काठमाडौं । नेपाली बजारमा बिगत ६ वर्षदेखि बिक्री वितरण हुँदै आइरहेको एमजी जेडएस इभी अब नआउने भएको छ । एमजीका लागि नेपालको एक मात्र आयातकर्ता पारामाउन्ट मोटर्स प्रालिले औपचारिक रुपमा एमजी जेडएस नेपालमा नआउने बताइसकेको छ ।
जेडएसकै परिस्कृत भर्सनका रुपमा एस५ आएपछि यस अगाडि नेपाली बजारमा बिक्री भएका २५ सय भन्दा बढी जेडएस इभीको भविष्य अन्यौल भएको छ । सुरुवाती समयमा लोकप्रिय बनेको यो मोडल पछिल्लो समय नेपाली बजारमा कमजोर बन्दै गएको थियो । ग्राहकहरु अन्य ब्राण्डप्रति आकर्षित हुन थालेपछि एमजीको जेडएस बिक्री गर्नका लागि पुरानो मूल्यमा ६ लाख रुपैयाँ छुट दिन कम्पनी बाध्य भएको थियो । कम्पनीले गत नाडा अटो सोमा ६ लाख रुपैयाँ थप छुट दिएर भएपनि आफ्नो स्टक सल्टाउन भने सफल भयो । तर, जेडएस खरिद गरेका ग्राहक भने नयाँ गाडी नआउँदा बिक्री पछिको सेवा अब के हुन्छ भन्ने चिन्तामा छन् ।
सामान्यतया कुनैपनि नयाँ गाडी ५÷६ वर्षसम्म समस्यारहित तरिकाले सञ्चालन हुने भएपनि त्यसपछि गाडीमा विभिन्न समस्याहरु आउने गर्छ । सो प्रकारको समस्या अब जेडएस इभीमा पनि निम्तिने निश्चित छ । गाडीको आयात नै बन्द भएपछि आयातकर्ता कम्पनीले त्यसको स्पेयर्स पार्टसलाई कत्तिको प्राथमिकतामा राखेर सेवा प्रदान गर्छ भन्ने प्रश्नचिह्न खडा भएको छ । तर, पारामाउन्ट मोटर्सको बिगतलाई हेर्दा स्पेयर्स पार्टसको उपलब्धतामा खासै जोड दिएको देखिदैन । नयाँ स्पेयर्स पार्टस पनि नआउने र पुरानो स्टक पर्याप्त नहुँदा हाल जेडएस इभी प्रयोग गर्दै आइरहेका ग्राहक समस्यामा पर्ने निश्चित छ ।
यद्यपि, पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सुनिलबहादुर क्षेत्रीले भने एमजीले बिक्री पछिको सेवालाई प्राथमिकतामा राखेको बताउँछन् । नेपाली सडकमा एमजी जेडएस २५ सय गुडिरहेको बताउँदै उनले ती गाडीहरुले आवश्यक सेवा पाउने दावी गरे ।
कम्पनीले कुनै समस्या नहुने बताए पनि नेपालको अटोमोबाइल बजारलाई हेर्दा आयात हुन छाडेका गाडीहरुको स्पेयर्स पार्टसको सेवा कमजोर देखिन्छ । प्रतिष्ठित कम्पनीहरुले समेत पुराना गाडीहरुको स्पेयर्स पार्टस नेपालमा उपलब्ध नगराएर भारत लगायत देशबाट मगाउने र महिनौं गाडी ग्यारेजमा थन्काउनुपर्ने अवस्था देखिदै आएको छ । यो अवस्थामा एमजीले सहजै स्पेयर्स पार्टस उपलब्ध गराउन सक्छ भन्नेमा ढुक्क हुने अवस्था छैन ।
Comments are closed.