहेको बेलामा शान्त र दिइसकेपछि सर्वोत्कृष्ट हुन्छ’ भन्ने अभियान अन्तर्गत मुलुकका विभिन्न १५ वटा शाखा र उपशाखामा एक सय जना मानव सेवा अभियन्ता क्रियाशित रहेको उनले जानकारी दिए ।

‘पशुगुणबाट जेले मानिसलाई माथि उठाउँछ त्यसलाई नै मानवता भनिन्छ’ भन्ने आधारमा आमाबुवाको दिशालाई फोहोर नसम्झी सरसफाईमा अहोरात्र खटने ४० जना सेवकसेवीका सेवा प्रति समर्पित रहदै आएका छन् ।

संस्थाको सकृयतामा १२ वर्षसम्म गाईको गोठ बाँधिएका लम्जुङ चितीका मानसिं नेपाली, १३ वर्षसम्म हातमा साङगो लगाइएका सप्तरीका उमाकान्त चौधरी, भरतपुर अस्पतालको हातामा आश्रय लिएका छ जना, लुम्बिनी अस्पताल नजिकबाट खुट्टामा भएको घाउमा किरा परेका एक जना र रोल्पाकी पूर्व लडाकु सीता विक भन्ने निर्मला लगायतका दर्जनौंको संख्यामा उद्धार गरि सकिएकोछ ।

पोखराको हेमजामा मानवसेवा धाम बन्दै

पोखरा महानगरपालिका वडा नं. २५ हेमजास्थित बाबियातरामा मानवीय स्मारक (मानवसेवा धाम) निर्माण कार्य शुरु भएको छ ।

लक्ष्मीनारायण सनातन संस्कार प्रतिष्ठानले उपलव्ध गराएको ६३ रोपनी जग्गामा तीन अर्व तीन करोड रुपैयाको लागतमा सो स्मारक निर्माण गरिन लागिको हो ।

पाँच वर्ष भित्र निर्माण सम्पन्न गरिने लक्ष्य रहेको सो धामका लागि गण्डकी प्रदेश समाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७५।७६ मा उपलव्ध गराएको २४ लाख रुपैयाँबाट निर्माण कार्य सञ्चालन गरिएको संस्थाका केन्द्रीय अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७६।७७ मा समेत धाम निर्माणमा निरन्तरता दिनका लागि पाँच करोड रुपैयाँ विनियोजन गरेको बताउँदै उनले प्रदेश सरकारको सहयोगले मानवीय सेवामा समर्पित हुन थप उत्साह मिलेको बताए ।

राष्ट्रिय गौरवको आयोजना मध्य पहाडि लोकमार्ग खण्डमा पर्ने सो आश्रमको निर्माणका लागि तयार गुरुयोजना अनुसार पाँच सय जना क्षमताको सडक मानवता जागरण तालीम केन्द्र, वाल उद्यान निर्माण गरिने छ । त्यस्तै प्रसिद्ध धार्मिक क्षत्र मुक्तिनाथ जाने श्रद्धालु भक्तजनलाई सुविधा पु¥याउने उद्देश्यका साथ तीन सय क्षमताको ‘यात्री सेवा सत्तल’ लगायत विभिन्न आवश्यक भौतिक संरचना निर्माण गरिने लक्ष्य रहेको छ ।

मानव आश्रम धाम निर्माण गरि सञ्चालनमा आएसँगै यस क्षेत्रको थप पर्यटकीय गन्तव्यको रुपमा विकास भई धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास लिइएको छ ।

You might also like

Comments are closed.